कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

नेपाल र ओमानबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलासम्बन्धी छिट्टै सम्झौता हुने

भाद्र ११, २०८१
नेपाल र ओमानबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलासम्बन्धी छिट्टै सम्झौता हुने

काठमाडौँ — नेपाल र ओमानबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलासम्बन्धी अध्ययनको लागि छिट्टै सम्झौता हुने भएको छ । नेपाल र ओमानका परराष्ट्रमन्त्रीको द्विपक्षीय वार्तामा चार विभिन्न क्षेत्रमा दुई मुलुक बीचमा सम्झौता गर्ने कुराकानी भएको छ ।

नेपालको औपचारिक भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सइद बद्र बिन हमाद बिन हमुद अलबुसइदी र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच मंगलबार भएको द्विपक्षीय भेटवार्ता ती चार विषयमा आगामी दिनमा सम्झौता हुने सहमति भएको हो ।

वार्तापछि मन्त्री राणाले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भनिन्,‘दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको छ ।’

यसैपटक परराष्ट्र मन्त्रालय अन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र ओमानको विदेश मन्त्रालयको कूटनीति प्रतिष्ठानबीच पछि धकेलिएको हो ।

मन्त्री राणाले नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको बताइन् । उनले नेपाल र ओमानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको उल्लेख गरिन् । परराष्ट्र मन्त्रालयले वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको जनाएको छ ।

द्विपक्षीय वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरु, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो ।

वार्तामा नेपालको तर्फबाट मन्त्री राणा, परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरु थिए भने ओमानका विदेशमन्त्रीको नेतृत्वमा ओमानी टोली थियो ।

उक्त अवसरमा मन्त्री राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरु भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरिन् ।

पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भएपनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरुलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि राणाले आग्रह गरेकी हुन् । त्यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने उल्लेख गरेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए ।

त्यसैगरी नेपालले नेपाली श्रमिकहरुको हक हित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो । नेपाल पक्षले ओमानको श्रम कानुन र अरु वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

‘ओमान पक्षले पनि नेपाली श्रमिकहरु काममा लगनशील र इमान्दार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिक लैजाने विषय बताएको थियो । यस विषयमा दुई देशबीचमा श्रम सम्झौता गरिने सहमति सो वार्तामा भएको थियो,’ सचिवालयको प्रेस नोटमा छ ।

राणाले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका आठ हजार भन्दा अग्ला हिमालहरु एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुका कारण पनि नेपालको पर्यटकीय सम्भावना धेरै रहेकाले ओमानी पर्यटकको नेपाल आगमन लगायतका अन्य सम्भावनाहरुमा संयुक्त रुपमा केही गर्न सकिने प्रस्ताव गर्दै नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह गरिन् ।

मन्त्री राणाले नेपालमा जलविद्युत लगायतका कैयौं क्षेत्रमा लगानीका धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि पनि विदेशमन्त्री मार्फत् ओमान सरकार त्यहाँका लगानीकर्ताहरुलाई आग्रह गरिन् ।

प्रकाशित : भाद्र ११, २०८१ १५:३०
x
×