काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचनाको क्षेत्रमा जोडिएका संस्थाहरुमा नीतिगत स्पष्टता ल्याउने बताएका छन् । सोमबार राष्ट्रिय सूचना आयोगले गरेको १८ औँ राष्ट्रिय सूचना दिवस विशेष समारोहमा बोल्दै मन्त्री गुरुङले सञ्चार तथा सूचनाको क्षेत्रमा जोडिएका संस्थाहरुमा नीतिगत स्पष्टता ल्याउने गरी सरकारले काम गरिरहेको बताए ।
उनले सञ्चार संस्थाहरु पुरानो ऐन अनुसार चलिरहेका भन्दै ऐनलाई समयानुकुल बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले सञ्चार मन्त्रालयमा नीतिगत रुपमा व्यवस्थित काम हुन नसकेको भन्दै आफूले मन्त्रालयको नीतिगत कामलाई व्यवस्थित बनाउने बताए ।
सञ्चार संस्थाहरुलाई नीति, ऐन, कानुन तथा नियमावलीहरुमा स्पष्ट पार्दै आवश्यक परे पुनःसंरचना पनि गर्ने र जनताको सूचनाको हकलाई चुस्त, दुरुस्त, व्यवस्थित र वैज्ञानिक बनाउँदै लगिने मन्त्री गुरुङको भनाइ छ ।
उनले भने, 'सञ्चार क्षेत्रमा नीति नै बनेको छैन । यो क्षेत्रमा रहेका धेरै कामहरु व्यवस्थापनका लागि ऐन, नियमावली र नीतिहरु नबनेको देखिन्छ । जतिधेरै गफ लगाएपनि, जति कथा हालेपनि, जति धेरै प्रतिबद्धता जायर गरेपनि ठोस रुपमा व्यवस्थित कामहरु नभएको देखिन्छ । सञ्चार, सूचनासँग जोडिएको क्षेत्रको संस्थागत विकास कसरी गर्ने, संरचनाहरु कस्तो बनाउने, जनशक्तिको विकास कसरी गर्ने, त्यो क्षेत्रमा काम गरेका व्यक्तिहरुको कसरी परिचालन गर्ने भन्ने कुरा हाम्रो नीति, ऐन, नियमावली, कानुन, नियम, विनियममा आउनुपर्ने हुन्छ। आजको समयानुकुल व्यवस्थापन गर्न नसकेको कारणले जे–जे समस्या पैदा भएका छन्, त्यो व्यवस्थापनको काम हामीले गर्दैछौँ ।'
मन्त्री गुरुङले सूचनाको हकलाई अझ व्यवस्थित ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
