कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

प्रधानसेनापतिमा अशोक सिग्देल नियुक्त 

भाद्र १२, २०८१
प्रधानसेनापतिमा अशोक सिग्देल नियुक्त 

काठमाडौँ — नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति अशोक सिग्देल प्रधानसेनापतिमा नियुक्त भएका छन् । उनलाई भदौ २४ देखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा भदौ २४ देखि लागू हुने गरी निर्णय गरेका हुन् ।

राष्ट्रपति कार्यालयको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले बुधबार सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

साउन २४ गतेदेखि वर्तमान प्रधानसेनापति प्रभुराम शर्मा नियमित अवकाश लिनका लागि एक महिने बिदामा बसिसकेका छन् । अब भदौ २४ मा नेपाली सेनाको परम्पराअनुसार शर्माले सिग्देललाई जिम्मेवारी हस्तान्तरण गर्ने छन् । सिग्देल अब २०८४ भदौ २४ सम्म प्रधानसेनापति रहने छन् ।

करिब ३८ वर्षदेखि नेपाली सेनामा सेवारत सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम गरेका छन् । उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर, नेपालको आर्मी वार कलेजबाट हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स तथा भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरो छन् ।

सेनाका अनुसार सिग्देलले पदिक पृतना,बाहिनी र गणको कमाण्ड गर्नुका साथै प्रतिविद्रोह तथा जङ्गल वारफेयर स्कुलको कमान्डेन्टको रूपमा जिम्मेवारी समेत निर्वाह गरेका छन् । उनले युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको विभागीय प्रमुखका साथै प्रधान सेनापतिको सैनिक सहायककोरुपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

सिग्देलले अन्तर्राष्ट्रिय सेमिनार, तालिम तथा बैठकहरुमा सहभागिताका बाहेक संयुक्त राष्ट्र संघीय शान्ति सैनिककारुपमा पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेको अनुभव छ । साथै, उनले सुप्रवल जनसेवाश्री तेस्रो लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक र मानपदवीहरुबाट विभूषित भएका छन् ।

उपरथीबाट रथीमा बढुवा हुँदा सिग्देलमाथि नागरिकता र शैक्षिक पत्र गडबल गरेको अरोप लागेको थियो । तर तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले सिग्देलको नागरिकता र शैक्षिक प्रमाण पत्रमा कुनै पनि त्रुटि नगरेको भन्दै रथीमा बढुवा गर्‍यो । त्यसपछि उनको प्रधानसेनापति बन्न बाटो खुलेको हो ।

प्रकाशित : भाद्र १२, २०८१ १३:०७
x
×