सेयर बजार २७ महिनायताकै उच्च

२ हजार बिन्दुभन्दा तल रहेको नेप्से परिसूचक पछिल्लो दुई सातामै करिब ४ सय अंकले बढ्यो

श्रावण ४, २०८१

यज्ञ बञ्जाडे

Stock market hits 27-month high

काठमाडौँ — उच्च अंकले सेयर बजार उकालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएपछि नेप्से परिसूचक पछिल्लो २७ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । नेप्से झन्डै ६० अंकले बढ्दा २ हजार ४ सय २४.३२ बिन्दुमा पुग्यो । यसअघि ०७८ चैत अन्तिम साता नेप्से २ हजार ४ सय २० नजिक थियो । त्यसयता निरन्तर घटेर १ हजार ८ सय हाराहारीमा झरेको नेप्से फेरि उकालो लागिरहेको छ । 

नेप्से परिसूचक पछिल्लो दुई सातामा करिब ४ सय अंक बढिसकेको छ । एक महिनायता बजारले वृद्धिका संकेत देखाए पनि गति समात्न सकेको थिएन । तर पछिल्ला १४ वटा कारोबार दिनमा नेप्से करिब ४ सय अंक बढेर बिहीबारसम्म २ हजार ४ सय २४.३२ बिन्दुमा पुगेको हो । 

सेयर बजारको यो वृद्धिलाई नयाँ सरकारसँग जोडेर विश्लेषण गर्न थालिएको छ । खासगरी गत असार १७ को राति नयाँ गठबन्धन बनाउने विषयमा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएपछि सेयर बजारको वृद्धि हेर्दा उक्त विश्लेषण सही पनि देखिन्छ । 

प्राविधिक रूपमा हेर्दा उक्त विश्लेषण शतप्रतिशत सही नदेखिएला । तर आधारभूत रूपमा हेर्दा नकार्ने ठाउँ देखिन्न । किनकि गत असार १७ मा (कांग्रेस र एमालेबीच सहमति भएको दिन) २ हजार ५३.३८ विन्दुमा रहेको नेप्से बिहीबारसम्म २ हजार ४ सयभन्दा माथि पुगेको छ । यस अवधिमा भएका १४ कारोबार दिनमध्ये दुई दिन नेप्से घटेको छ भने १२ दिन बढेको छ ।

दुई दिनमा नेप्से करिब २२ अंक घट्दा १२ दिनमा नेप्से ४ सय ८ अंक बढेको छ । उक्त अवधिमा नेप्से एक दिन मात्र एकल अंकले बढेको छ भने बाँकी ११ दिन दोहोरो अंकको वृद्धि छ । अझ पछिल्ला चार कारोबार दिनमा औसतमा नेप्स ६० अंकभन्दा धेरैले बढेको छ । यसकारण पनि सेयर बजारको यो वृद्धिलाई नयाँ सरकारको आगमनसँग जोडेर हेरिएको जानकार बताउँछन् । 

एमाले र कांग्रेस मिलेर नयाँ सरकार बन्ने र विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लासँगै सेयर बजार निरन्तर उकालो लाग्नु संयोग मात्र भएको जानकारहरूको तर्क छ । किनकि नयाँ सरकार आएयता बजारसँग सम्बन्धित न कुनै नीति आएको छ न सम्बोधन नै भएको छ । ‘ब्याजदर यसअघि नै घटिसकेको थियो, पर्याप्त तरलता रहेकाले बैंकहरूले लगानीकर्तालाई डाक्दै कर्जा दिनुपर्ने अवस्था बनिसकेको थियो । तर पनि लगानीकर्ताको आत्मविश्वास बढ्न सकेको थिएन,’ स्रोतले भन्यो, ‘अहिले एकातिर नयाँ सरकार र अर्कोतिर राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याउने हल्लाले बजारमा सकारात्मक संन्देश प्रवाह गरेको हो ।’ यद्यपि बजार दिगो रूपमा बढ्नुको भरपर्दो कारण नरहेको स्रोतको दाबी छ । 

सरकारले सेयर बजारलाई सन्तुलित र मर्यादित ढंगले अघि बढाउन, बजारका समस्या सुन्न र समाधान गर्न चाहेकाले लगानीकर्ता उत्साहित देखिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको दाबी छ । ‘हामी सेयर बजारका प्रति सन्तुलित र सही दृष्टिकोणका साथ प्रस्तुत हुन चाहन्छौं । यही कारण सेयर बजारले हामीलाई पत्याएको देखिन्छ,’ उनले भने, ‘यिनीहरूले गल्ती गर्दैनन्, ठीक प्रकारका नीति लिएर अघि बढ्छन् भन्ने विश्वास लगानीकर्ताहरूमा भएकाले बजारमा सकारात्मक प्रभाव परेको हो । यसलाई हामीले सरकारप्रति नागरिकको विश्वासका रूपमा लिएका छौं ।’ 

अहिले ६३ लाखभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा सेयर बजारसँग जोखिएकाले पसिन यो क्षेत्रको सन्तुलित विकास गर्नुपर्नेमा सरकार प्रस्ट रहेको उनको दाबी छ । ‘केहीले सेयर बजार जुवा घर हो भनेर पनि विश्लेषण गरेको सुनियो । यसले एक प्रकारको नकारात्मक सन्देश दियो । तर यो सरकार सेयरप्रति असन्तुलित अभ्यास, असन्तुलित विश्लेषण, असन्तुलित दृष्टिकोण राख्दैन,’ उनी भन्छन्, ‘सेयर बजारलाई परिपक्व ढंगले प्रवर्द्धन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसप्रकारका हाम्रा सोच र नीति छन् । हामी सन्तुलित ढंगले सेयर बजारलाई अघि बढाउन चाहन्छौं । लगानीकर्ताको लगानी नडुबोस् भन्न चाहन्छौं ।’ नीतिगत रूपमा त्यस हिसाबले सहजीकरण गर्न चाहनेभएकाले सरकारले अवलम्बन गरेको यो सोच र विश्लेषणसँग लगानीकर्ता आश्वस्त भएको आफूहरूले पाएको उनको दाबी छ । 

यसअघि ०७८ भदौ २ मा नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु (३ हजार १ सय ९९) मा थियो । नेप्सेको त्यसभन्दा अघिल्लो उच्च बिन्दु ०७२ साउन १२ मा थियो । त्यति बेला नेप्से परिसूचक १ हजार ८ सय ८१ बिन्दुमा पुग्दा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो । त्यसयता घटेको बजार पुनः बढेर ०७८ भदौ २ मा नेप्से परिसूचक र बजार पुँजीकरण दुवै हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनेको थियो । पछिल्ला केही दिनयता बिनाकारण सेयर बजारमा बढोत्तरी देखिएकाले संयमित हुन नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरीले बताए ।

‘पछिल्ला एकदुई सातायता सेयर बजार यति धेरै बढिहाल्नुपर्ने कुनै कारण थिएन । यस अवधिमा वित्तीय अवस्था राम्रो नभएका कम्पनीहरूको पनि सेयर मूल्य आधारबिनै बढेको छ,’ उनले भने, ‘यसकारण हल्लाको पछि नलागी कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग विश्लेषण गरेर मात्र लगानी निर्णय गर्न लगानीकर्तालाई आग्रह गर्दछु ।’ 

सेयरमूल्य बढ्ने कम्पनीको अवस्था हेर्दा नेटवर्थ ऋणात्मक भएका कम्पनीको सेयर मूल्य निकै माथि पुगेकाले जोखिम बढेको प्रस्ट हुन्छ । लामो समयदेखि बढ्न नसकेको बजार बढ्नु नराम्रो होइन । तर यस्तो अवस्थामा चलखेलको सम्भावना पनि धेरै हुने भएकाले लगानीकर्ताले संयमित भएर लगानी निर्णय गर्नुपर्ने उनले बताए ।

बिहीबार कुल १ सय ४४ कम्पनीको सेयर मूल्य बढ्यो भने ९५ कम्पनीको मूल्य घट्यो । बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर किनबेच भयो । एकैदिन १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि गत ०७८ भदौ १३ गते १५ अर्ब ६५ करोडको सेयर कारोबार भएको थियो । बिहीबारको कारोबार त्यसयताकै उच्च हो । बुधबार भने १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँको सेयर कारोबार भएको थियो ।

केही महिनाअघिदेखि नै ब्याजदर लगातार घटिरहेको थियो, बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहँदा पनि बजार बढ्न नसकिरहेको बेला अहिले नयाँ सरकार बनेको र लचिलो मौद्रिक नीतिको हल्लाले नेप्सेको वृद्धिमा टेवा पुगेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले बताए । ‘बजारलाई प्रभावित पार्ने मुख्य कुरा पैसा (सेयर कर्जा) र ऋणको ब्याजदर हो । जुन पहिलेदेखि नै बजारका लागि अनुकुल हुँदा पनि लगानीकर्ताको आत्मविश्वास बढ्न सकेको थिएन,’ उनले भने, ‘ती पूर्वाधार सहज भएको अवस्थामा नयाँ सरकार र बजार अनुकूल मौद्रिक नीति आउने हल्लाले काम गरेको हो ।’ 

बजारमा अस्वाभाविक कारोबार नदेखिएको, ब्याजदर अझै घट्ने सम्भावना रहेको, बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाका लागि लगानीकर्तालाई आग्रह गरिरहेको, नयाँ कम्पनीहरू सूचीकृत नभएकाले आपुर्ति नबढेकालगायत कारण अझै केही दिन सेयर बजार बढ्ने संकेत देखिएको रानाभाटले जनाए । 

उपप्रधान तथा अर्थमन्त्रीले सेयर बजार सम्बन्धमा सरकार जिम्मेवार रहेको दाबी गरे पनि व्यवाहारमा त्यस्तो देखिँदैन । सरकारले करिब ७ महिनासम्म धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न सकेको छैन । अध्यक्षका उम्मेदवार विवाद पुरानो गठबन्धन भत्किनुको कारक मानिएको छ । ऐन कानुनले व्यवस्था गरेको लगानीकर्ता सुरक्षण कोषलगायत धेरै पूर्वाधारहरू स्थापना हुन सकेका छैनन् । गत पुस यता धितोपत्रका निष्काशनका सम्पूर्ण अनुमति ठप्प छ । बोर्ड अध्यक्षविहीन हुँदा न प्रभावकारी अनुगमन भएको छ न दोषीलाई कारवाही नै । यसकारण अहिले बजारको वृद्धिका भरपर्दा कारण नदेखिएकाले निकै संयमित भएर सेयर कारोबार गर्न विज्ञहरूले सुझाएका छन् ।

यसैबीच अर्थमन्त्री पौडेलले नेपाल धितोपत्र बोर्डको अध्यक्ष परिवर्तन गरेका छन् । धितोपत्रसम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भए अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डमा अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था छ । सोहीअनुसार यसअघि नरेन्द्र रानाले बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । अर्थ मन्त्रालयले बिहीबार रानाको ठाउँमा सहसचिव महेश बराललाई बोर्डमा पठाएको छ । बरालले बिहीबार अर्थमन्त्री पौडेलसमक्ष बोर्डको अध्यक्षमा पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालिसकेका छन् ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully