कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

बिचौलियाको प्रलोभनमा परेर हाम्रा युवा युद्धको भूमरीमा परे : रुसका लागि प्रस्तावित राजदूत चौहान

भाद्र १९, २०८१
बिचौलियाको प्रलोभनमा परेर हाम्रा युवा युद्धको भूमरीमा परे : रुसका लागि प्रस्तावित राजदूत चौहान

काठमाडौँ — रुसका लागि प्रस्तावित राजदूत जंगबहादुर चौहानले नेपाली युवाहरू बिचौलियाहरूको प्रलोभनमा परेर रुस-युक्रेन युद्धको भूमरीमा परेको बताएका छन् ।

संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफ्नो संक्षिप्त कार्ययोजना र अनुभव राख्ने क्रममा उनले रुसको तर्फबाट युक्रेनसँगको युद्धमा रहेका युवाहरू बिचौलियाहरूको प्रलोभनमा परेको बताएका हुन् ।

रुसी सेनामा नेपाली युवाहरूको सहभागिताको विषय प्रस्टसँग सार्वजनिक नभएको पनि चौहानले बताए । आफूले रुसी सेनामा सहभागी युवाहरूको विषय समाधान गर्न संयोजनकारी भूमिका निर्वाह गर्ने पनि बताएका छन् । 'एउटा जटिल समस्याका रूपमा देखिएको यो विषय सेनासँग सम्बन्धित भएकाले सबै कुरा प्रस्टसँग बाहिर आएको छैन । बिचौलियाहरूको प्रलोभनमा परेर हाम्रा युवाहरू युद्धको भूमरीमा परेका छन्,' चौहानले भने, 'तिनीहरूको उद्धारका लागि नेपालको परराष्ट्र मन्त्रालयले आवश्यक संवाद अघि बढाइरहेको सन्दर्भमा यिनीहरूको उद्धारका लागि हरसम्भव प्रयास हुनु जरुरी छ । रुस र रुसी भाषा ज्ञानका कारण संयोजनकारी भूमिकामा रहेर काम गर्न सहज हुने ठान्दछु ।'

रुसी सेनामा सहभागी भएका १ सय ७५ जनालाई नेपाल फर्काइएको पनि उनले बताए । मस्कोस्थित नेपाली दूतावासबाट मंगलबार आफूले प्राप्त गरेको तथ्यांक अनुसार ७ जना नेपालीहरू युक्रेनमा युद्धबन्दी रहेको र रुसी सेनामा सहभागी भएका ४३ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए ।

रुसमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउन जटिलता रहेको पनि चौहानले बताए । उनले डीएनए परीक्षणलगायतमा हुने समस्याले गर्दा जटिल अवस्था हुनसक्ने उनको भनाइ थियो । युद्धमा मृत्यु भएकाहरूको शव दक्षिण रुसमा रहेका होल्डिङ सेन्टरमा रहेको र पहिचान हुन नसक्ने अवस्था रहेको पनि उनले बताए ।

रुसी सेनामा कति नेपाली सहभागी छन् भन्ने यकlन हुन नसकेको पनि चौहानले बताए । क्षतिपूर्तिको समस्या रहेको र उनीहरूलाई नेपाल फर्काउन पनि समस्या रहेको चौहानको भनाइ छ ।

रुसी सेनामा नेपाली सहभागी हुनुमा नेपाल सरकार जिम्मेवार नभएको पनि चौहानले बताए । उनले त्यहाँ गएकाहरूलाई फर्काउने र मृत्यु भएकाहरूको शव ल्याउनेलगायतका व्यवस्थापन गर्ने जिम्मेवारी भने सरकारको रहेको बताए ।

रुसी सेनामा संलग्न नेपालीले रुसको नागरिकता पाएमा नेपालीको क्षेत्राधिकार नरहने पनि प्रस्तावित राजदूत चौहानले बताए । रुसी सेनामा रहेका नेपालीहरूसँग सम्बन्धित समस्या समाधान गर्नका लागि आफूले सहजीकरणको भूमिका निर्वाह गर्ने पनि उनको भनाइ थियो । रुस युद्धमा रहेकाले त्यहाँ सहज अवस्था भने नरहेको उनको भनाइ थियो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूत चौहानले दुई देशबीचको सम्बन्ध jlस्तार गर्ने र उच्चस्तरीय भ्रमण गर्ने, प्राज्ञिक सम्बन्ध प्रवर्धन गर्ने, रुसमा नेपाल अध्ययनका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : भाद्र १९, २०८१ १२:११
x
×