कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

उपभोग्य वस्तुहरूको कृत्रिम अभाव हुन नदिन गृहमन्त्रीको निर्देशन

भाद्र १३, २०८१
उपभोग्य वस्तुहरूको कृत्रिम अभाव हुन नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरुको बारेमा जानकारी लिँदै नागरिकलाई सहज पहुँच बिस्तार गर्नेगरी परिणामुखी भइ आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग आग्रह गरेका हुन् ।

उनले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने उल्लेख गरे ।

‘चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्छ । त्यसका लागि हाम्रो सहयोग कहाँनेर हुनसक्छ ? भन्नेकुरा हो । परिणाममा देखिनुपर्‍यो । भाषणमा देखिएर हुँदैन । परिणाममा देखनिुपर्छ । कृत्रिम अभाव कुनै हालतले पनि हुनु भएन । कुनै ठाउँमा कृत्रिम अभाव भएको छ, बजारमा चिनी छैन, कहाँनेर गोदाममा हजार बोरा चिनी राखिएको भए कुनै बेला सह्य हुँदैन । त्यसका लागि हेर्ने निकाय को हो ? हेनुपर्‍यो' गृहमन्त्री लेखकले भने ।

प्रहरी प्रशासनको के सहयोग चाहिन्छ त्यो गृह मन्त्रालय पुरा गर्ने उनले जानकारी दिए । 'दशैँ तिहार आयो की मूल्यवृद्धि हुनु भएन । मूल्यवृद्धिलाई नजिकबाट सुक्ष्म ढंगले हेरेर नियन्त्रण गर्नुपर्छ । गुणस्तरहीन सामान बजारमा देखिनु भएन । अखाद्यवस्तुहरु चाडबाडको बेलामा बिक्री हुने भन्दै त्यसमा सचेत रहन र निगरानी बढाउनुपर्छ । सवारीसाधनको भाडको विषय पनि छ । दशैँतिहार आयो की भाडा वृद्धि हुन्छ । यसमा पनि ख्याल गर्नुपर्छ ’ उनले भने ।

प्रकाशित : भाद्र १३, २०८१ १७:३२
x
×