देउवालाई कोइरालाको चेतावनी : 'यो वा त्यो बहानामा महाधिवेशन लम्बाउने प्रपञ्च नहोस्'

श्रावण २७, २०८१

कान्तिपुर संवाददाता

Koirala's warning to Deuba: 'There should be no chance of prolonging the Congress on this or that pretext'

काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले पार्टीको आउँदो पन्ध्रौं महाधिवशेन लम्बाउने कुनै प्रपञ्च नगर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।उनले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा लिखित मन्तव्य राख्दै सभापतिलाई समयमै महाधिवेशन गर्ने गरी अबिलम्ब पार्टीका विधान  र  नियमावलीहरूलाई संशोधन समिति बनाउन प्रस्ताव गरेका छन् ।

'तपाईंको नेतृत्वमा विगत आठ वर्ष देखि कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको समीक्षा म यहाँ गर्न चाहन्न । कांग्रेस हिजो किन खुम्चियो र आज फेरी किन गठवन्धनको कारण ठुलो दलको रुपमा संसदमा उपस्थित छ, यद्यपी कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ । यि सवैको वस्तुनिष्ठ समिक्षा गर्ने जिम्मा म इतिहासलाई छाडिदिन्छु' कोइरालाले भनेका छन्,'मेरो आग्रह सबै केन्द्रीय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको पन्ध्रौँ महाधिबेशन लम्बाउने कुनै प्रपञ्च नगरौँ । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागी अबिलम्ब समितिहरु बनाऔँ ।'  

उनले १४औं महाधिवेशनदेखि थाँती रहेका क्रियाशील सदस्यता लगायतका समस्याहरु तत्काल समाधान गरी २०८२ मंसिरमा १५औं महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गर्नुपर्ने माग गरेका छन् ।

'यो वा त्यो वहानामा महाधिबेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ । ठीक चारवर्षमा कांग्रेसको महाधिवेशन होस । मैले यसो भनिरहँदा म यहाँ बिग्रिएको प्रणालीलाई ट्रयाकमा ल्याउने मनाशयबाट यो कुरामा जोड दिईरहेको छु' कोइरालाले भनेका छन्,' म क्रियाशील सदस्यता वितरण र महाधिवेशनको लागि जिम्मेवारी पाएका साथीहरुलाई पनि समयवद्ध कार्यतालिका बनाएर यथा समयमा पार्टी महाधिबेशन सम्पन्न गर्ने तयारीमा जुटौँ भनी विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।'

अब पनि पार्टीलाई विधान अनुसार समयवद्ध तरिकाले सञ्चालन गर्ने परिपाटी नचलाई कहिलेबाट यो संस्कार विकसित गर्ने ? भन्दै उनले प्रश्न गरेका छन् ।  उनले अहिले राजनीतिमा लोकरिझ्याँई(पपुलिज्म) हावी भएको र त्यसबाट कांग्रेस पनि अछुतो नरहेको धारणा राखेका छन् । 'कांग्रेस पार्टीको आफ्नै मौलिकता, आदर्श र सिद्धान्त छ तर अहिले यसलाई बिर्सेर सामाजिक सञ्जाल र लोकरिझ्याईले पार्टीलाई डोर्‍याउँन खोजेको जस्तो देखिन्छ । यसले पार्टी कहाँ पुग्छ बेलैमा सोचौँ'  उनले भनेका छन् ।

कान्तिपुर

Link copied successfully