कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

घरेलु श्रमिकलाई श्रम सम्झौता गरी पठाउनेछौं : श्रममन्त्री भण्डारी

भाद्र १९, २०८१
घरेलु श्रमिकलाई श्रम सम्झौता गरी पठाउनेछौं : श्रममन्त्री भण्डारी

काठमाडौँ — श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नियमन बाहिर रहेको घरेलु श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित गर्न निश्चित गन्तव्य देशसग श्रम सम्झौता गरी घरेलु श्रमिक पठाउने तयारी भइरहेको बताएका छन् ।

प्रतिनिधिसभामा मंगलबार प्रश्नोत्तर कार्यक्रममा श्रममन्त्री भण्डारीले श्रम सम्झौता गरी घरेलु श्रमिक पठाउने तयारी भइरहेको बताएका हुन् । अहिले संस्थागत रुपमा जोर्डन र साइप्रसमा संस्थागत रूपमा घरेलु श्रमिक गइरहेका छन् ।

‘विभिन्न देशहरुसंग महिला श्रमिकलाई घरेलु काममा लगाउने विषयमा थप सुरक्षित एवं मर्यादित बनाउन घरेलु कामदार सम्बन्धी प्रोटोकलमा हस्ताक्षरका लागि द्विपक्षीय वार्ताहरू भइरहेका छन्,’ उनले भने,‘प्रस्तावित प्रोटोकलहरूमा महिला श्रमिकलाई थप सुरक्षित बनाउन संसदीय समितिहरूले समय समयमा दिएका निर्देशनहरुलाई समेत समावेश गरी कार्य अघि बढाइएको छ ।’

उनले गन्तव्य मुलुकमा श्रम स्वीकृतिबाहेक जुनसुकै भिसाबाट पुगी गन्तव्य मुलुकमा काम गरिरहेको भए वैधानिकीकरण गर्ने काम भइरहेको बताएका छन् ।

श्रम मन्त्री भण्डारीका अनुसार ठगीको नियन्त्रण गर्न म्यानपावर कम्पनीहरूको अनुगमन भइरहेको छ । ‘वैदेशिक रोजगार विभागमा ४ हजार ८ सय ५७ वटा उजुरी परेकोमध्ये २ हजार ४ सय १४ वटा उजुरी फर्छ्यौट भइसकेको छ,’ उनले भने ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समस्या परेको सूचना प्राप्त हुनसाथ मन्त्रालयले गम्भीरतापूर्वक लिई शिघ्र उद्धार र राहत दिइरहेको उनले बताए । गत आर्थिक वर्षमा ७ लाख ७१ हजार जना श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका छन् ।

‘पर्याप्‍त आन्तरिक रोजगारीका अवसरहरू सिर्जना हुन नसकेका कारण वैदेशिक रोजगारी रहर भन्दा पनि वाध्यता वन्दै गएको देखिन्छ,’ उनले भने,‘देशभित्र उपयुक्त रोजगारीका अवसरहरू सिर्जना गरी युवाहरूलाई स्वदेशमा नै रहने वातावरण सिर्जना गर्न आन्तरिक रोजगारी दशक अभियान सञ्‍चालन गर्ने कार्यहरू गरिरहेको छ ।’

प्रकाशित : भाद्र १९, २०८१ ०९:११
x
×