मन्त्रिपरिषद् गठन गर्दा गल्ती गरेका छौं : कांग्रेस सांसद न्यौपाने

श्रावण १५, २०८१

कान्तिपुर संवाददाता

We have made a mistake while forming the Council of Ministers: Congress MP Neupane

काठमाडौँ — प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सांसद ईश्वरी न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् समावेशी नभएकामा असन्तुष्टि व्यक्त गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समावेशी मन्त्रिपरिषद् गठन गर्न नेतृत्वको इच्छाशक्ति नदेखिएको टिप्पणी गरेकी हुन् । 

मन्त्रिपरिषद् गठन गर्दा गल्ती गरिकएको न्यौपानेको भनाइ थियो । 'पहिलो गाँसमा ढुंगा भनेझैं मन्त्रिपरिषद् गठन गर्दा गल्ती गरेका छौं । समावेशी प्रतिनिधित्व संविधानमा लेखेर मात्रै हुँदो रहेनछ, नेतृत्वको दृढ इच्छाशक्ति भयो भने संविधानमा नलेखे पनि हुँदो रहेछ भन्ने उदाहरण २०१५ सालको संसदीय निर्वाचन र २०१६ को मन्त्रिमण्डललाई लिन सकिन्छ,' न्यौपानेले भनिन्, 'पहिलो आम निर्वाचनपछिको १९ सदस्यीय मन्त्रिमण्डलमा छ जनजाति, दुई मधेसी, थारु र महिला एक/एक जना हुनुहुन्थ्यो ।'

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले सुदूरपश्चिमका द्वारिकादेवी ठकुरानीलाई मन्त्री बनाएको स्मरण गर्दै न्यौपानेले वर्तमान मन्त्रिपरिषद् गठनमा त्रुटि भएको बताइन् । राजनीतिक स्थिरताका लागि वर्तमान सरकार गठन भएको उल्लेख गर्दै उनले सरकारले जनताको आशाअपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरिन् । 

गठबन्धन बन्नु राम्रो भए पनि समावेशी मन्त्रिपरिषद् गठन हुन नसकेको उनको भनाइ थियो । जनताले जहिल्यै पनि राजनीतिक स्थिरता चाहेकाले संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार गठन गरेको उनको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully