कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रसंघीय महासभामा जान गृहकार्य

भाद्र १३, २०८१
प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रसंघीय महासभामा जान गृहकार्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभामा जाने गृहकार्य भइरहेको छ । 

परराष्ट्र स्रोतकाअनुसार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समन्वय गरेर गृहकार्य तीव्र पारेको हो । ‘प्रधानमन्त्रीज्यू नै जाने गरी गृहकार्य गर्नको लागि निर्देशन भएको छ र त्यहीअनुसार मन्त्रालयले गृहकार्य गरिरहेको छ । साथै, नेपालको न्यूयोर्कस्थित स्थायी नियोगले पनि त्यसको लागि गृहकार्य गरिरहेको छ,’ परराष्ट्रका एक अधिकारीले भने,‘प्रधानमन्त्रीको नेतृत्वमा कति जान टोली जाने भन्ने बारेमा छलफल भइरहेको छ ।’

संयुक्त राष्ट्र संघको ७९ औं महासभा भदौ २५ (सेप्टेम्बर १०) मा राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सुरु हुनेछ । महासभाको उच्चस्तरीय छलफल भने असोज ८ देखि १३ (सेप्टेम्बर २४ देखि २९) सम्म चल्नेछ । उक्त उच्चस्तरीय छलफलमा सहभागी हुन प्रधानमन्त्री ओलीले आफू नै जाने गरी काम गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको यूएन भ्रमणको गृहकार्य गर्नको लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा केही दिनअघि नै न्युयोर्क पुग्ने गरी गृहकार्य भइरहेको पनि परराष्ट्रका ती अधिकारीले बताए ।

ओलीले पछिल्लो पटक सन् २०२० मा कोभिड–१९ महामारीका कारण भर्चुअल रुपमा भएको यूएनको ७५ औं महासभालाई सम्बोधन गरेका थिए । त्यसपछि सन् २०२१ को ७६ औं महासभामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाएका थिए । त्यसपछि ७७ औं महासभामा तत्कालीन प्रधानमन्त्री देउवाले परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाएका थिए ।

७८ औं महासभामा भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर गएका थिए । साथै, प्रधानमन्त्री ओली यस पटक नियमित समयभन्दा दुई दिनअघि नै न्युयोर्क पुग्ने छन् । किनकि उनले यस पटक यूएनले आयोजना गर्न लागेको ‘समिट अफ द फ्युचर’ मा पनि सहभागी हुनु पर्नेछ । समिट अफ द फ्युचर सम्मेलन असोज ६ र ७ मा हुँदैछ ।

जर्मनी र नामिबिया उक्त सम्मेलनको सहआयोजक हुन् । अहिलेको संकटग्रस्त विश्व परिस्थितिमा आगामी बाटो देखाउन महासचिव एन्टोनियो गुटेरेसको नेतृत्वमा सम्मेलन हुन लागेको हो ।

कार्यक्रममा सहभागी हुनको लागि यूएनका महासचिव गुटेरेसले नेपालका प्रधानमन्त्रीलाई निम्तो पठाएका थिए । संयुक्त राष्ट्रसंघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणा (यूपीआर), दिगो विकासको लक्ष्यहरु (एसडीजी) २०३० एजेन्डा, जलवायु र सम्बन्धमा पेरिस सम्झौता र एसडीजी कार्यान्वयनको लागि अदिस अबाबा कार्य एजेन्डाजस्ता स्थापित ढाँचाहरूमा तयारी गर्दै समिट अफ द फ्युचरले हाम्रा साझा आकांक्षाहरू हासिल गर्न व्यावहारिक रणनीतिहरू खोज्ने यूएनको योजनाअनुसार कार्यक्रम हुन लागेको हो ।

प्रधानमन्त्री ओलीले समिट अफ द फ्युचर कार्यक्रममा पनि सम्बोधन गर्ने छन् ।

प्रकाशित : भाद्र १३, २०८१ १७:३५
x
×