मलेसियाबाट प्रधानमन्त्रीस्तरको भ्रमण भए नेपाली श्रमिकलाई फाइदा हुन्छ : प्रस्तावित राजदूत तिमिल्सिना

भाद्र १७, २०८१

कान्तिपुर संवाददाता

Nepali workers will benefit if Prime Minister visits Malaysia: proposed Ambassador Timilsina

काठमाडौँ — मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताएका छन् । संघीय संसद्को संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा सुनुवाइका क्रममा प्रस्तावित राजदूत तिमिल्सिनाले मलेसियाबाट गृहमन्त्री नेपाल आउन लागेको भन्ने जानकारी आइरहेको बताउँदै प्रधानमन्त्रीको तहमै भ्रमणको पहल गर्ने बताए । 

मलेसियाबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्न सकिए त्यहाँ कार्यरत नेपाली मजदुरलाई फाइदा हुने तिमिल्सिनाको भनाइ थियो । मलेसियाबाट उच्च स्तरको भ्रमणका लागि पहल गर्ने विषयलाई आफूले प्राथमिकतामा राखेको उनले बताए । ‘मलेसियाबाट उच्च तहको भ्रमण हुन सके, गृहमन्त्री तहको भ्रमणमा उनीहरूको चासो रहेको सुनेको छु,' उनले भने, 'तर, प्रधानमन्त्रीको तहमा भ्रमण गर्न सक्यौं भने, जीटुजीमा मलेसिया श्रम सम्झौताको नमूनाको रुपमा मानिँदो रहेछ ।'

मलेसियासँग कस्तो नीति बनाउने भन्ने कुरालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने पनि तिमिल्सिनाको भनाइ थियो । 

नेपाली राजदूतका लागि मलेसिया अहिले अप्ठ्यारो समय रहेको पनि तिमिल्सिनाले बताए । 'म एकदमै अप्ठ्यारो ठाउँमा जाँदैछु । मलाई थाहा छैन- म कति टिक्न सक्छु । यहाँहरूले बिचैमा तँ फेल भइस्, आइजा भन्नुभयो भने मलाई केही छैन । म राष्ट्रका लागि, देशका लागि इमान्दारितापूर्वक काम गर्ने हो त्यहाँ । यस्ता कुरामा श्रम नीति अन्तर्गत जान सकियो भने सहज हुन्छ । त्यसैले सरकारले सहयोग गर्नुपर्छ,' उनले भने ।

मलेसियामा नेपाली श्रमिक लैजान प्रक्रियामा बिचौलियाहरूले भूमिका खेलेकाले 'फ्री भिसा फ्री टिकट'को सहुलियत श्रमिकले लिन नसकेको उनले बताए ।   

कान्तिपुर

Link copied successfully