महामन्त्री पदमै पुनर्बहालीको माग राख्दै ढकालद्वारा रास्वपामा पुनरावेदन

भाद्र १६, २०८१

कान्तिपुर संवाददाता

Appeal by Dhakal to RSVP demanding reinstatement in the post of Chief Minister

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट निष्कासित डा. मुलुक ढकालले विधान विपरीत आफूलाई कार्बाही गरिएको भन्दै पुरानै पदीय हैसियतमा पुनर्बहालीको माग गर्दै पार्टीको पुनरावेदन समितिमा निवेदन दिएका छन् ।

उनले आइतबार समितिलाई पत्र पठाइ महामन्त्रीबाट हटाउनुको कारण माग गरेका छन् । महामन्त्रीबाट कार्बाही गरेको ३५ दिन पुगेकाले पार्टीको विधानको धारा ५७ बमोजिम पुनरावेदन गरेका हुन् ।

कारबाही गर्दा सफाई पेश गर्ने मनासिव मौका दिनुपर्ने विधानको व्यवस्था पालना नभएको उनले उल्लेख गरेका छन् 'पार्टीले तयार गरेको विधानको धारा ५६ को उपधारा ४ ले समेत सफाईको मौका दिनुपर्ने व्यवस्था गरेको छ । यद्यपी, पार्टीको केन्द्रीय समितिबाट मेरो महामन्त्री, प्रवक्ता एवं केन्द्रीय समितिको सदस्य पदबाट पदमुक्त गराउँदा मलाई स्पष्टिकरण समेत सोधिएको अवस्था छैन'  उनले भनेका छन् ।

निवेदकलाई प्रतिकूल असर पर्ने गरी निर्णय गर्दा निवेदकलाई प्रतिवाद गर्ने सुनुवाईको मौका दिनुपर्नेमा प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकूल निवेदकलाई बुझ्दै नबुझी गरेको निर्णय कायम रहन सक्ने अवस्था नरहने भन्ने  अदालतबाटै सिद्धान्त प्रतिपादन भएको  स्मरण गराएका छन् ।'यसर्थ, मलाई सफाई पेश गर्ने अवसर नै प्रदान नगरी पदमुक्त गर्ने कथित केन्द्रीय समितिको निर्णय सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको विपरित रही बदरभागी छ' उनले भनेका छन् ।

पार्टीको सभापतिबाट भए गरेको गैरकानुनी कार्य र  उनीविरुद्ध राज्यको विभिन्न निकायबाट भैरहेको अनुसन्धान, अदालतमा विचाराधीन दोहोरो पासपोर्ट जस्ता गम्भीर प्रकृतिका तथा आम नागरिक समेतबाट उठेको सहकारी रकम ठगी र दुरुपयोग जस्ता कार्यको विरोध गरेको कारण  व्यक्तिगत रुपमा लक्षित गरी पार्टीबाट विभिन्न कारबाहीहरु भइरहेको उनले उल्लेख गरेका छन् । 'मलाई पदमुक्त गर्नु समेत यसै विरोधको निरंकुश उपज हो' ढकालले भनेका छन्,'कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिम साविककै पदिय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाउँ ।'

कान्तिपुर

Link copied successfully