काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले निर्वाचन क्षेत्र कागेश्वरी मनोहरामा बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न जाँदा आफूमाथि दुर्व्यवहार भएको दाबी गरेकी छन् ।
आफूमाथि एक राजनीतिक दलका व्यक्तिले दुर्व्यवहार गरेको पनि उनको आरोप छ ।
‘म आइतबार अबिरल वर्षाका कारणले क्षति भएका निर्वाचन क्षेत्रमा गएको थिएँ । साँझ ५ बजे कागेश्वरी ६ मनकामना टोलमा पुगेँ । पहिरो देखाउन चियापसलमा कुरेर बस्नु भएको थियो । फर्केर आउने क्रममा म र स्वकीय सचिव हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘त्यहाँ केही युवा जम्मा भएका थिए । केही रक्सी र गाँजामा लट्ठिएका थिए । तैले के गरिस् भन्ने किसिमले फोहोरी शब्द प्रयोग भएको थियो । चियापसलमा अनुरोध मात्र गरेको छु, नम्र भएर बोल्नुस् भनें, मलाई दुर्व्यवहार शैलीले बोल्नुभयो ।’ आफूले यस विषयमा बौद्ध प्रहरी प्रभागका डीएसपीलाई जानकारी गराइसकेकाे पनि उनले बताइन् । ‘यो संवेदनशील विषय हो । कुनै राष्ट्रिय दलको युवा साथी हुनुहुन्थ्यो । बाटो ढुकेर तर्साउने यो अमर्यादित भएन ? के यो जंगली व्यवहार भएन ? यो हर्कतको जिम्मेवारी राष्ट्रिय दलले लिने कि नलिने ?,’ उनले भनिन्, ‘सरकारले सुरक्षा चुनौतीबारे सोच्ने कि नसोच्ने ? म निर्वाचन क्षेत्रमा जाँदा अब डराएर हिँड्नुपर्ने हो ?’
