रहेनन् शास्त्रीय संगीतका गुरु कामत

६ महिनाअघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि काठमाडौंमा उपचार गराउन नसकेर कामत जन्मथलो सिरहाको पोखरभिन्डा फर्केका थिए

श्रावण १८, २०८१

विनय आजाद

Kamat is the guru of classical music

सिरहा — गुरुदेव कामत अर्थात् शास्त्रीय गीत/संगीत क्षेत्रमा निकै श्रद्धाका साथ लिइने एउटा सम्मानित नाम । उनको गीत/संगीतको प्रशंसक नेपालमा मात्र होइन, विदेशमा समेत उत्तिकै छन् । दर्शक र श्रोतालाई गीतमार्फत सन्देश दिएर मन्त्रमुग्ध बनाइरहने उनै कामतको बिहीबार निधन भएको छ । जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ पोखरभिन्डास्थित आफ्नै निवासमा ६९ वर्षको उमेरमा उनको निधन भएको हो ।

कवि एवं गीतकार विप्लव प्रतीकको सम्झनामा कामत एक विलक्षण प्रतिभा भएका शास्त्रीय गायक र संगीतकार थिए । ‘डोरेमी संगीत पाठशालामा कामतले लामो समय संगीत सिकाए । उनको संगीत ज्ञान नेपाली संगीत–समाजले जति लिनुपर्ने त्यो ग्रहण गर्नै पाएन,’ 

विप्लव भन्छन्, ‘त्यसैले कलाकारहरू जिउँदै छँदा लिन सकिने, सिक्न सकिने जे–जे गुण छन्, त्यो खोजीखोजी लिनुपर्छ ।’ उनका अनुसार कामतको संगीत–शक्ति भनेकै अध्यापन थियो, जसबाट नेपाली समाजले उल्लेखनीय लाभ पाइरहेको थियो ।

२०१२ साउन १७ मा जन्मिएका कामतको ६ महिनाअघि दुवै मिर्गौलाले काम गर्न छाडेको थियो । काठमाडौं बस्दै आएका उनी आर्थिक संकटका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए । गाउँ आएपछि लहानस्थित प्रादेशिक अस्पतालमा हरेक दुई दिनमा उनले डायलसिस गराइरहेका थिए । 

संगीतकार सचिन सिंहका अनुसार कामतले नेपाली शास्त्रीय र सुगम संगीतमा थुप्रै कलाकार जन्माएका छन् । ‘गुरुदेव कामत आफैं पनि राम्रो गायक हुनुहुन्थ्यो, जसले आफ्नो सारा जीवन संगीतमा समर्पित गर्नुभयो, खासमा उहाँ संगीत साधक हुनुहुन्थ्यो,’ सचिन भन्छन् ।

बिहीबार बिहान डायलसिसका लागि लहान लैजाने तयारी भइरहेकै बेला उनको निधन भएको हो । ‘बुबाले पैसालाई कहिल्यै महत्त्व दिनुभएन, सत्कर्मलाई मात्रै महत्त्व दिनुभयो,’ छोरा प्रमेन्द्रले भने, ‘हाम्रो बलबुताले भ्याएजति गर्‍यौं, काठमाडौंमा १० लाख खर्च भयो, उपचारमा अझै चाहिन्थ्यो तर आर्थिक समस्याका कारण बुबा गाउँ फर्किनुभयो ।’ कामतका तीन छोरा, एक छोरी र श्रीमती छन् । कामत १० वर्षकै उमेरदेखि गीत/संगीतमा लागेका थिए । भारतको इलाहाबाद र पश्चिम बंगालबाट संगीत सिकेर आएपछि मधेश क्षेत्रमा झनै लोकप्रिय बने । पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर मैथिली, नेपाली, भोजपुरीलगायत गीत/संगीत र शास्त्रीय गायन एवं प्रशिक्षणमा लागेका थिए । 

‘नेपाली शास्त्रीय संगीत जुन ठाउँमा आइपुगेको छ, त्यसमा गुरुदेव कामतको ठूलो योगदान छ,’ संगीतकार राजु सिंह भन्छन्, ‘उहाँ एक स्वाभिमानी संगीत साधक हुनुहुन्थ्यो, जसलाई नेपाली शास्त्रीय संगीतले कहिल्यै बिर्सन सक्दैन ।’ काठमाडौंमा २०६१ मा उनले गुरुकुल संगीत पाठशाला नै खोलेर संगीत र गायन सिकाउँदै आएका थिए । जनकपुरका विश्लेषक एवं लेखक रोशन जनकपुरी भन्छन्, ‘मैथिलीमा गम्भीर, अर्थपूर्ण र सन्देशमूलक गीत अनि गायन गुरुदेव कामतको विशिष्ट परिचय हो ।’

उनको मृत्युले जन्मथलो पोखरभिन्डामा सन्नाटा छाएको छ । कामतले आफ्नो ऊर्जावान समय राज्यका लागि दिए पनि राज्यले उनलाई नहेर्दा अकालमै यो संसार छाडेर जानुपरेको स्थानीयको दुःखेसो छ । ‘यहाँबाट मान्छे उपचार गराउन काठमाडौं जान्छन्,’ स्थानीय विन्देश्वर ठाकुरले भने, ‘तर, उहाँको हकमा ठीक उल्टो भयो, उहाँ काठमाडौंबाट फर्केर गाउँ आउनुभयो, उहाँले राज्यका लागि आफ्नो जीवन समर्पित गरिदिनुभयो तर राज्यले उहाँलाई हेरेन, यो दुर्भाग्य हो ।’

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully