काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई भेट्न राजदूत सोङ बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालय पुगेका थिए ।
भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस विज्ञ डिल्ली मल्लले जानकारी दिए । भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताएका थिए ।
दुई देशबीचका राष्ट्रपतिको तहबाट एकअर्को मुलुकमा भ्रमण भएको र विभिन्न समयमा संसदीय टोली, राजनीतिक टोली लगायतको नियमित भ्रमण भइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले यस्ता भ्रमणहरूले सांस्कृतिक विविधताबारे जानकारी हुने, विकासका नयाँ आयामको विस्तार हुने र पर्यटन प्रवर्द्धनमा सघाउ पुर्यााउने बताएका थिए ।
चीनले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गरेका थिए ।
भेटवार्तामा राजदूत सोङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको भन्दै चिनियाँ राष्ट्रपती सि चिनफिङको नेपाल भ्रमणपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उँचाईमा उठेको बताएका थिए ।
नेपालमा शान्ति प्रक्रियाको बाँकी कामको रुपमा रहेको संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसद्बाट पारित हुन लागेकोमा खुसी लागेको भन्दै राजदूत सोङले यसले नेपालको शान्ति, स्थिरता र विकासमा नयाँ फड्को मार्ने बताएको विज्ञ मल्लले जानकारी दिए ।
नेपालमा हालै निर्माण सम्पन्न भएका पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा उडान गर्न चीन इच्छुक रहेको भन्दै राजदूत सोङले त्यसले नेपालमा चिनियाँ पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने बताएका थिए ।
