कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

अमेरिकाले नेपाललाई दुई स्काई ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने

भाद्र १, २०८१
अमेरिकाले नेपाललाई दुई स्काई ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने

काठमाडौँ — नेपालको विपद् व्यवस्थापन प्रयासमा प्रयोग गर्न र हवाई क्षमतालाई सुदृढ गर्न अमेरिकाले दुई स्काइट ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने भएको छ । अमेरिकाको विदेश मन्त्रालयले उक्त सहयोग गर्न लागेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले शनिबार एक्स (ट्वीट) मार्फत जानकारी दिएकी हुन् ।

अमेरिकी उपविदेशमन्त्री रिचर्ड वर्माको शुक्रबार भएको एक दिने भ्रमणमा नेपाललाई दुई स्काइट ट्रक र दुई बेल हेलिकप्टर दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपालले प्राप्त गर्ने ती हेलिकप्टरहरुमा नेपाली सेनाले प्रयोग गर्ने छ । राणाले अमेरिकाको उदार सहयोगको लागि वर्मा र विदेश मन्त्रालयलाई धन्यवाद पनि दिएकी छन् ।

नेपाल भ्रमणका क्रममा अमेरिकी उपविदेशमन्त्री वर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री राणासँगको शिष्टाचार भेटवार्तामा गरेका थिए । उक्त अवसरमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा कुराकानी भएको हो ।

वर्माको भ्रमणबारे अमेरिकी विदेश मन्त्रालयका प्रिन्सिपल उपप्रवक्ता वेदान्त पटेलले पनि शुक्रबार वक्तव्य जारी गरेका छन् । वक्तव्यमा वर्माले नेपालको विपद् प्रतिकार्य र हवाई क्षमतालाई सुदृढ गर्न जोड दिएको उल्लेख छ ।

'उपविदेशमन्त्री वर्माले नेपालको रोटरी विङ (हवाई) क्षमताका लागि विदेशी सैन्य वित्त कोषबाट १० करोड डलर उपलब्ध गराउने अभिप्राय व्यक्त गरेका छन्,' वक्तव्यमा भनिएको छ । भेटमा रकम उपलब्ध गराउनेबारे अमेरिकी कंग्रेसमा समीक्षा भइरहेको वर्माले जानकारी दिएका थिए ।

यसका लागि उनले अमेरिकाको विदेशी सैन्य वित्त कोषबाट सहयोग उपलब्ध गराउने अभिप्राय व्यक्त गरेका छन् ।

प्रकाशित : भाद्र १, २०८१ १६:२२
x
×