'हामीलाई मध्यरातमा खुफिया एजेन्सीहरूका प्रमुखलाई बोलाएर गोप्य मन्त्रणा गर्नु छैन'
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आफ्नो अभिव्यक्तिलाई लिएर संसद्मा झुट बोलिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद वाग्लेले रास्वपाविरुद्ध भ्रष्टाचार र असक्षमताको आरोप लगाउने ठाउँ नरहेको अवस्थामा अराष्ट्रिय तत्व बनाउन खोजेको भन्दै आपत्ति जनाएका हुन् ।
अमेरिकी राष्ट्रपति जेम्स मनरोको विदेश नीतिबारे विगतमा आफूले बोलेको विषयलाई सत्तापक्षका सांसदले बंग्याएर प्रस्तुत गरेको सांसद वाग्लेको भनाइ थियो । 'अतिरञ्जनाको खेती गर्न खोजिरहेका छौं कि यथार्थ वा तथ्यमा टेकेर बहस गरिरहेका छौं ? भन्ने कुरा आफै स्वयंसिद्ध हुन्छ,' भन्दै उनले अहिलेको अवस्थामा मनरोको विदेश नीति 'मनरो डक्टरिन' सान्दर्भिक नरहेको तर त्यसको मर्म भने सान्दर्भिक रहेको स्पष्ट पारे ।
नेपालले छिमेकी शक्ति राष्ट्रहरूबाट आर्थिक लाभ लिनुपर्ने कुरा बुझ्नुपर्ने बताए । उदयीमान शक्ति राष्ट्रहरूले छिमेक नीतिमा प्रभाव राख्ने र नेपालले भारतको 'छिमेक प्रथम' नीति र एक चीन नीति मान्दै आएको पनि स्मरण गराए ।
वाग्लेले विगतमा दिएको अभिव्यक्तिलाई लिएर एमालेका सांसद रघुजी पन्तले संसद्मा अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई सांसद वाग्लेले भने, 'विषयान्तर गर्ने, कुरो नबुझ्ने, बुझे पनि बुझ पचाउने र हाकाहाकी झुट बोल्ने ।'
रास्वपाका सांसदहरूलाई कुनै आक्षेप लगाउन नसकेपछि यस्तो गतिविधि भइरहेको सांसद वाग्लेको भनाइ थियो । 'रास्वपाका युवा सांसदहरू २१ मा १९ जना ५० वर्ष मुनिका छौं । युवा शक्ति छ, विदेशमा पढेका, अनुभव हासिल गरेका यिनीहरूलाई भ्रष्टाचार, अक्षमताको त आरोप लगाउन सक्नुहुन्न, पञ्चायतकालीन स्मरण गर्दै अराष्ट्रिय तत्वको भाष्य निर्माण गर्नु खेदजनक छ । त्यसलाई हामी डटेर सामना गर्छौं,' वाग्लेले भने ।
पुराना राजनीतिक दलहरूले राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद नअपनाएको पनि वाग्लेको भनाइ थियो । 'राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकको रूपमा नेपाल रहने थिएन । चीन ३५ वर्ष अगाडि ३३३ डलरबाट १३ हजार डलर पुगेको छ, प्रतिव्यक्ति आय । नेपाल १८५ बाट १३०० मा गएर अड्किएको छ,' वाग्लेले भने, 'दशौं लाख युवाहरू बाहिर गएका छन्, चरम नैराश्य छ । त्यसैले यो सबै कस्तो खालको राष्ट्रवादको अभ्यासले तपाईंहरूले नेपाललाई त्यहाँ पुर्याउनुभयो ? हामी छिमेकको राष्ट्रहरूको उन्नयन, प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण्ण राख्दै आर्थिक लाभ लिने हाकाहाकी संवाद गर्ने, आँखामा आँखा जुधाएर कुरा राख्ने हो ।'
भारतका प्रधानमन्त्रीलाई नेपालको संसद्मा भनेका योजनाले गति नलिएको, विदेशमन्त्री जयशंकरलाई नेपालमा नाकाबन्दी गर्नु गलत भएको स्पष्ट रूपमा भनेको वाग्लेले स्मरण गरे । त्यस्तै चीनका मन्त्रीहरूलाई एयर कनेक्टिभीटीमा किन चुक्यौं भनेर स्पष्ट धारणा राखेको बताए । अर्को महिना १२ सदस्यीय रास्वपा डेलिगेसन चीन जान लागेको र त्यहाँ आमनेसामने बहस गर्ने पनि उनले बताए ।
'हामीलाई मध्यरातमा खुफिया एजेन्सीहरूका प्रमुखलाई बोलाएर गोप्य मन्त्रणा गर्नु छैन । कुनै नदीनालाका सन्धि देखाएर राष्ट्रघातको जगमा पार्टी नै फुटाउने दुस्साहस गर्नु छैन । हामी नयाँ कूटनीति र नयाँ राजनीतिको संस्कार बसाल्न आएका छौं र त्यसमा सबैलाई स्पष्टसित कुराहरू भन्छौं,' उनले भने, 'अरुको राष्ट्रवाद कागज र भाषणमा होला, मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ ।'
नयाँ शक्तिलाई गलाउने झुकाउने दुस्साहत नगर्न आग्रह उनले गरेका थिए ।
