कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ओलीले भने - 'पुरानो फोटो', देउवाले स्वीकारे सहमति : दाहाल

ओलीले भने - 'पुरानो फोटो', देउवाले स्वीकारे सहमति : दाहाल

काठमाडौँ — कांग्रेस र एमालेबीच असार १७ गते राति सत्ता साझेदारी गर्ने सहमति भयो । उद्यमी रामेश्वर थापाको घरमा राति १२:१५ बजे कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । उक्त सहमतिपत्र हालसम्म सार्वजनिक भने भएको छैन । 

सहमतिसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार भने अल्पमतमा पर्‍यो । उक्त सहमति भएको भोलिपल्ट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए ।

बालुवाटारमा ओलीसँग भएको संवादबारे दाहालले आफ्ना सांसदहरूलाई बुधबार बसेको संसदीय दलको बैठकमा जानकारी गराएका छन् । दाहालले सांसदहरूलाई सुनाएअनुसार ओलीले कांग्रेससँग केही सहमति नभएको बताएका थिए ।

कान्तिपुरलगायतका संचारमाध्यमले छापेको आफू र देउवा रहेको तस्बिर पनि पुरानो रहेको ओलीले जिकिर गरेको दाहालले सांसदहरूलाई बताए । 'केही भएको छैन भन्नुभयो । मैले तस्बिर देखाए । त्यो पुरानो फोटो हो भने,' त्यो दिनको संवादबारे दाहालले सांसदहरूलाई सुनाए, 'खेल छोड्नुहोस्, प्रधानमन्त्री चाहिए लिनुहोस् भन्ने प्रस्ताव मैले राखेको थिएँ । '

ओलीले सहमति भएको कुरा अस्वीकार गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरेको दाहालले बताएका छन् । 'फोनमा कुरा हुँदा शेरबहादुर देउवाले सहमति भएको स्वीकारे,' दाहालको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिने पनि सांसदहरूलाई जानकारी गराएका थिए ।

माओवादी सरकार छोड्नुपर्दा पनि उत्साहित देखिएको तर कांग्रेस र एमालेमा सरकार बनाउने बेला पनि उत्साह नदेखिएको दाहालको भनाइ थियो ।

प्रकाशित : असार २६, २०८१ १६:४९
x
×