कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

साउदीमा नेपाली श्रमिकको शव सहमतिबिना दफन

श्रीमती पूजा सोध्छिन् : करेन्ट लागेर भएको दुर्घटनालाई किन प्राकृतिक मृत्यु भनियो ? मलाई नसोधी कसको स्वीकृतिमा शव गाडियो ? दुर्घटनामा मृत्युबापत प्राप्त हुनुपर्ने क्षतिपूर्ति कसले दिन्छ ?
होम कार्की

काठमाडौँ — चारवर्षे छोरालाई सुताइरहेकी २५ वर्षीया पूजा तामाङलाई मध्यरातमा साउदी अरबबाट फोन आयो । फोन श्रीमान् लोकबहादुर सुनुवारको थिएन, जेठाजु पूर्णको थियो । उनी फोनमा रुँदै भनिरहेका थिए, ‘आज साँझ लोकबहादुरलाई करेन्ट लागेछ, बहोस छन्, अस्पतालमा उपचार हुँदै छ ।’

साउदीमा नेपाली श्रमिकको शव सहमतिबिना दफन

त्यो दिन थियो– १९ वैशाख २०८० । वीरगन्ज महानगरपालिका–३२, पर्साका लोकबहादुर दुई वर्षदेखि साउदी अरबको जिजान प्रान्तको वेसस्थित ‘मोडर्न स्टार लाउन्ड्री कार सर्भिसेज’मा कार धुने काम गर्दै आइरहेका थिए । महिनाको एक हजार रियाल पाउँथे । त्यो साँझ १७:४२ बजे गाडी धोई–पखाली मेसिन अफ गर्न खोज्दा लोकबहादुर भुइँमा पछारिए । सहकर्मी देवराज मोक्तान र श्यामबहादुर लोप्चन सँगै थिए । विद्युतीय झड्का लागेर घाइते भएका लोकबहादुरलाई वेस जनरल हस्पिटलमा भर्ना गरियो ।

‘हामी काम गर्दै थियौं, लोकबहादुरले गाडी धोई सकेर बत्ती बन्द गर्न लाग्दा करेन्ट सर्ट भयो, तत्काल भुइँमा ढले,’ सहकर्मी देवराजले पूर्णसँग भने, ‘कपिल (रोजगारदाता) ले एम्बुलेन्समा अस्पताल पठाइदिएका हुन् ।’ कार वासिङका मालिकले पनि पूर्णबहादुरलाई काम गर्दागर्दै ‘इलेक्ट्रिक करेन्ट सर्ट’ भई दुर्घटना भएको जानकारी दिएका थिए ।

पूजाले दुई महिनापछि लोकबहादुर होसमा आएको खबर पाइन् । ‘यो दुई महिना बिताउन मलाई अति कठिन भयो, कति प्रार्थना गरें । भगवान्ले सुने जस्तै लाग्यो,’ पूजाले भनिन्, ‘तर कहिले पनि भिडियोमा हेर्न पाइनँ, साथीहरूले फोटो खिचेर पठाइदिन्थे ।’

सुधार हुने अपेक्षा गरिरहेका बेला पूजाले गत साउन २७ मा श्रीमान्ले संसार छाडेको दुःखद् खबर पाइन् । उनको मनमा शंका भयो, ‘श्रीमान्को अस्पताल भर्नाको कारण र उपचार प्रक्रिया नै रहस्यमय छ ।’ किनभने अस्पतालमा दिइएको मेडिकल रिपोर्टमा मृत्युको कारण दुर्घटना नभई प्राकृतिक (नेचुरल) लेखिएको थियो । सहकर्मी मोक्तान र लोप्चनका अनुसार घटना भइसकेपछि ‘वासिङ सेन्टर’को बनोट नै परिवर्तन गरियो ।

त्यो दिनबाट पूजाका दुःखका दिन सुरु भए । दुर्घटनामा परी मृत्यु भएको प्रमाण कसरी जुटाउने ? मृत्यु प्रमाणपत्रमा ‘नेचुरल’ लेखिएको विषय भन्न कहाँ पो जाने ? छिटो शव कसरी ल्याउने ? उनी लोकबहादुरको मृत्यु प्रमाणपत्र बोकेर स्थानीय सरकारदेखि सांसद हुँदै सिंहदरबारसम्म धाउन थालिन् ।

रोजगारदाता कम्पनीका तर्फबाट साउदीमा सामाजिक बिमाका लागि त्यहाँको ‘रेडक्रेसेन्ट’ प्राधिकरणका निर्देशकले ‘लोकबहादुर काम गर्ने क्रममा इलेक्ट्रिक सर्टमा दुर्घटनामा परी लडेको र क्षतिपूर्ति प्रक्रिया छिटो पूरा गर्न दुर्घटनाको मिति, समय तथा स्थान सहितको यो पत्रको तलको पर्चीमा रिपोर्ट उपलब्ध गराउनुहुन’ भन्ने पत्राचार गरेको थियो । जेद्दास्थित नेपाली महावाणिज्यदूतको कार्यालयबाट जिजानमा रहेको अस्पताल ७ सय किमि टाढा छ । लोकबहादुरको मृत्यु भएको एक महिनापछि भदौ १९ गते महावाणिज्य दूतावासका प्रतिनिधि अस्पताल पुगेका थिए ।

महावाणिज्य दूतावासले लोकबहादुरका ‘स्पोन्सर’ (मालिक) लाई शव छिटो पठाउन अनुवाद प्रमाणीकरण गरिएको मृत्यु प्रमाणपत्र, मेडिकल रिपोर्ट, प्रहरी रिपोर्ट, सामाजिक सुरक्षा र श्रम कार्यालयबाट कन्सुलेटको खातामा भुक्तानी गर्नुपर्ने रकमको रसिद लिएर आउन भनियो । भदौ २४ मा अपूर्ण कागजात लिएर ‘स्पोन्सर’ दूतावास पुगे । कागजात अपूर्ण भएकाले लोकबहादुरको शवलाई नेपाल पठाउन ‘स्पोन्सर’लाई अनुमति मिलेन ।

‘अस्पतालको बिल भुक्तानी र बिमाका कारणले म समस्यामा परें,’ ‘स्पोन्सर’ले दूतावासलाई भने । त्यसपछि ‘स्पोन्सर’ नियमित सम्पर्कमा आउन छाडे । कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेलले असोज १ मा जेद्दास्थित साउदीको परराष्ट्र मन्त्रालयलाई पहिलो पत्र पठाउँदै भने, ‘शवलाई सम्भव भएसम्म चाँडोभन्दा चाँडो नेपाल पठाउन सहजीकरण गर्न अनुरोध गर्दछौं ।’

परराष्ट्रले जिजानको गभर्नर कार्यालयलाई पत्रचार गरेको जानकारी पनि आयो । तर त्यसपछि कुनै जवाफ नआएपछि असोज २४ मा कार्यवाहक महावाणिज्यदूत पोखरेल जिजानको गभर्नर कार्यालय पुगेका थिए । प्रान्तीय गभर्नरको कार्यालयले वेसको स्थानीय गभर्नरको कार्यालयमा पत्र पठाएको जानकारी दिइयो । वेस गभर्नरले पत्र पाइनसकेको बताएको थियो । त्यसपछि जेद्दा फर्किएको महिनौं बित्दा पनि शव पठाउने टुंगो लागेन ।

यता वीरगन्जमा तड्पिएकी पूजा भने श्रीमान्को शव पर्खाइले थप मानसिक पीडामा पर्न थालिन् । केही उपाय नलागेपछि ससुरा नाता पर्ने मकवानपुरका लभकुमार लामाको सहारा लिइन् । रियादमै रहेका जेठाजु पूर्णबहादर पनि दूतावास र कम्पनीका कामको गोलचक्करमै फसे । लामा साउदीबाट आएका कागजातको फाइल बोकेर श्रममन्त्री, वैदेशिक रोजगार बोर्ड, कन्सुलर विभागदेखि परराष्ट्रमन्त्रीसम्म धाउँदै हिँड्न थाले । दौडधुपकै क्रममा कन्सुलर विभागमा पुग्दा एउटा सूचना पाए, ‘लोकबहादुरको शव जिजानमा दफन गरिसकेको (गाडिएको) रहेछ ।’

यो खबरले आफन्त सबै छाँगोबाट खसेजस्तै भए । ‘परिवारको सहमति नभई कसको अनुमतिले शव गाडियो ?,’ लामाले कन्सुलर विभागसमक्ष सोधे, ‘हामीलाई शव पनि चाहिन्छ, क्षतिपूर्ति पनि । हामी उसै पनि अन्यायमा परेका छौं । यो त पीडित परिवारमाथि थप पीडा दिने काम भयो । हामीमाथि ठूलो जालसाजी र प्रपञ्च भयो ।’

उनीहरूले गाडिएको शव निकालेर स्वदेश पठाइदिन कन्सुलर विभागलाई निवेदन दिए । रियादस्थित नेपाली दूतावासले ‘लोकबहादुरको परिवारको जानकारी तथा सहमतिबिना शव गाडिएको विषयको कारण माग्दै क्षतिपूर्ति र शव नेपाल पठाइदिन’ साउदी सरकारको ध्यानाकर्षण गरायो । पटक–पटक साउदीका विभिन्न निकायमा पत्राचार एवं छलफल गरेपछि गत माघमा शव फर्काउने प्रक्रिया अघि बढाइने तर नियमानुसारभन्दा थप कुनै क्षतिपूर्ति प्राप्त नहुने सूचना प्राप्त भयो ।

नेपालको ध्यानाकर्षणपछि साउदी सरकारका सम्बन्धित निकायले लोकबहादुरको शवलाई उत्खनन गर्‍यो । परिवारले क्षतिपूर्ति माग गर्ने तर साउदी पक्ष नियमानुसारबाहेक थप क्षतिपूर्ति नदिने अडानमा रह्यो । यो विषयमा थप प्रगति नभएपछि महावाणिज्य दूतावासले काठमाडौंस्थित साउदीको दूतावासमा सहयोगका लागि समन्वय गर्न पटक–पटक परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्‍यो । तर प्रभावकारी कूटनीतिक पहलकदम नहुँदा पीडित परिवारले उचित क्षतिपूर्ति पाउनबाट वञ्चित हुनुपरेको छ । साउदीले श्रम कार्यालयमार्फत नियमानुसार प्राप्त हुने क्षतिपूर्ति साउदी रियाल ४ हजार ९ सय मात्र दिएको छ । त्यो रकम कन्सुलर सेवा विभागमा आइसकेको छ ।

‘राजदूतावास र महावाणिज्य दूतावास तथा परिवारको जानकारी तथा सहमतिबिना नै शव गाडिएकामा असहमति जनाउँदै मृतकको शव ल्याउने प्रक्रिया तथा नियमानुसार क्षतिपूर्ति प्राप्तिका लागि महावाणिज्य दूतावासले साउदीका विभिन्न निकायसँग प्रक्रिया अगाडि बढाएकामा शवलाई बाहिर निकाली हाल स्थानीय अस्पतालमा राखिएको जानकारी प्राप्त भएको छ,’ गत चैत ५ मा परराष्ट्रमा पठाइएको पत्रमा भनिएको छ, ‘मृत्यु भएको लामो समयसम्म पनि शव नेपाल आउन नसक्दा मृतकका परिवारमा परेको पीडा तथा जानकारी तथा सहमतिबिना नै शव गाडिएकामा अतिरिक्त क्षतिपूर्तिका लागि अनुरोध गरिएकामा जेद्दास्थित साउदीको परराष्ट्र मन्त्रालयबाट त्यसको क्षतिपूर्ति प्राप्त नहुने जानकारी प्राप्त भएको छ ।’

पीडित परिवारले दुर्घटनाको पनि क्षतिपूर्ति नपाउने भएको छ । बिमाका लागि प्रक्रिया अगाडि बढाउन सम्बन्धित कम्पनीलाई अनुरोध गरिएकामा निधनको कारण दुर्घटना पुष्टि नभएको र मेडिकल रिपोर्टमा मृत्युको कारण प्राकृतिक (नेचुरल) उल्लेख भएकाले उक्त प्रक्रियासमेत स्वीकृत हुन सकेन । तर पीडित परिवार मृत्युको छानबिन नभएसम्म शव बुझ्ने पक्षमा छैनन् । साउदी पक्षबाट भने शव पठाउन ताकेता भइरहेको छ ।

‘हामी ठूलो मानसिक तनाबबाट गुज्रिनुपर्‍यो, काम गर्दैगर्दाका क्रममा अकस्मात् दुर्घटनामा परी भएको मृत्युलाई प्राकृतिक बनाउनु भनेको क्षतिपूर्ति रकम नदिने ठूलो जालसाजी हो,’ पूजाले नेपाल र साउदी सरकारसँग प्रश्न गरेकी छन्, ‘घटना घट्दाको सीसीटीभीको फुटेज, प्रत्यक्षदर्शीको राय, अस्पतालको सक्कल कागजात कहाँ छ ? करेन्ट लागेर भएको दुर्घटनालाई किन प्राकृतिक मृत्यु भनियो ? मलाई नसोधी कसको स्वीकृतिमा शव गाडियो ? दुर्घटनामा मृत्युबापत प्राप्त हुनुपर्ने क्षतिपूर्ति कसले दिन्छ ? साउदीबाट आएको चार हजार रियाल लिएर श्रीमान्को शव बुझ्न सक्तिनँ, दोषी पत्ता लगाइनुपर्छ ।’

प्रकाशित : असार २५, २०८१ ०५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×