कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

सिमलताल दुर्घटना : त्रिशूलीमा बस र यात्रु खोज्न भारतीय टोली

श्रावण ६, २०८१
सिमलताल दुर्घटना : त्रिशूलीमा बस र यात्रु खोज्न भारतीय टोली

Highlights

  • हराएका ६२ जनामध्ये शनिबारसम्म २५ शव फेला, १८ शवको मात्रै सनाखत 

चितवन — अघिल्लो शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुईवटा बस र त्यसमा सवार यात्रुको खोजी गर्न शनिबार चार गोताखोरसहित १२ जनाको भारतीय टोली चितवन आइपुगेको छ ।

पानीभित्र खोजतलास गर्ने तीनवटा सोनार क्यामरासहित आएका उनीहरूले आइतबार बिहानबाट दुर्घटनास्थल सिमलतालदेखि खोजी सुरु गर्ने भएका छन् । भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरएफ) का प्राविधिकसहितको टोली खोजीमा आएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । टोलीले ल्याएको सोनार क्यामराले ३० मिटर गहिराइसम्मको वस्तु संकेत गर्न सक्ने प्रजिअ यादवले बताए ।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिंदुरेगैराको लेदोसहितको पहिरोमा बगेर गत असार २८ देखि दुईवटा बस र यात्रु हराइरहेका छन् । घटनाकै दिनदेखि खोजीमा सेना र सशस्त्र प्रहरीको गोताखोर टोली प्रविधिसहित निरन्तर खटेको छ । नेपाली टोलीले तीन सय मिटरसम्मका वस्तु संकेत गर्ने क्षमता भएको सोनारसमेत प्रयोग गरेर खोज्दा पनि बस पत्ता लागेको छैन । भारतीय टोली अनुभवी भएका कारण केही न केही नतिजा आउने अपेक्षा गरेको एक सुरक्षा अधिकारीले बताए ।

भैरहवा हुँदै शनिबार दिउँसो आएको भारतीय टोलीले सुरुमा चितवन जिल्ला प्रशासनमा सुरक्षा निकाय अधिकारीसँग छलफल गरेको थियो । उक्त छलफलपछि उक्त टोली नारायणगढबाट २३ किलोमिटर पर रहेको सिमलताल कटेर कुरिनटारतिर लागेको थियो । कुरिनटारमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय रहेको छ । सोही शिक्षालयमा बसेको भारतीय टोलीले आइतबार बिहानदेखि मात्रै खोजी सुरु गर्ने योजना बनाएको शिक्षालयका सहसमादेशक रहेका सशस्त्रका एसपी जनक पुरीले बताए ।

प्रजिअ यादवका अनुसार भारतीय टोलीले घटनास्थलदेखि तल सम्भावित सबै स्थानमा कम्तीमा सात दिनसम्म खोजी गर्नेछ । पहिरोमा परेर हराएका दुई बसमा ६५ यात्रु थिए । जसमध्ये एक बसका तीन यात्रुले पौडिएर ज्यान जोगाएका थिए ।

बससँगै हराएका ६२ जनामध्ये सुरक्षा टोलीले शनिबार साँझसम्म २१ पुरुष र ४ महिला गरी २५ शव फेला पारेको छ । जसमा १८ शवको मात्रै सनाखत भएको छ । शवहरू घटनास्थलभन्दा निकै तल १ सय ३ किमि पर रहेको नारायणी नदीको तट र भारतीय क्षेत्रहरूमा समेत फेला परेपछि चितवन प्रशासनले शवको खोजीमा भारत उत्तरप्रदेश राज्यको माहारागन्ज र बिहारको पश्चिम चम्पारण जिल्लाका अधिकारीसँग पनि समन्वय गरेको छ । हराइरहेका दुई बसमा रहेका ९ जना भारतीयमध्ये ५ जनाको शव फेला परेको छ ।

प्रकाशित : श्रावण ६, २०८१ ०५:५८
x
×