कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

२०६४ कै अवस्थामा पार्टीलाई फर्काउने माओवादीको दाबी

भाद्र १८, २०८१
२०६४ कै अवस्थामा पार्टीलाई फर्काउने माओवादीको दाबी

Highlights

  • प्रत्येक पालिकामा सक्रिय, विदेश गएका, अन्य पार्टीमा लागेका कार्यकर्ताहरूको सूची बनाउने

बुटवल — नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सोमबार सकिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेशको संयोजन र केन्द्रको आयोजनामा नेपालगन्जमा आइतबार र सोमबार लुम्बिनीका कार्यरत केन्द्रीय सदस्य र पदाधिकारीहरुको परामर्श बैठक बसेको हो । 

माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार बैठकमा ७० जनाभन्दा बढीले सुझावसहितको आफ्नो भनाइ राखेका थिए । अध्यक्ष पुष्पकमल दाहालले सहभागी सबैलाई आफ्नो भनाइ राख्न निर्देशन दिएका थिए । त्यहीअनुसार सहभागी सबै जनाले दुई दिनसम्म भनाइ राखेको उनले बताए ।

बैठकमा सबैभन्दा बढी समय अध्यक्ष दाहाल र माओवादीको केन्द्रीय समिति बैठकमा फरक मत राखेका जनार्दन शर्माले बोलेका थिए । शर्माले बैठकमा आफूले पार्टी फुटाउन नखोजेको र नेतृत्वको विकल्प पनि तत्काल नखोजेको स्पष्टीकरण बैठकलाई दिएका थिए । त्यसमा दाहालले पनि शर्माको भनाइ तल्लो तहसम्म पुर्‍याउने गरी फरक मत नभई पूरक मतका रूपमा दस्तावेजमा समेटिएको बताएका थिए । बैठकमा बोल्ने अधिकांश वक्ताले नेतृत्व नयाँ ढंगबाट अघि बढ्नु पर्ने सुझाव पनि दिएका छन् ।

बैठक मुख्यतः केन्द्रीय समितिको बैठकमा देखिएको अध्यक्ष र उपमहासचिव शर्माबीचको अन्तरसंघर्षको विषयमा बढी छलफल चलेको र संगठन चुस्त बनाउन २०६४ सालदेखिकै कार्यकर्ताको अभिलेखीकरण गर्ने निष्कर्षमा पुगेको लुम्बिनी प्रदेश अध्यक्ष बरालले बताए । ‘बैठकमा प्रभाकरजी आफैंले अहिले नै नेतृत्वको परिवर्तन गर्ने भन्ने विषय आफूले कतै नगरेको र पार्टी फुटाउने भन्ने आरोप पनि सत्य नभएको स्पष्ट पार्नु भएको छ,’ उनले भने, ‘त्यसमा अध्यक्ष कमरेड प्रचण्डले पनि तत्कालैभन्दा पनि विधिको विकास र बुझाइएको एकरूपतापछि अहिलेकै पदाधिकारीबाट नेतृत्व चयन हुन सक्ने गरी संगठन तयार भएको निर्देशन गर्नुभयो ।’

बैठकले आधार क्षेत्र रहेको लुम्बिनी प्रदेशमा पनि संगठन कमजोर भएको निष्कर्ष निकाल्दै संगठित सदस्या विवरण संकलन र अभिलेखीकरण गर्ने भएको छ । त्यसले पार्टी र संगठनलाई २०६४ कै हैसियतमा फर्काउन सहयोग पुग्ने दाबी नेताहरूले गरेका छन् । सोमबारको बैठकमा २५ भन्दा बढीले केन्द्रीय नेता तथा प्रदेश पदाधिकारीहरूले धारणा राखेका थिए । उनीहरूले पार्टी विधि र पद्दतिमा सञ्चालन नहुँदा संगठन कमजोर भएको निष्कर्षसहित पार्टीको संगठनलाई चुस्त र विधिसम्मत बनाउन नेतृत्वलाई सुझाव दिएका थिए । पार्टीका हरेक कमिटी निर्वाचन पद्दतिबाट आउनुपर्ने धारणा राख्दै वक्ताहरूले जनताको आधारभूत वर्गसम्म पुग्ने गरी कार्यक्रम बनाउन नेताहरुलाई सुझाव दिएका थिए ।

बैठकको समापनमा अध्यक्ष दाहालले पार्टीको पहुँचलाई गाउँ र टोलसम्म पुर्‍याउन कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले पार्टीका प्रत्येक सदस्यहरूको अभिलेख राख्न पालिका तहसम्मका नेताहरूलाई निर्देशन पुग्ने गरी लाग्न निर्देशन गरे । ‘पार्टीमा कति सक्रिय छन्, कति व्यवसायी छन्, कति वैदेशिक रोजगारीमा छन् र कतिले के कस्तो व्यवसाय गरेका छन् सबैको अभिलेख स्पष्ट हुनुपर्‍यो,’ दाहालको भनाइ उद्धृत गर्दै अध्यक्ष बरालले भने, ‘हरेक पालिकामा तथ्यगत अपडेटसहितको चुस्त संगठन निर्माणमा लाग्नुस् ।’

अध्यक्ष दाहालले संघ र प्रदेश सरकारको जिम्मेवारपूर्ण प्रतिपक्षमा रहेर आलोचना गर्न र माओवादीले नेतृत्व गरेको स्थानीय तहमा सेवाको गतिलाई बढाएर जनताको विश्वास जित्ने गरी काम गर्न पनि निर्देशन दिएका छन् ।

प्रकाशित : भाद्र १८, २०८१ ११:०३
x
×