न्युयोर्कमा सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक गर्न नेपालको प्रस्ताव

राष्ट्रसंघको ७९ औं महासभाको दौरान असोज १० मा बैठक गर्न सदस्य देशलाई नेपालले पठायो प्रस्ताव

भाद्र ८, २०८१

जगदीश्वर पाण्डे

Nepal's proposal to hold SAARC foreign minister level sideline meeting in New York

काठमाडौँ — दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) को अध्यक्ष मुलुक नेपालले न्युयोर्कमा अर्को महिना हुने ७९ औं संयुक्त राष्ट्रसंघ (यूएन) महासभाको दौरान सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक गर्न प्रस्ताव गरेको छ । महासभा सेप्टेम्बर १० मा सुरु हुँदै छ ।

महासभाको उच्चस्तरीय छलफल भने सेप्टेम्बर २४ देखि २९ सम्म चल्नेछ । उक्त अवसरमा अफगानिस्तानबाहेक सार्कका राष्ट्र प्रमुख वा सरकार प्रमुखका साथै सबै देशका परराष्ट्रमन्त्री सहभागी हुँदै छन् 

सार्कमा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, श्रीलंका र बंगलादेश सदस्य छन् । अफगानिस्तान सदस्य भए पनि त्यहाँ सन् २०२१ मा आएको तालिवान नेतृत्वको सरकारलाई अन्तर्राष्ट्रिय समुदायले हालसम्म मान्यता दिइसकेको छैन । नेपालले सार्क सचिवालयमार्फत महासभाका दौरान सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठकका लागि सेप्टेम्बर २६ (असोज १०) मा प्रस्ताव गरेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । 

भारत र पाकिस्तानबीचको क्षेत्रीय द्वन्द्व न्युयोर्कमा पनि उस्तै रहँदा सन् २०२० पछि महासभाका दौरान सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक हुन सकेको छैन । सन् २०२० मा भने कोरोना महामारीका कारण भर्चुअल बैठक भएको थियो । त्यसबेला तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकको नेतृत्व गरेका थिए । बैठकमा भारत र पाकिस्तानका प्रतिनिधि सहभागी थिए । त्यसपछि नारायण खड्का र एनपी साउद परराष्ट्रमन्त्री भए । दुवैले महासभाको दौरान साइडलाइन बैठक गर्न खोजे तर भारत र पाकिस्तानबीच कुरा नमिल्दा अघि बढ्न सकेन । 

यस पटक परराष्ट्रमन्त्री आरजु राणा देउवाले बैठकका लागि प्रस्ताव पठाएकी छन् । तर सदस्य देशहरूले हालसम्म प्रतिक्रिया पठाइसकेका छैनन् । ‘विशेषगरी भारत र पाकिस्तानको जवाफका आधारमा बैठक हुन्छ वा हुन्न भन्ने थाहा हुन्छ,’ परराष्ट्रका एक अधिकारीले भने । सन् २०१४ देखि अर्को सार्क शिखर सम्मेलन नभएकाले नेपाल अध्यक्ष रहँदै आएको छ । अध्यक्षले नै सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक राख्ने परम्परा छ । नेपालले लगातार सार्क मन्त्रीस्तरीय बैठक गरेर भारत र पाकिस्तानबीच विश्वासको वातावरण बनाउन खोजिरहेको छ । ‘हामी आफ्नोतर्फ र सार्क सचिवालयमार्फत साइडलाइन बैठक गर्न प्रयासरत छौं,’ परराष्ट्रका ती अधिकारीले भने । 

सन् २०२१ को ७६ औं महासभामा तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्काले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । भारत र पाकिस्तानको विवाद र अफगानिस्तानमा तालिवान सरकार आएपछि महासभामा तालिवान र पुरानै सरकारका प्रतिनिधि सहभागी हुँदा उक्त वर्ष सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक हुन सकेन । ७७ औं महासभामा परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वको टोली सहभागी भएको थियो । ७८ औं महासभामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली टोलीको नेतृत्व गरेका थिए । परराष्ट्रमन्त्री एनपी साउद थिए । यी पछिल्ला तीन महासभामा सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक हुन सकेन ।

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully