बंगलादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन 

श्रावण २१, २०८१

कान्तिपुर संवाददाता

Foreign Minister Rana's instructions to make necessary arrangements for the safety of the remaining students in Bangladesh

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशमा जारी रहेको आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठेरोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिएकी छन्। 

मन्त्री राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोन मार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा आज जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरुको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन् । 

त्यस अवसरमा बंगलालादेशमा नेपाली विद्यार्थी लगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीजीले जानकारी गराउनुभएको थियो ।

मन्त्री डा राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरुको सुरक्षाका लागि उनीहरुको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूताबासलाई निर्देशन दिइन् । 

ढाकास्थित नेपाली दूताबासले बङ्गलादेशमा अनिश्चितकालीन कफ्र्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आज सूचना जारी गरेको छ । 

सो सूचनामा बङ्गलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका, हाल त्यहाँ करिब ४०० विद्यार्थी रहेका र उनीहरु सुरक्षित रहेका जानकारी पनि दिइएको छ । 

सो सूचनामा नेपाल फर्कन चाहनेहरुले दूताबाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूताबासको सम्पर्क ठेगाना पनि दिइएको छ ।

कान्तिपुर

Link copied successfully