काठमाडौंमा ‘रेन्बो ट्राउट फेस्टिभल’

भाद्र १०, २०८१

कान्तिपुर संवाददाता

'Rainbow Trout Festival' in Kathmandu

काठमाडौँ — काठमाडौंको लाजिम्पाटमा रहेको अन्तर्राष्ट्रिय चेन होटल डुसिट प्रिन्सेस्ले नेपाली माछाको स्वादलाई चिनाउन ‘रेन्बो ट्राउट फेस्टिभल’ आयोजना गरेको छ । आइतबारदेखि सुरु भएको फेस्टिबल भदौ १५ सम्म सञ्चालन हुने होटलले जनाएको छ । 

नेपालमा पाइने रेन्बो ट्राउट माछालाई भिन्न स्वादमा पस्कन फेस्टिभलको आयोजना गरिएको होटलकी बजार व्यवस्थापक प्रार्थना सेनले बताइन् । ‘स्वास्थ्यको हिसाबले पनि नेपालमा हुने रेन्बो ट्राउट माछाको फाइदा धेरै छ,’ उनले भनिन्, ‘त्यसैले नेपालकै चिसो हावापानीमा राम्रोसँग हुर्कन सक्ने भएकाले रेन्बो ट्राउटलाई विश्वसामु चिनाउन फेस्टिभल आयोजना गरेका हौं ।’

फेस्टिभलमा रेन्बो ट्राउट माछाका विभिन्न १२ परिकारका स्वाद लिन सकिने होटलका सेफ तथा कलिनरी डाइरेक्टर उत्पलकुमार मोन्डलले जानकारी दिए । ‘नेपालमा हुने ट्राउट माछा स्वादको हिसाबले राम्रो मानिन्छ । यो स्वादिलो हुन्छ,’ उनले भने, ‘त्यसैले यो फेस्टिभलमा एउटै माछाको १२ प्रकारका विभिन्न स्वाद चाख्न सकिन्छ ।’ 

एक साता चल्ने फेस्टिभल दिउँसोको १२ देखि राति १० बजेसम्म सञ्चालन हुने होटलले जानकारी दिएको छ । फेस्टिभलमा थाई, इटालियन, इन्डियन र नेपाली गरी विभिन्न परिकारमा ट्राउट माछाको स्वाद लिन सकिने होटलले जनाएको छ । परिकारको मूल्य ९ सय ९० देखि सुरु भएर २ हजार ७ सय ९० रुपैयाँसम्म पर्ने बताइएको छ ।

कान्तिपुर

Link copied successfully