सी चिनफिङको 'पत्र नीति'
Highlights
- देश र विश्व मामिलामा सक्रियता देखाउनुका अलावा चिनियाँ राष्ट्रपति सी चिनफिङले केही नरम काम पनि गरिरहेका हुन्छन्, जसले चीनको ‘एकलकाँटे’ भाष्यलाई विस्थापित गर्न सकेको छ । त्यो काम हो -पत्रमित्रता ।
बेइजिङ — ‘नमस्कार !
तपाइँको चिठी प्राप्त भयो ।’
त्यसपछि खै-खबरी र सिधै विषय प्रवेश अनि छोटो अनुच्छेदमा आवश्यक कुरा लेखिसकेपछि आफ्नो नाम र हस्ताक्षर।
चीनका राष्ट्रपति सी चिनफिङले दशकभन्दा लामो समयदेखि सर्वसाधारणले लेखेर पठाएको चिठ्ठीको जवाफ लेख्ने ढाँचा लगभग यस्तै हो । विदेशी मित्रहरूलाई पठाइएको चिठीमा प्रायः चीन र सो देशबीचको मित्रताको कुरा समेटिएका हुन्छन् भने स्वदेशभित्रका पत्रमा गाउँ वा समुदायलाई मिलाएर सुन्दर मातृभूमिको निर्माण, एकता र देशको सुरक्षाका लागि सक्रिय रहन प्रेरित गरिएको हुन्छ।
सन् २०१३ मा चीनको राष्ट्रपति पद सम्हालेयता सी चिनफिङले बीआरआई, चिनियाँ सपना, गरिबी निवारण लगायत महत्वाकांक्षी योजनाहरू अघि सारे, कोभिड-१९ महामारी, विदेशी प्रतिष्पर्धी शक्तिबाट प्राप्त दबाबसहित अनेकन घटना परिघटना पार गरे ।
देशव्यापी र विश्वस्तरका मामिलामा सक्रियता देखाउनुका अलावा सीले केही नरम काम पनि गरिरहेका हुन्छन्, जसले चीनको ‘एकलकाँटे’ भाष्यलाई विस्थापित गर्न सकेको छ । त्यो काम हो -पत्रमित्रता।
चिनियाँ संचारमाध्यमहरूमा छाइरहने, मानिसहरूले कमै ध्यान दिएको तर जसले प्रतिक्रिया पायो उसले चिनियाँ फराकिलो मनको खुलेर प्रशंसा गरेको एउटा विषय नै सी चिनफिङको पत्रमित्रता हो। सीको चिठी लेखन सिलसिला निरन्तर चलिरहेको हुन्छ । जिम्मेवारीमा स्तरोन्नति हुनअघि मात्रै होइन, राष्ट्रपतिमा पदासीन भए भन्दैमा उनले घरेलु तथा विदेशी मित्र र शुभेच्छुकहरूको सन्देशलाई निरुत्तर बनाएनन् ।
सीले चिठी लेख्न थालेको आजदेखि होइन। उनले किशोरावस्थामा श्रम गरेको ल्याङ च्या ह भन्ने अँध्यारो कुनादेखि अन्तरिक्षको उपग्रहसम्म चिठीहरू उडिरहेको भेटिन्छ। श्रमिक जीवनमा विभिन्न काम गरेका क्षेत्रहरू र तत्कालीन सहयात्रीहरू सम्झेर चिठी लेखेका छन्। किशोरावस्थामा आफूले श्रम गरेको क्षेत्र र उठबस गरेका हरेक पात्रहरूलाई सम्झिरहेको चिठीमार्फत् बुझिन्छ।
सन् १९६९ मा किशोर वयमा पार्टी निर्णयबमोजिम श्रम गर्नका लागि सी चिनफिङले उत्तरी शानसीको लियाङ् च्या ह दुर्गम गाउँमा ७ वर्ष श्रम गरे। गाउँले जीवनसँगै आधारभूत प्रशिक्षणको अनुभव हासिल गरेका सीले त्यस क्षणलाई जीवनकै बहुमूल्य सम्पत्ति आर्जनको अवसरको रुपमा लिने गर्छन्। सो गाउँ छोडेको ४० भन्दा बढी वर्षमा समेत सी चिनफिङले सम्झना दोहोर्याइरहन्छन्। पटक-पटक चिठी लेखिरहन्छन्।
सन् २००७ अगष्टमा गाउँलेहरूले सी जिनपिङलाई चिठी पठाउँदा उनी शाङ्हाई नगर पार्टी कमिटीमा कार्यरत थिए। उनले लेखे, ‘ल्याङ्च्याह गाउँमा बिताएका अविस्मरणीय ७ वर्षहरू कहिल्यै बिर्सन सक्दिन र त्यो भूमिलाई कहिल्यै बिर्सनुहुन्न।’
सन् २००८ जुलाईमा सीले कार्यकर्ताहरूलाई स्थानीय परिस्थितिअनुसार विकास आयोजनाहरू सञ्चालन गर्न आग्रह गरेर चिठी लेखे। सन् २०११ मेमा गाउँमा सन्तोषजनक परिवर्तनहरूप्रति खुसी हुँदै थप प्रयास जारी राख्ने हौसला दिए। सन् २०१३ जुलाईमा ल्याङ्च्याह गाउँ शताब्दीकै ठूलो वर्षाले प्रभावित भयो। जनवरी २०१४ मा गाउँ पार्टी शाखा र गाउँ समितिले गाउँको आर्थिक र सामाजिक विकास र विपद्पछिको पुनर्निर्माणको बारेमा चिठी लेखेपछि मे महिनामा उनले जवाफी पत्र पठाएर समृद्ध जीवनका लागि प्रोत्साहित गरे।
- - - - - - - - -
प्राप्त भएका चिठीको बेवास्ता गर्ने आदत नभएका कारण सीका चिठ्ठीहरूको विशेष चर्चा हुन्छ। सीले व्यक्तिगत चिठी लेखेको त्यति उल्लेख्य छैन। तर देशभित्र र अन्तर्राष्ट्रिय मामिलामा प्राप्त चिठीको जाँगर लगाएर जवाफ लेख्ने गरेको देखिन्छ। विशेषगरी पश्चिमा समाजको मन जित्नका लागि उनले हरेक पत्रमा प्रायः आपसी सम्बन्ध सुमधुर बनाउन जनस्तरबाट भए गरेका क्रियाकलापमा जोड दिँदै थप प्रोत्साहन गरेको देखिन्छ।
सन् २०२४ जनवरीमा राष्ट्रपति सीले अमेरिकाको आयोवाका सारा ल्यान्डीलाई जवाफी पत्र लेखे। पत्रमा ल्यान्डीले अमेरिकी मित्र समूहहरूले संयुक्त रूपमा आयोजना गरेको स्वागत भोजमा राष्ट्रपति सी चिनफिङको प्रेरक भाषणलाई व्यापक रूपमा स्वागत गरिएको र ५० हजार अमेरिकी युवाहरूलाई निमन्त्रणा गरिएको बताएकी थिइन् ।
अमेरिका र चीनले मानव समाजलाई फाइदाको लागि जलवायु परिवर्तन, खाद्य सुरक्षा, औषधि र क्षेत्रीय द्वन्द्व लगायतका समस्याहरू समाधान गर्न मिलेर काम गर्नुपर्छ भन्ने कुरा उल्लेख गरेकी थिइन्।
जवाफमा सी चिनफिङले ४५ वर्षअघि चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि नै दुई देशबीचको सम्बन्ध आरोह–अवरोहबाट गुज्रिएको, सहयोगको फल फलाउँदै एउटा विशाल रुखमा परिणत भएको र यसले दुवैलाई फाइदा पुगेको औंल्याए ।
सन् २०२३ नोभेम्बरमा अमेरिका भ्रमणका सिलसिलामा सीले सन्फ्रान्सिस्को भेटवार्तामा उद्घोष गरेका थिए, ‘आगामी पाँच वर्षमा ५० हजार अमेरिकी किशोरकिशोरीहरूलाई आदानप्रदान र अध्ययनका लागि चीन आउन निम्तो दिन चाहन्छु । यसबाट उनीहरूले आफ्नै आँखाले चीनलाई हेर्न र आफ्नै कानले चीनलाई सुन्न सक्छन् । दुई देशका जनताबीच आपसी समझदारी र आपसी स्नेहको थप पुल निर्माण गर्नसक्छन् ।’
सोही वर्षको जुनमा सी जिनपिङले केन विश्वविद्यालयका अध्यक्ष रे पोलेटलाई जवाफ लेख्दै चीन र अमेरिकाका विश्वविद्यालयहरूलाई आदान-प्रदान र सहयोगलाई सुदृढ गर्न र चीनको प्रवर्द्धनमा योगदान गर्न प्रोत्साहित गरे । त्यसअघि सन् २०२३ सेप्टेम्बरमा सी जिनपिङले युएस-चीन एभिएसन हेरिटेज फाउन्डेशनका अध्यक्ष र फ्लाइङ टाइगर्स वेटरनलाई जवाफ दिए ।
गत वर्ष अगष्टमा सी जिनपिङले अमेरिकी जनरल स्टिलवेलका नाति जोन इस्टरब्रुकलाई जवाफ पत्र पठाए। पुस्तौदेखि चीनसँगको स्टिलवेल परिवारको मित्रताप्रति सी भावुक भए । उनले भने, ‘जनरल स्टिलवेल चिनियाँ जनताका पुरानो मित्र हुन् । उनले चीनको मुक्ति र प्रगतिलाई सक्रिय रूपमा समर्थन गरे र चिनियाँ र अमेरिकी जनताबीचको मित्रतामा सकारात्मक योगदान गरे। यसलाई चिनियाँ जनताले कहिल्यै बिर्सने छैनन् ।’
सारांशमा चीन र अमेरिका विश्वका सबैभन्दा ठूलो विकासशील र विकसित देश भएकोले पृथ्वी ग्रहको भविष्य र गन्तव्यका लागि स्थिर सम्बन्धको महत्व छ। स्वस्थ र दिगो विकासको प्रवर्द्धन गर्न, साझा लाभ खोज्न, अन्तर्राष्ट्रिय समुदायलाई थप सार्वजनिक वस्तुहरू उपलब्ध गराउन र दिगो शान्तिका लागि सहकार्य आवश्यक छ। यसका लागि चीनप्रति अमेरिकी जनता सकरात्मक हुनु जरुरी छ।
अफ्रिकासँगको चीनको सम्बन्ध घनिष्ठता उन्मुख छ। त्यसप्रतिको सांकेतिक एउटा पत्र हेर्ने हो भने उनले २०२४ जनवरीमा केन्याका विद्यार्थी र बेइजिङ च्याओथोङ विश्वविद्यालयका पूर्व छात्रका प्रतिनिधिहरूलाई जवाफी पत्र लेखे । उनीहरूलाई चीन-केन्या अर्थात् चीन र अफ्रिकाबीचको सम्बन्ध र आपसी हितका लागि कडा परिश्रम गर्न प्रोत्साहन गरे ।
सी चिनफिङले मध्यपूर्वको सम्बन्धमा पनि उस्तै जोड दिएका छन् र हातेमालो पनि गरेका छन् । गएको मे महिनामा पठाएको चिठी चाहिँ संयुक्त अरब इमिरेट्स युएईको चिनियाँ भाषा ‘१०० विद्यालय परियोजना’का विद्यार्थी प्रतिनिधिहरूलाई थियो । उनले चिनियाँ भाषा राम्रोसँग सिक्न, चीन बुझ्न र चीन-युएई मित्रता प्रवर्द्धनमा योगदान गर्न प्रोत्साहन पत्र पठाए । सी जिनपिङले भने, 'मैले तपाईंहरूको प्रत्येक पत्र पढेको छु र चिनियाँ संस्कृतिप्रतिको तपाईंको माया, शब्द र चित्रबाट दुई देशबीचको मित्रता महसुस गरेको छु। पाँच वर्षअघि राष्ट्रपति मोहम्मद र मैले संयुक्त रूपमा परियोजना सुरु गरेका थियौं।’
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष बाखको पत्रको जवाफमा सीले सन् २०२२ बेइजिङ हिउँदे ओलम्पिक सफल भएको औंल्याउँदै विश्वका खेलप्रेमीहरुमाझ चीनको सकारात्मक छविको प्रचार गरे ।
सन् २०१९ जुन अन्त्यमा सी चिनफिङले 'पान्डा कप' अखिल जापान युवा निबन्ध प्रतियोगिताका विजयी जापानी युवा दाइची नाकाजिमाको पत्रको जवाफ दिए । उनले लेखे, ‘दुई देशका युवाहरूले द्विपक्षीय सम्बन्धमा उज्ज्वल भविष्य निर्माणमा सकारात्मक योगदान दिने आशा छ।’ राष्ट्रपति सीको जवाफी पत्रले जापानी युवाहरूबीच बहस ल्यायो र प्रोत्साहन जगायो ।
----------------
सीको चिठी मोह र स्नेही नजर
सन् १९८६ मा सी चिनपिङ फुच्यान प्रान्तको पूर्वी बन्दरगाह सहर स्यामनमा उपमेयरको रूपमा काम गर्दै जाँदा ‘ब्लाइण्ड डेटिङ’मार्फत् फङ् ली युआनलाई भेटे । अर्को वर्षको सेप्टेम्बरमा वैवाहिक जीवनमा बाँधिनुअघि उनले फङलाई के कति प्रेमपत्र लेखे भन्ने थाहा छैन । तर एकपछि अर्को गरी सर्वसाधारणलाई फर्काएका चिठीका कथाहरू हृदयस्पर्शी छन् । पहाड र समुद्र पार गर्दै, गहिरो स्नेह व्यक्त गर्दै विश्वभरका युवाहरूका लागि राष्ट्रपति सीको हेरचाह र प्रोत्साहनलाई गहिरो महसुस गरेका सर्वसाधारणका प्रतिक्रिया हुन्छन् ।
विदेशी युवाहरूलाई पत्रमा राष्ट्रपति सीले विश्वभरका युवाहरू चीन आउन, राम्रोसँग चिनियाँ सिक्न, चीनलाई बुझ्न, आफ्नो हृदय खोल्न, चीनसँग मित्रताको सन्देशवाहक बन्न, चिनियाँ संस्कृति र सभ्यताको प्रचारप्रसार गर्नका लागि ठूलो चासो राख्ने गरेका छन् । मानव सभ्यताको साझा भविष्यको साथ एक समानुपातिक संसार र समुदाय निर्माण गर्न हौसला दिन्छन् ।
सामाजिक सञ्जालमा सीको पत्र व्यवहारलाई हेर्दै नेटिजन्सले चीनको बारेमा थप जान्न र आपसी मित्रतालाई विकास गर्न सन्देशवाहक बन्न प्रोत्साहित गरेको बताउँछन् । हंगेरीका युवाहरूले सीको अभिभावकत्व झल्कने चिठ्ठी पाएर भनेका छन्, ‘युवाहरु देशका भविष्य हुन् । द्विभाषिकता सञ्चारको पुल हो । चीन-हंगेरी मित्रतालाई अगाडि बढाउँदा दुवै देशका जनतालाई अझ राम्रो फाइदा हुनेछ ।’
सीले सन् २०२३ नोभेम्बरमा क्युबाका ७३ वर्षीय प्रसिद्ध वैज्ञानिक पेद्रोलाई जवाफी पत्र लेखेका थिए। सिन्ह्वाका अनुसार चिठ्ठी पाएर दंग परेका विद्वान पेद्रोले भने, ‘अध्यक्ष सीको जवाफ पत्र प्राप्त गर्नु मेरो जीवनको महत्त्वपूर्ण क्षण थियो ।’
२०२२ फेब्रुअरीमा सिन्ह्वाले लेखेको समाचार अनुसार हेलेन फोस्टर स्नो फाउण्डेशनका अध्यक्ष एडम फोस्टरले चिनियाँ राष्ट्रपति सी चिनफिङको जवाफी पत्र प्राप्त गरे जसमा उनले आफूलाई गहिरो प्रोत्साहन दिएको बताइन् । एडमले भनिन्- 'यो अचम्मको कुरा हो ! हेलेन फोस्टर स्नो फाउन्डेसन र यसको कारणले अमेरिकी र चिनियाँबाट ठूलो समर्थन पाएको छ, जुन अन्तर्राष्ट्रिय मित्रताको अभिव्यक्ति हो ।'
- - - - - - - -
अनवरत चिठी
संसारमा विज्ञान प्रविधिको तीब्र विकासले संचारका माध्यमहरू बदलिइरहेका छन्। धमाधम परम्परागत पत्र मञ्जुषाहरू भत्किँदै गएका छन् र हुलाकीहरूले कार्यशैली फेर्दै लगेका छन् । तर सीले राष्ट्रपतिको पद सम्हालेपछि पनि चिठीको सिलसिला रोकेनन् । उनी के कति सामाजिक सञ्जाल चलाउँछन् भन्ने खुलेको छैन तर पदासीन हुँदाको व्यस्त समयमा पनि उनले कतिवटा पत्रको जवाफ अनवरत रुपमा लेखिरहे भन्ने कुरा महत्त्वपूर्ण छ ।
हरेक पत्रमा शासकले दिनुपर्ने आडभरोसा र निश्चिन्तताको ढाडस पाएर पत्र प्रापक प्रतिनिधि पात्रहरू जस्तै पार्टी कार्यकर्ता, बालबालिका, बुढाबुढी, विश्वका साथी संघ संगठनहरू खुसीले गद्गद् भएका उदाहरण छन्।
जवाफी चिठ्ठी प्रापक बेल्जियमको पाइरी डाइजा चिडियाखानाका संस्थापक एरिक डोम्बले चिनियाँ राष्ट्रपति सी जिनपिङको जवाफी पत्र चाइना डेली ईयू ब्यूरो प्रमुख चेन वेइहुआसँग प्राप्त गरेकोमा आफ्ना भावनाहरू शेयर गरे । 'मैले यो आशा गरेको थिइनँ,' एरिकलाई उदृृत गर्दै चिनियाँ अङ्ग्रेजी अनलाइन ग्लोबल टाइम्सले लेखेको छ, 'यो एउटा बोतलभित्र कागजको टुक्रा राखेर समुद्रमा फ्याँकेजस्तै हो। मलाई आशा थियो कि राष्ट्रपति सीले बोतल समात्नेछन्।'
आफ्ना पत्रहरूमार्फत चिनियाँ राष्ट्रपति सी चिनफिङले जीवनका सबै क्षेत्रका अन्तर्राष्ट्रिय मित्रहरूसँग धेरै अवसरहरूमा पत्राचार गरेका छन्, जुन नयाँ युगमा चीनको अन्तर्राष्ट्रिय आदानप्रदानका उत्कृष्ट कथाहरूको शृङ्खला हो । पत्रहरूले चीन र अन्य देशहरू बीचको कूटनीतिमा पनि जीवन्त रंग थपेको छ ।
ग्लोबल टाइम्सले चिनियाँ राष्ट्रपतिसँग पत्रहरू र तिनीहरूको सञ्चारको पछाडिको प्रेरक कथा सुन्ने ध्येयले सीका पत्र प्राप्त गर्ने केही प्रापकसँग सम्पर्क गरेको थियो ।
सन् २०१९ अप्रिलमा अमेरिकी इलिनोइस राज्यस्थित नाइल्स नर्थ हाई स्कूलमा चिनियाँ भाषाका प्रशिक्षार्थी समूहलाई पठाएको जवाफी पत्रले प्राप्तकर्ताहरू उत्साहका साथ गुञ्जिए।
केवल ५ महिना चिनियाँ भाषा पढेपछि विद्यार्थीहरूका लागि सीलाई पत्र लेख्नु चाखलाग्दो र चुनौतीपूर्ण गृहकार्य थियो र उनीहरूले चिनियाँ राष्ट्रपतिबाट चिठीको जवाफ पाउँछन् भन्ने आशा पनि गरेका थिएनन् ।
सीको जवाफी पत्रबाट प्रेरित भएर मिशिगन युनिभर्सिटीमा भर्ना भएका विद्यार्थीहरुले झण्डै पाँच वर्षदेखि चिनियाँ भाषा सिक्दै थिए। यस्ता चिठीबाट चीनप्रति विश्वका मानिसहरूको एउटा गहिरो भावना विकसित भएको छ ।
यो कुरा महासचिव सी चिनफिङले जनवरी १६ मा जर्मनीमा अध्ययनरत सबै विद्यार्थीहरूलाई दिएको जवाफमा भनेका थिए। रिपोर्टरकाअनुसार सन् २००८ देखि हालसम्म सार्वजनिक रिपोर्टहरूमा सी चिनफिङले स्वदेश तथा विदेशका कार्यकर्ता र जनसमुदायबाट अनगिन्ती पत्रको जवाफ दिएका छन्। विज्ञहरूका अनुसार यो विधिले जनमत संकलन मात्रै गर्दैन, पत्रमार्फत् नेताको विचारलाई प्रतिबिम्बित गर्छ र जनतासँग घनिष्ठ सम्बन्ध राख्ने सीको नयाँ शैलीको महत्वपूर्ण अभिव्यक्ति ठान्दछ ।
....................
चिठी भावना
चिठीपत्र गुम्सिएका भावना मुखरित गर्ने माध्यम हो । कतिपय अवस्थामा इतिहास र कसैको जीवनमा अकल्पनीय मोड पनि हो । सीले चिठ्ठी लेख्ने सिलसिलालाई निरन्तरता दिनुलाई प्रविधिको प्रवाहलाई एकातिर राखेर आफ्नो एउटा ‘सोख’ लाई जीवन्त राखेको प्रतीकका रुपमा लिन सकिन्छ । संसारका हरेक महाद्वीप र कुनाबाट सीलाई चिठीहरू लेखिएका हुन्छन् । सबैलाई चिठी फर्काएर साध्य पनि हुँदैन होला । तर पश्चिमा र अन्य मुलुकसँग चीनको सामीप्यता बढाउने र घरेलु जनजीवनलाई सक्रिय गराउने मनसायले सीका चिठीहरू फर्किएका देखिन्छन् ।
जवाफ प्राप्तकर्ताहरू मुख्यतया युवाहरू, तल्लो तहका कार्यकर्ताहरू छन् भने माथिल्लोमा काउन्टी पार्टी कमिटी सचिव लगायत छन् । सीका जवाफहरू प्रायः महत्त्वपूर्ण समय बिन्दुहरूमा पठाइन्छ वा महत्त्वपूर्ण विषयहरूमा कथनहरू लेख्छन्, यद्यपि तिनीहरूको प्रभाव प्रायः प्रान्त वा राष्ट्रव्यापी रूपमा फैलिएको छ। जवाफहरूले प्रायः संलग्न पक्षहरू बीच कडा प्रतिक्रियाहरू उत्पन्न गर्दछ ।