इजरायलका लागि प्रस्तावित राजदूतले भने- प्यालेस्टिनीलाई पनि बाँच्न देउ भन्छु

भाद्र १७, २०८१

कान्तिपुर संवाददाता

The proposed ambassador for Israel said - Let the Palestinians live too

काठमाडौँ — सरकारले इजरायलको राजदूतमा प्रस्तावित गरेका प्राध्यापक धनप्रसाद पण्डितले इजरायल र हमास युद्ध अन्त्य गर्न आफूले भूमिका खेल्ने बताएका छन् । उनले इजरायलाई युद्ध अन्त्य गर्न भनेर सुझाव दिने बताएका छन् । 

संघीय संसद्को संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्राध्यापक पण्डितले सबै मुलुक सँगै बस्नुपर्ने भावना इजरायल सरकारका प्रतिनिधिसमक्ष राख्ने बताए ।

'त्यो लडाइँ भएको मुलुकमा हामी सँगै बस्नुपर्छ, तिमी स्वतन्त्र राष्ट्र छौं भने प्यालेस्टिनीलाई पनि बाँच्न देउ र लडाइँ कम गर, बन्द गर भन्ने सुझाव दिन तपाईंको प्रतिनिधि तयार हुनेछ,' संसदीय सुनुवाइ समितिमा पण्डितले भने, 'यो संसार ईश्वरले व्याप्त छ, यसलाई मेरो मात्रै हो भन्ने नठानौं, यो सबैको हो त्यसैले त्यागका साथ भोग गर्‍यौं भने मलाई लाग्दैन यो समस्या धेरै रहन्छ ।'

इजरायलको राजदूतमा नियुक्त भएमा आफूले नेपाल सरकारको नीति, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय सन्धि सम्झौता, राष्ट्रको हितका पक्षमा काम गर्ने पण्डितको भनाइ थियो । उनले राष्ट्रको समुन्नतिको लागि काम गर्ने बताउँदै चाणक्य नीति र कृष्ण नीतिलाई अवलम्बन गरेर राजदूतको काम गर्ने बताए । 

पण्डितले नेपाल र इजरायली सेनाबीच सैनिक तालिम आदानप्रदान र गुप्तचरी सीप आदानप्रदानका लागि पनि भूमिका खेल्ने बताए ।

पद्मकन्या क्याम्पसको प्रमुख हुँदा सूचना नदिएकोमा पण्डितलाई राष्ट्रिय सूचना आयोगले १५ हजार जरिवाना गरेको र उच्च अदालतले उक्त जरिवाना सदर हुने फैसला गरेको थियो । तर, उक्त मुद्दा आफूविरुद्ध नभई क्याम्पस प्रमुखविरुद्ध भएको जवाफ पण्डितले दिए ।

कान्तिपुर

Link copied successfully