तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासन र स्थानीय तहहरूको अपिल
काठमाडौँ — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित माथिल्लो भागमा रहेका हिमताल फुट्न थालेपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रका विभिन्न जलविद्युत् आयोजना र मानव बस्ती जोखिममा परेका छन् ।
खुम्बु क्षेत्रका २ वटा हिमताल फुटेर स्थानीय खोलामा आएको बाढीले शुक्रबार दिउँसो खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेको सिंगो गाउँ नै बगाएपछि त्यस क्षेत्रका अरू हिमतालसमेत फुट्न सक्ने जोखिम बढाएसँगै त्यसको असर दुधकोशी नदी हुँदै तल्लो तटीय क्षेत्रका मानव बस्ती र भौतिक संरचनामा समेत पर्ने देखिएको हो । थामेबाट माथि एकदिनको पैदल दूरीमा ५ वटा हिमताल छन् ।
त्यसमध्ये २ वटा ताल शुक्रबार फुटेर स्थानीय थामेखोला (स्थानीयले भोटेखोला पनि भन्छन्)मा बाढी आई तटीय क्षेत्रमा रहेको थामे बस्ती बगाएको हो । थामे खोलामा आएको बाढीको असरले दुधकोशीमा पनि पानीको सतह बढाएको छ ।
सोखुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार थामेभन्दा माथिका ५ वटा हिमतालमध्ये २ वटा फुटेको र थप २ वटा फुट्ने जोखिममा रहेको र त्यसको असर दुधकोशी नदीमा पर्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको बताइन् । थामेको बाढीमा विद्यालय, होस्टेल, मेडिकल क्लिनिक, स्थानीयका घर तथा होटललगायतका भौतिक संरचना नष्ट भएका छन् । प्रजिअ पाण्डेका अनुसार घर र होटल २० वटा, होस्टेल र स्कुल ३ वटा, मेडिकल क्लिनिक एउटा र थामे जलविद्युत् आयोजनाको ड्याम बाढीले नष्ट गरेको छ । थामेका स्थानीय ५५ वर्षीय नुरु टुडु शेर्पा बेपत्ता छन् । नेपाली सेना र नेपाल प्रहरीले क्षतिग्रस्त स्थानमा जोखिममा परेका स्थानीयलाई सुरक्षित स्थानमा लगेका छन् ।
बाढीले पुरेर बाँकी रहेका भौतिक सम्पत्ति निकाल्न र बेपत्ताको खोजीमा सेना र प्रहरीको संयन्त्र सक्रिय रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन् । सोलुखुम्बु प्रशासनले जोखिममा रहेका अरू ताल पनि फुट्नसक्ने चेतावनी दिएपछि दुधकोशी नदी तटीय क्षेत्र सोलुखुम्बु, ओखलढुंगा र खोटाङका विभिन्न स्थानीय तहले सार्वजनिक सूचना र जनप्रतिनिधि नै खटाएर स्थानीयलाई सुरक्षित क्षेत्रमा जान सूचित गरेका छन् ।
हिमताल फुटेर थामेमा बस्ती बगाएपछिको अवस्थाबारे बुझ्न रक्षामन्त्री मानवीर राई, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी पाण्डे तथा जिल्लाका अरू सुरक्षा प्रमुख र खुम्बु पासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधि हेलिकप्टरबाट शनिबार घटनास्थल गएका थिए । थामेको गाउँ बगाएपछिको अवस्था बुझेर रक्षामन्त्री राई र प्राधिकरणका प्रमुख कार्यकारी पोखरेलसहितका अधिकारी हिमताल भएको स्थानको अवस्था हेलिकप्टरबाटै अवलोकन गरी काठमाडौं फर्किएका छन् ।
थामे बाढीपछि नेपाली सेनाको नाम्चेस्थित गुल्म र नेपाल प्रहरीका स्थानीय युनिटबाट पनि खोज तथा उद्धारमा जनशक्ति तैनाथ गराइएको छ । सेनाको उदयपुरस्थित १८ नम्बर बाहिनी मुख्यालयले सोलु, ओखलढुंगा र खोटाङको तटीय क्षेत्रमा दुधकोशी नदी तटीय क्षेत्रमा सम्भावित विपद आउन सक्ने जोखिमलाई मध्यनजर गरेर तटीय क्षेत्रका बस्ती र जलविद्युत्लगायत भौतिक संरचनाको सुरक्षार्थ थप सतर्कता अपनाउन संयन्त्रलाई परिचालन गरेको बाहिनी मुख्यालयका एक अधिकारीले जानकारी दिए ।
‘थामेभन्दा माथिका २ वटा हिमताल फुटेसँगै यसले दुधकोशी र अरू सहायक नदी तटीय क्षेत्र जोखिममा छ है भनेर प्रकृतिले नै चेतावनी दिएको रूपमा हामीले बुझेका छौं, त्यसलाई समेत मध्यनजर गरेर हामीले तटीय क्षेत्रका बस्ती, विद्युत् आयोजना, पुललगायत अन्य भौतिक संरचनालाई पुर्याउन सक्ने सम्भावित क्षतिलाई ध्यानमा राखेर विपद् प्रतिकार्य योजना बनाएका छौं,’ बाहिनीका एक अधिकारीले कान्तिपुरसँग भने, ‘यसका लागि तटीय क्षेत्रमा पर्ने तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूसँग समन्वयमा काम भइरहेको छ ।’ खासगरी दुधकोशी तटीय क्षेत्रमा मानव बस्ती र जलविद्युत् आयोजना तथा पुलको सुरक्षामा विशेष ध्यान दिइएको बाहिनीका ती अधिकारीले बताए ।
बाढीले बगाएको थामे गाउँबाट सोलु, ओखलढुंगा र खोटाङ तथा उदयपुर हुँदै बग्ने दुधकोशीको कूल ‘एरियल स्पेस’ (हवाई दूरी ९६ किमि पर्छ । नदी बग्ने दूरीको हिसाबले भने थामेबाट तल करिब १ सय ५० किमि भन्दा बढी रहेको बताइन्छ । खुम्बु क्षेत्रको हिमतालबाटै निस्किएको दुधकोशी सोलु, ओखलढुंगा र खोटाङ हुँदै बगेर खोटाङ र उदयपुरको सीमानाको जोर्तिघाटमा पुगेर सुनकोशीमा मिसिन्छ । सुनकोशी र दुधकोशी सप्तकोशीका मुख्य सहायक नदी हुन् । भोटेकोशी, लिखु, इन्द्रावती, तामाकोशी तथा यिनका सहायक नदीहरू मिसिएर एकीकृत भई सुनकोशी सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली र उदयपुर हुँदै जोर्तिघाटमा दुधकोशीमा गएर मिसिन्छ । त्यसपछि पूर्वबाट आएका अरूण र तमोरसहित एकीकृत भई सप्तकोशी नदी भएर बग्छ ।
दुधकोशी र सुनकोशीको संगम स्थम जोर्तिघाटदेखि माथि दुधकोशी नदी र यसका अरू सहायक नदी तटीय क्षेत्रमा हाल मुख्य ५ वटा जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ । २४.८८ मेगावट क्षमताको लुजाखोला जलविद्युत् आयोजना खुम्बु पासाङल्हामु गाउँपालिका–१, खार्तेमा पर्छ । लुजाखोला दुधकोशीमै मिसिन्छ । २२ मेगावाटको मध्य हुँगाखोला ‘ए’ र २२.९ मेगावटको मध्य हुँगा खोला ‘बी’ जलविद्युत् आयोजना महाकुलुङ गाउँपालिका–३, बुँदेलमा पर्छ । हुँगा खोला दुधकोशीको सहायक नदी हो । त्यस्तै १८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना सोलुदुधकुण्ड नगरपालिका–२, बेनीमा पर्छ ।
सोलुखोला दुधकोशी नदीको मुख्य सहायक नदी हो । त्यसैगरी दुधकुण्ड नगरपालिका–११, तिङलास्थित सोलुखोलाको पानी सुरुङमार्गबाट थुलुङ दुधकोशी गाउँपालिका–३, पञ्चन (मैकुबेसीमा झरेर निर्माण गरिएको ८६ मेगावाटको जलविद्युत् आयोजनाको पारवरहाउस पञ्चनकै दुधकोशी तटीय क्षेत्रमा पर्छ । दुधकोशी र यसका सहायक नदीहरू सोलुखोला, हुँगा खोला, इङखु, थामे (भोटेखोला) यी सबै खुम्बु क्षेत्रबाट बगेका छन् । खुम्बु क्षेत्रमा रहेका हिमताल फुटेमा वा अधिक वर्षा र पहिरो खोला/नदीमा खसेर त्यसले बाढीको रूप लिई तल्लो तटीय क्षेत्रका जलविद्युत् लगायत संवेदनशील भौतिक संरचना र मानव बस्तीलाई प्रतिकुल असर पुग्छ ।
दुधकोशीमा यसअघि २०४२ र २०५५ सालमा आएको विनाशकारी बाढीले सोलु, ओखलढुंगा र खोटाङका तटीय क्षेत्रमा पर्ने मानव बस्ती र हजारौं हेक्टर खेतबारी, पुललगायत भौतिक सम्पत्ति र मानवीय क्षति गरेको थियो । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–३, पञ्चनस्थित कालिकादेवी माध्यमिक विद्यालयका पूर्वशिक्षक मीनप्रसाद कोइरालाका अनुसार २०४२ साउन १४ मा हुँगा खोलामा आएको बाढीले दुधकोशीलाई थुनेको र तीन दिनपछि थुनिएको नदी खुलेर बाढीको रूप लिँदा त्यसले दुधकोशीको तल्लो तटीय क्षेत्रको खोटाङ–उदयपुर जोर्तिघाटसम्मै ठूलो भौतिक सम्पत्तिको नोक्सान गरेको स्मरण गरे ।
हुँगाको बाढी पनि खुम्बु क्षेत्रको हिमताल र हिम पहिरोबाटै आएको अनुमान त्यसबेला गरिए पनि वैज्ञानिक अध्ययन नै भएको थिएन । त्यो बाढीको ठिक १३ वर्षपछि २०५५ भदौ १८ मा दुधकोशीकै सहायक नदी इङखुको मुहान खुम्बु क्षेत्रबाटै हिमताल फुटेर बाढी आएको थियो । सोताङ र बुङतिरबाट उर्लिएर आएको इङखुले दुधकोशी नदी थुनेको थियो । २०५५ भदौको बाढी त्यसअघिको भन्दा विनाशकारी रहेको र त्यसले सोलु, ओखलढुंगा र खोटाङका तटीय क्षेत्रमा हजारौं हेक्टरको खेतबारी, बस्ती र भौतिक संरचना सखाप पारेको थियो । पञ्चनका पूर्वशिक्षक कोइरालाले आफूले २०५५ सालको दुधकोशीको जस्तो बाढी कहिल्यै नदेखेको स्मरण गरे ।
नेपाली सेनाका सहायक रथी गौरवकुमार केसीले थामे घटनाले अब हिमाली क्षेत्रका हिमतालले पुर्याउन सक्ने जोखिमका बारे अध्ययन गरी अनुगमन र व्यवस्थापन प्रणालीको विकासमा लाग्नैपर्ने सन्देश दिएको बताए । ‘हामीले हिमताल र हिमपहिरोका कुरा त गरिरहन्छौं । त्यसमा पनि ठूला तालबारे सबैको चासो रह्यो तर यो मात्रै होइन रहेछ, खुम्बुलगायत हिमाली क्षेत्रका साना हिमताल पनि विपदका दृष्टिले उत्तिकै जोखिमपूर्ण रहेछन् भन्ने स्पष्ट सन्देश थामे घटनाले दिएको छ,’ प्रवक्ता केसीले कान्तिपुरसँग भने, ‘यसका लागि सबै किसिमका हिमतालको अध्ययन, यसको अनुगमन र व्यवस्थापन प्रणालीको विकास गरिनु पर्छ ।’
सोलुखुम्बुकै इम्जा ताल फुट्ने जोखिममा रहेको बारे विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनबाट देखिएपछि केही वर्षअघि मात्रै नेपाली सेनालाई इम्जा ताललाई जोखिममुक्त गराउन सेना खटिएको थियो । त्यस क्रममा तालको पानीको सतह घटाउनुका साथै तालवरपरको अवस्था पनि व्यवस्थापन गरी सेना फर्किएको थियो ।
प्रवक्ता केसीले जोखिममा रहेका अरू तालको अध्ययन गरी चरणबद्ध रूपमा जोखिममुक्त गर्न काम गर्नुपर्ने बताए । ताल हुँदै बग्ने नदी तथा खोलाको तल्लो तटीय क्षेत्रको जोखिमको तह वर्गीकरण गरी अति जोखिममा रहेका बस्तीलाई अन्यत्रै स्थानान्तरणमा काम गर्न सके मानवीय र भौतिक क्षति यस्ता विपदबाट कम गर्न सकिने उनको भनाइ छ । खुम्बु क्षेत्रमा मात्रै इम्जा, गोक्यो, दुधकुण्डलगायत दर्जनौं ठूला हिमताल छन् । यी तालहरूबाटै दुधकोशी, सोखुखोलालगायत मुख्य र सहायक नदीहरू बगेका छन् ।
