दुई वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छ : मन्त्री दाहाल

श्रावण ३, २०८१

कान्तिपुर संवाददाता

It is agreed that Oli will be the prime minister for two years and Deuba will be the prime minister for the rest of the term: Minister Dahal

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रतिनिधिसभाको बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताएका छन् । 

६२ औँ इन्जिनियर दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताए । उनले नेपाली कांग्रेस र नेकपा(एमाले)का बीचमा भएको सहमतिका आधारमा संसद्को बाँकी रहेको कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारे । 

कांग्रेस र एमालेका बीचमा भएको सहमति नलुकाइएको मन्त्री दाहालको दाबी थियो । ‘मान्छेहरूको आकांक्षा बढेको देखेको छु । मान्छेहरूमा केही आशावादिता पलाएको देखेको छु । त्यो कोही प्रधानमन्त्री वा मन्त्री भएर मात्रै पनि होइन होला । अब अलिकति स्थायित्व आउने भयो भनेर सबै क्षेत्रमा उत्साह आएको छ । शंकाको सुविधा हामीले सबैलाई दिनुपर्छ । यो अन्तिम हो किनभने दुईवटा ठूला दल मिलेर सरकार बनेको छ । अब यहाँभन्दा हुने त केही छैन । ५/७ वटा दल  मिलेर सरकार बन्दाखेरी कहिले सरकार ढल्ने हो ? त्यही भए पनि राखेको छ । कुनै सरकार तीन महिनासम्म चल्ने, कुनै चार महिनासम्म चल्ने,' मन्त्री दाहालले भने, 'हामीले एउटा प्रतिबद्धता गरौँ भनेर दुईवटा ठूला दलहरू र यो खुला पनि छ । पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन । अघिल्लो दुई वर्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ । त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ ।'

मन्त्री दाहालले मुलुकलाई राजनीतिक स्थायित्व दिन खोजिएको बताए । यो सरकार र गठबन्धन सफल बनाउन लागिपरेको उनको भनाइ थियो । वर्तमान गठबन्धनलाई असफल हुने छुट नभएको उनको भनाइ थियो ।   

कान्तिपुर

Link copied successfully