कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एउटै मन्त्री पनि उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

एउटै मन्त्री पनि उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ — प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित भएको छ । बैठक संचालन रहेको बेला मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था रहे पनि एक जना मन्त्री पनि उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । 

अपराह्न ४ बजेका लागि बोलाइएको बैठक साढे ५ बज्नै लाग्दा मात्र सुरु भएको थियो । बैठकको सुरुमा नै कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभा बैठक संचालन हुँदा एकजना भए पनि मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने तर हाल नरहेको जानकारी सभामुखलाई गराएका थिए ।

'प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई प्रयोग गर्दै विश्वासको मत लिएर संसद्मा आफ्नो विश्वाव देखाउँछु भनेको कुरा हामीलाई थाहा छ । भोलिका लागि समय मागेको पनि जानकारी भयो,' खतिवडाले सभामुखलाई भने, 'संविधान पालन गर्ने प्रधानमन्त्री, मन्त्रीले संसद् चलेको दिन मन्त्री र प्रधानमन्त्री उपस्थिति हनुपर्छ भन्ने थाहा हुनुपर्दैन ?'

त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ (५) बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको र हाल प्रतिनिधिसभाको बैठकमा मन्त्रीको उपस्थिति नरहेको भन्दै बैठक स्थगित गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि प्रस्ताव राख्नेछन् ।

प्रकाशित : असार २७, २०८१ १७:३७
x
×