भारतीय नाकाबन्दीबारे कमल थापाको पुस्तक : ‘सुषमा स्वराज नाकाबन्दीको पक्षमा थिइनन्'

श्रावण २१, २०८१

कान्तिपुर संवाददाता

Kamal Thapa's book on the Indian blockade: 'Sushma Swaraj was not in favor of the blockade'

काठमाडौँ — पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतका पूर्वविदेशमन्त्री सुषमा स्वराज नेपाललाई नाकाबन्दी लगाउने पक्षमा नरहेको दाबी गरेका छन् ।

आफ्नो प्रकाशोन्मुख पुस्तक ‘नाकाबन्दी र भूराजनीतिः कूटनीतिमा मेरो अनुभव र अनुभूति’ को बारेमा परराष्ट्र मामिला रिर्पोटिङ गर्ने पत्रकारहरूसँग सोमबार भएको अन्तर्क्रिया कार्यक्रममा थापाले उक्त कुरा बताएका हुन् ।

नेपालमा भारतले हालसम्म चारपटक नाकाबन्दी लगाएको छ । तर दुईपटक नाकाबन्दी लगाउँदाका साक्षी भने स्वंय थापा रहेका छन् । उनी भारतले २०४५/४६ सालमा तेस्रोपटक नाकाबन्दी लगाउँदा सञ्चारमन्त्री थिए भने पछिल्लोपटक नेपालले २०७२ सालमा नयाँ संविधान जारी गरेपछि नाकाबन्दी लगाउँदा उपप्रधान तथा परराष्ट्रमन्त्रीको भूमिकामा थिए ।

२०७२ सालको नाकाबन्दीका दौरान तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई नै नाकाबन्दी खुलाउनको लागि पटक–पटक नयाँ दिल्ली पठाएका थिए । दिल्लीमा थापाले प्रधानमन्त्री नरेन्द्र मोदीदेखि तत्कालीन विदेशमन्त्री सुषमा स्वराज र अन्य भाजपाका नेता र राज्य संयन्त्रका पदाधिकारीहरूलाई भेटेका थिए ।

‘मैले त्यसबेला बुझेअनुसार नेपाललाई नाकाबन्दी लगाउनुपर्छ भन्ने पक्षमा सुषमा स्वराजजी हुनुहुन्न थियो । त्यसबेला सुषमाजीलाई लिएर प्रधानमन्त्री मोदी रिसाएको पनि देखें,’ थापाले भने,‘मैले पनि प्रधानमन्त्री मोदीसँग वान–टु–वान भेटवार्ता गर्दा तपाईंहरूको नेताहरूले यहाँ आएर गरेको प्रतिबद्धतालाई कार्यान्वयन नगरेको भन्दै रिसाएका थिए । त्यो कुन प्रतिबद्धता हो भनेर मैले नेपाल आएपछि सर्वदलीय बैठकमा कुरा राखेको थिएँ । शेरबहादुर देउवा र पुष्पकमल दाहालले आफैंले पोल खोले । कसरी उनीहरूले भने जस्तो धर्मनिरपेक्ष नराख्न सकिन्छ?’

थापा हालसम्म तीनपटक परराष्ट्रमन्त्री भएका छन् । उनी पहिलोपटक २०५४ परराष्ट्रमन्त्री भए । त्यसपछि फेरि २०५४–५५ मै परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाले । पछिल्लो पटक भने २०७२ सालमा उपप्रधानसहित परराष्ट्रमन्त्री भएका थिए ।

‘मैले नाकाबन्दीको बेला खेलेको भूमिका र त्यस बेलाका सम्पूर्ण खुलाउन मिल्ने घटनाक्रमहरूलाई पुस्तकमा लेखेको छु । सञ्चारमन्त्री हुँदा २०४५–४६ मा राजा वीरेन्द्रको निर्देशनबाट त्यस बेला नाकाबन्दी खुलाउन खेलेको भूमिका र पछि केपी शर्मा ओलीसँग गरेको कामलाई मैले प्रस्तुत गरेको छु,’ थापाले भने । उनले पुस्तकमा पहिलो र दोस्रो पटक परराष्ट्रमन्त्री हुँदा नेपाल–भारतको सन् १९५० को शान्ति तथा मैत्रीसन्धीलाई परिमार्जन गर्नको लागि खेलेको भूमिका, भएका उपलब्धि र पछि अघि बढ्न नसकेको बारेमा पुस्तकमा विस्तृत रुपमा प्रस्तुत गरिएको जानकारी दिए । थापाले चीन मामिलामा पनि छुट्टै च्याप्टर लेखेको बताए ।

थापाले आफ्नो पुस्तक भदौ १० मा बजारमा आउने पनि जानकारी दिए । उनको पुस्तक संवर्धन पब्लिकेसन्सले प्रकाशन गर्न लागेको हो ।

थापाको यो तेस्रो पुस्तक हो । उनले यस अघि माओवादी द्वन्द्वको विषयमा ‘द्वन्द्व व्यवस्थापनका चुनौतीहरू’ र आफ्नै बाबु छत्रबहादुर थापाको बारेमा ‘एक पटकको सैनिक, सधैंभरीको सैनिक’ नामक पुस्तकहरू लेखिसकेका छन् ।

कान्तिपुर

Link copied successfully