अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन शर्माको माग 

असार ४, २०८१

कान्तिपुर संवाददाता

Sharma's demand to bring informal sector workers under the scope of social security fund

काठमाडौँ — कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समय माग गरी सांसद शर्माले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारसँग माग गरेका हुन् ।

उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भनेपनि सरकारले आफ्नो दायित्व निर्वाह नगरेको बताए । उनले सरकारले तिरिदिनु पर्ने १ हजार १४ रुपैयाँ नछुट्याइएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

‘बजेटमा सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको योजनामा आबद्ध गर्ने भनेको छ, तर म गम्भीर रुपमा प्रश्न पनि उठाउन चाहन्छु, आबद्ध गर्ने पनि भन्नुभएको छ तर त्यो सरकारले जम्मा गरिदिनु पर्ने एक हजार १४ रुपैयाँको छुट्याइएको छैन,' सांसद शर्माले भने, 'म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु, अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्ने भन्ने हाम्रो जे व्यवस्था छ र संविधानको धारा ३४ ले जे भन्छ, त्यो दिशामा सरकारले गम्भीर पहलकदमी गरोस् । नेपालका सबैखाले ट्रेड युनियन र सरोकारवालासँग संवाद गरिराखेर, इनार सफा गर्दागर्दै मर्नु नपर्ने यो देशमा अवस्था बनाउनका लागि सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद शर्माले अनौपचारिक क्षेत्रका श्रमिकको आयको सुरक्षा, जीवनको सुरक्षा र सामाजिक सुरक्षा अलपत्र अवस्थामा रहेको बताए । 

कान्तिपुर

Link copied successfully