आँबुखैरेनी बस दुर्घटना : भारतीय सेनाको विमानबाट लगियो शव

दुर्घटनामा मृत्यु भएका २५ जनाको शव वायुसेनाको विमान र २ जनाको शव सडकमार्गबाट लगियो

भाद्र ९, २०८१

कान्तिपुर संवाददाता

Ambukhaireni bus accident: Body taken by Indian army plane

चितवन — तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका भारतीय पर्यटकको शव चार्टर विमानबाट लगिएको छ । भारतको पश्चिम बंगाल पानागढबाट शनिबार भरतपुर विमानस्थलमा आएको भारतीय वायु सेनाको विमानले २५ शव लगेको हो ।

बाँकी दुई शव भने सडकमार्गबाट गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । मृत्यु हुनेमध्ये २५ जना महाराष्ट्रको जलगाउँ जिल्लाका हुन् भने बाँकी दुई मृतक (बसका चालक, सहचालक) गोरखपुरका हुन् ।

भरतपुरमा भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे पनि आएका थिए । उनीहरू पनि सोही विमानमार्फत फर्केका छन् । खड्सेलाई सुरक्षा अधिकारीले दुर्घटनाबारे जानकारी गराएका थिए । गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा भएको ब्रिफिङमा मन्त्री लेखकले दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी परिचालन भएको तथा घाइतेलाई यथाशक्य अस्पताल पुर्‍याइएको जानकारी गराए । 

Ambukhaireni bus accident: Body taken by Indian army planeगृहमन्त्री लेखक र राज्यमन्त्री खड्सेले त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारी लिएका थिए । अस्पतालको सघन उपचार कक्षमा तीन र अन्यको सामान्य वार्डमा उपचार भइरहेको छ । राज्यमन्त्री खड्सेले नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्मका काममा भएको कुशल व्यवस्थापनप्रति आभार व्यक्त गरिन् । 

Ambukhaireni bus accident: Body taken by Indian army planeपोखराबाट काठमाडौंतर्फ जाने क्रममा शुक्रबार बिहान करिब साढे ११ बजे आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा ४३ जना भारतीय पर्यटक सवार केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस सडकबाट करिब १५० मिटर तल मर्स्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ घाइते भएका थिए । २६ जनाको घटनास्थलमै र एकको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरूको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

६ दिन नेपाल घुम्ने योजना साथ मुर्म्बइबाट गोरखपुर हुँदै ३ वटा बसमा आएका भारतीय पर्यटक भदौ ५ मा पोखरा आइपुगेका थिए । पशुपति दर्शनका लागि शुक्रबार काठमाडौंतर्फ जाँदै गरेका उनीहरूले गौशालामा बासका लागि होटलसमेत ‘बुक’ गरेका थिए ।

कान्तिपुर

Link copied successfully