कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

नेपालमै इन्टर्नसिपको व्यवस्था मिलाउन बंगलादेशबाट फर्किएका विद्यार्थीको माग

भाद्र ११, २०८१
नेपालमै इन्टर्नसिपको व्यवस्था मिलाउन बंगलादेशबाट फर्किएका विद्यार्थीको माग

काठमाडौँ — बंगलादेशमा भएको आन्दोलनका कारण नेपाल फर्केका मेडिकल विधाका विद्यार्थीलाई स्वदेशमै इन्टर्नसिपको व्यवस्था गराउन माग गरिएको छ । विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल, शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्यमन्त्री प्रदीप पौडे लगायतलाई ज्ञापनपत्र बुझाउँदै नेपालमै बाँकी रहेको इन्टर्नसिप पूरा गर्न पाउनुपर्ने माग गरेका छन् ।

इन्टर्नसिपका क्रममा रहेका करिब साढे दुई सय विद्यार्थी नेपाल फर्केको डा. नवीन यादवले बताए । ‘बंगलादेश फर्किन खर्च पनि बढी लाग्छ । फेरि आन्दोलन हुनसक्ने अवस्था पनि छ,’ उनले भने, ‘नेपालकै मेडिकल कलेजमा इन्टर्नसिप गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग भनेका छौं ।’ उनका अनुसार चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलका पदाधिकारीलाई भेटेर पनि इन्टर्नसिप नेपालमै गर्न पाउने वातारण बनाइदिन आग्रह गरिएको छ ।

विद्यार्थीले आफ्नो इच्छाअनुसार नेपाल वा बंगलादेशमा नै इन्टर्नसिप गर्न पाउनुपर्ने व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्न सकिने यादवले बताए ।

कोभिडका बेला चीनबाट नेपाल फर्केका विद्यार्थीलाई पनि नेपालमै इन्टर्नसिप गर्न पाउने व्यवस्था गरिएको थियो । बंगलादेशबाट फर्केका विद्यार्थीलाई निःशुल्क रूपमा इन्टर्नसिप गराउन सक्ने निजी मेडिकल र डेन्टल कलेज एसोसिएसनले जनाएको छ ।

अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले विज्ञप्ति जारी गर्दै बंगलादेशबाट फर्केका छात्रछात्रालाई स्वदेशमै पठनपाठन तथा निःशुल्क इन्टर्नसिप गराउन प्रतिबद्ध रहेको जनाएका छन् । कतिपय विद्यार्थी आन्दोलन रोकिएर अन्तरिम सरकार गठन भएपछि बंगलादेश फर्किइसकेका छन् । केहीले भने नेपालमा नै पढाइ पूरा गर्नुपर्ने माग राखेका हुन् ।

विद्यार्थीको मागपछि सरकारले चिकित्सा शिक्षा आयोगका निर्देशक सुजनबाबु मरहट्टाको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको छ । कार्यदलको सुझावको आधारमा इन्टर्नसिपसम्बन्धी थप निर्णय गर्न सकिने शिक्षा मन्त्रालयले जनाएको छ ।

बंगलादेशमा एमबीबीएस र बीडीएसका अध्ययन गरिरहँदा असहज परिस्थितिका कारण स्वदेश फर्केका विद्यार्थीको पढाइ पूरा गर्ने सम्बन्धमा अध्ययन गर्न कार्यदद गठन भएको हो । कार्यदलमा परराष्ट्र, स्वास्थ्य र शिक्षा मन्त्रालयका सहसचिव प्रतिनिधि रहेका छन् । मेडिकल काउन्सिल, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान, काठमाडौं विश्वविद्यालयका प्रतिनिधि पनि सदस्य छन् । कार्यदलले सुझाव प्रतिवेदन पेस गर्न बाँकी छ ।

प्रकाशित : भाद्र ११, २०८१ ०९:४०
x
×