कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि छानबिन गर्न संसदीय समितिको निर्देशन

भाद्र १९, २०८१
एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि छानबिन गर्न संसदीय समितिको निर्देशन

Highlights

  • १० दिनभित्र छानबिन गरी प्रतिवेदन समितिलाई पेश गर्न निर्देशन

काठमाडौँ — संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सो प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भिर त्रुटि गरेको निष्कर्ष निकाल्दै आम जनता र सम्बन्धित विद्यार्थीहरुलाई विश्वासमा लिएर त्यसलाई सच्याउन सरकारलाई निर्देश गरेको हो ।

परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भिर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । समितिले सो सम्बन्धमा तत्काल छानबिन समिति गठन गरी १० दिन भित्र सो प्रतिवेदन समितिमा पेश गर्न पनि सरकारलाई सचेत गराएको छ ।

'आम नागरिकहरुको स्वास्थ्यसँग जोडिएको चिकित्सा शिक्षा जस्तो गम्भिर विषयमा तथा विद्यार्थीको भविष्यसँग समेत जोडिएको चिकित्सा शिक्षा सम्बन्धि एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा यस पटक देखिएको कमजोरी के कारणले भएको हो ? सो सम्बन्धमा १० दिन भित्र छानबिन गरी तथ्य कुरा बाहिर ल्याउन र त्यसको आधारमा आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आम नागरिक र सम्बन्धित विद्यार्थीहरुको समेत विश्वास जित्नेगरी आवश्यक सुधार गरी अगाडि बढ्न तथा छानबिन सम्बन्धि प्रतिवेदन समिति समक्ष पेश गर्न यो समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ’ समितिको निर्णय छ ।

बैठकमा समितिका सदस्यहरुले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि नै डामाडोल हुने गरी सो परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए । यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले सो गम्भिर त्रुटी गरेको औंल्याउँदै त्यसलाई छानबिन गरेर अघि बढ्ने प्रतिबद्धता समिति समक्ष गरेकी थिइन् ।

प्रकाशित : भाद्र १९, २०८१ १६:३४
x
×