मुनाल स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने

श्रावण २७, २०८१

कान्तिपुर संवाददाता

India to help launch Munal satellite

काठमाडौँ — नेपालले बनाएको मुनाल स्याटलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने भएको छ । भारतीय विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेडबीच शनिबार नयाँ दिल्लीमा उक्त सहयोगका सम्बन्धमा समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बनाएको मुनाल स्याटलाइट प्रक्षेपणका लागि दुई पक्षबीच अनुदान सहयोग उपलब्ध गराउने समझदारी भएको हो । विदेश मन्त्रायलका तर्फबाट सहसचिव अनुराग श्रीवास्तव र न्यु स्पेस इन्डिया लिमिटेडका निर्देशक अरुनाचलम ए. बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त कार्यक्रममा नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकाल, भारतका लागि कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. अभास मास्के सहभागी थिए । कार्यवाहक राजदूत थापाले उक्त हस्ताक्षर कार्यक्रमपछि अहिलेसम्म नेपाल–भारत सम्बन्धलाई हिमालयभन्दा अग्लो र इन्डियन समुन्द्रभन्दा गहिरो भन्ने गरेकामा अब स्पेस (अन्तरिक्षण) मा नेपाली स्याटलाइट पुर्‍याउन गरेको सहयोगले अब स्पेससम्मको सम्बन्ध भन्न मिल्ने पनि उल्लेख गरे ।India to help launch Munal satellite

गत पुस १९ मा काठमाडौंमा भएको नेपाल र भारतका परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा नेपालले बनाएको स्याटलाइटलाई भारतको सहयोगमा प्रक्षेपण गर्ने सहमति भएको हो । सोही सहमतिअनुसार अहिले यो कार्यक्रम अघि बढाइएको छ ।

कान्तिपुर

Link copied successfully