कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौँ — कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०:४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले कान्तिपुरलाई जानकारी दिइन् । 

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । उपमेयर शाक्यले भनिन्, 'लामो समयदेखि डायलसिस गराउँदै आउनु भएको थियो । पछिल्लो १ महिनायता समस्या अलि बल्झिएको हो ।'

श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिने पनि उपमेयर शाक्यले बताइन् ।

नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । वामपन्थीहरूको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिकामा पहिलो पटक एमाले 'क्लिन स्विप' भएको थियो । २०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका नकर्मी मेयरमा निर्वाचित भएका थिए ।

कीर्तिपुरको मेयर तथा उपमेयर मात्रै नभएर १० वटा मध्ये ९ वडाध्यक्ष कांग्रेसका उम्मेदवारहरू विजयी भएका थिए । वडा नम्बर ४ मा भने स्वतन्त्र उम्मेदवार दिनेशचन्द्र दाहाल निर्वाचित भएका थिए।

कीर्तिपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष नरेश महर्जनका अनुसार २०४६ सालको जनआन्दोलनमा नकर्मीले सक्रिय भूमिका खेलेका थिए । त्यस्तै २०६२/०६३ दोस्रो जनआन्दोलनमा पनि उनको सक्रिय सहभागिता रहेको कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महर्जनले बताए । उनले भने, '०४६ र ०६२/०६३ को आन्दोलनमा उहाँको सक्रिय भूमिका थियो । उहाँकै राजनीतिक कुशल नेतृत्वका कारण कांग्रेसले कीर्तिपुरमा गत स्थानीय चुनावमा मेयरसहित ९ वटा वडामा जित हासिल गरेको हो ।'

२०२० साल असार २० गते जन्मिएका नकर्मी काठमाडौं जिल्ला कांग्रेस समितिका उपसभापतिसमेत हुन् । नकर्मीमा श्रीमती, १ छोरी र १ छोरा रहेका छन् ।

प्रकाशित : श्रावण ११, २०८१ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×