काठमाडौंको ग्लोबल इन्टरनेसनल, जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ र ललितपुरको नेपाल एजुकेसन फाउन्डेसन कलेजमा विद्यार्थी भर्ना गर्न नमिल्ने
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित तीन कलेजमा विद्यार्थी भर्नामा रोक लगाएको छ । शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकले काठमाडौंको ग्लोबल इन्टरनेसनल, जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ र ललितपुरको नेपाल एजुकेसन फाउन्डेसन कन्सोर्टियम अफ कलेजमा विद्यार्थी भर्ना गर्न नमिल्ने निर्णय गरेको हो ।
ग्लोबलले सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेको, कश्यपको समकक्षतासम्बन्धी विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र नेपाल एजुकेसन फाउन्डेसन स्थानान्तरण प्रक्रियामा रहेकाले विद्यार्थी भर्ना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ । यी कलेजमा सिभिल इन्जिनियरिङ, बीबीए, एमबीए, सूचना प्रविधिलगायत विषय पठनपाठन हुँदै आएको थियो ।
मन्त्रालयले विद्यार्थी भर्ना हुन मिल्ने विदेशी सम्बन्धनका ५६ कलेजको सूचीसमेत सार्वजनिक गरेको छ । मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण गरेका, लेखापरीक्षण र कर चुक्ता गरेका, नियमअनुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरेका कलेजको सूची सार्वजनिक गरिएको शिक्षामन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।
मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धन प्राप्त कलेजहरूको अनुगमन गर्न विज्ञ कार्यदलसमेत गठन गरेको छ । त्रिविका पूर्वडिन विनिल अर्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । यसअघि पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले यी कलेजहरूको अनुगमन गरी प्रतिवेदन बुझाउन पूर्वसचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा अध्ययन समिति गठन गरेकी थिइन् । गत वैशाख २४ मा गठित छानबिन समितिले जेठ ३२ मा प्रतिवेदन बुझाएको थियो । श्रेष्ठ मन्त्रीबाट हटेपछि प्रतिवेदन कार्यान्वयन हुन पाएन । शिक्षामन्त्री भट्टराईले पुनः समिति गठन गरेकी हुन् ।
कोइराला नेतृत्वको समितिले अध्ययनका क्रममा ४८ विदेशी कलेजले मापदण्डविपरीत शैक्षिक कार्यक्रम चलाउँदै आएको पाएको थियो । ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका–२०५९’ मा विश्व वरीयतामा एक हजारभित्र रहेका विश्वविद्यालयका सम्बन्धनमा मात्र नेपालमा कलेज र त्यसका शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने मापदण्ड उल्लेख छ । तर शिक्षा मन्त्रालयले आफैंले तोकेको मापदण्डविपरीत ४८ विदेशी सम्बन्धनका कलेजलाई पठनपाठन गर्न अनुमति दिइरहेको पाइएको थियो ।
शिक्षामन्त्री भट्टराई अध्यक्षताको समितिको बैठकले विश्व वरीयतामा एक हजारभित्र रहेका र क्यूएनन प्राप्त विश्वविद्यालयअन्तर्गतका भए मात्र कार्यक्रम थप गर्ने निर्णय गरेको छ । विदेशी सम्बन्धन प्राप्त कलेजहरूको सूची विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा एकीकृत गर्नेसमेत निर्णय बैठकले गरेको छ । यसअघि कलेजहरूको विवरण मन्त्रालयले मात्रै राख्दै आएको थियो ।
