कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

दुई दिनपछि खुल्यो सीमाक्षेत्र जोड्ने खाग्दल सडक खण्ड

श्रावण ३, २०८१
दुई दिनपछि खुल्यो सीमाक्षेत्र जोड्ने खाग्दल सडक खण्ड

सिन्धुपाल्चोक — चीनसँग जोड्ने बाह्रबिसे तातोपानी (२६ किलोमिटर) मध्ये बेलिब्रीज बग्दा अवरुद्ध खाग्दल बजार सडक खण्ड दुई दिनपछि बिहीबारबाट खुलेको छ । 

सोमबार राति खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि पारि जोड्ने सडक सर्म्पक टुटेको थियो ।तत्काल यातायात आउजाउ गर्नका लागि ह्युमपाइप राखेर अस्थायी रुपमा सडक सञ्चालनमा ल्याइएको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए । खाग्दल खोलाले हुत्याएर तल पुर्‍याएको बेलिब्रीज उचालेर ल्याउने प्रयास पनि गरिएको थियो । जसका लागि सिल्क ट्रान्सपोर्टले दुई वटा क्रेन सहयोग गरेको थियो । 'त्यो संम्भव भएन, तैपनि नगरकै सक्रियतामा यो राजमार्ग खुलेको छ, स्थानीय खुशी भएका छन्,' मेयर बस्नेतले भने । अब दिर्घकालीन हुने गरी चाँडै बेलिब्रीज जडान गर्ने कामको तयारी भइरहेको उनले प्रस्ट्याए ।

ह्युमपाइपबाट चलेको यातायात वर्षात् बढेमा नटिक्ने भएकाले स्थानीय निराश छन् । बाढीले बेलिब्रीज बगाएसँगै आसपासका आधा दर्जन घरटहरामा क्षति पुर्‍याएको थियो । ०७७ असार २५ मा अविरल वर्षातकै कारण खाग्दल र भोटेकोसीमा आएको बाढीले यहाँको पुरानो मोटरेबल पुल बगाएसँगै दुई दर्जन परिवार विस्थापित बनेका थिए भने त्यतिबेला काभ्रे र एल्मो ठाडो खोलाले थुनेपछि बाह्रबिसे ५ गाती जम्बु बजारका १६ जना बेपत्ता भएका थिए । त्यसको केही समयपछि हालिएको यो बेलिब्रीज सोमबार बगाएपछि सबै हताश बनेका छन् ।

प्रकाशित : श्रावण ३, २०८१ १६:१९
x
×