कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

दुई वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छ : मन्त्री दाहाल

श्रावण ३, २०८१
दुई वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छ : मन्त्री दाहाल

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रतिनिधिसभाको बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताएका छन् । 

६२ औँ इन्जिनियर दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताए । उनले नेपाली कांग्रेस र नेकपा(एमाले)का बीचमा भएको सहमतिका आधारमा संसद्को बाँकी रहेको कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारे ।

कांग्रेस र एमालेका बीचमा भएको सहमति नलुकाइएको मन्त्री दाहालको दाबी थियो । ‘मान्छेहरूको आकांक्षा बढेको देखेको छु । मान्छेहरूमा केही आशावादिता पलाएको देखेको छु । त्यो कोही प्रधानमन्त्री वा मन्त्री भएर मात्रै पनि होइन होला । अब अलिकति स्थायित्व आउने भयो भनेर सबै क्षेत्रमा उत्साह आएको छ । शंकाको सुविधा हामीले सबैलाई दिनुपर्छ । यो अन्तिम हो किनभने दुईवटा ठूला दल मिलेर सरकार बनेको छ । अब यहाँभन्दा हुने त केही छैन । ५/७ वटा दल मिलेर सरकार बन्दाखेरी कहिले सरकार ढल्ने हो ? त्यही भए पनि राखेको छ । कुनै सरकार तीन महिनासम्म चल्ने, कुनै चार महिनासम्म चल्ने,' मन्त्री दाहालले भने, 'हामीले एउटा प्रतिबद्धता गरौँ भनेर दुईवटा ठूला दलहरू र यो खुला पनि छ । पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन । अघिल्लो दुई वर्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ । त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ ।'

मन्त्री दाहालले मुलुकलाई राजनीतिक स्थायित्व दिन खोजिएको बताए । यो सरकार र गठबन्धन सफल बनाउन लागिपरेको उनको भनाइ थियो । वर्तमान गठबन्धनलाई असफल हुने छुट नभएको उनको भनाइ थियो ।

प्रकाशित : श्रावण ३, २०८१ १६:०९
x
×