रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड : ओमविक्रम विष्टलाई दीर्घसाधना सम्मान

१२ औं इन्डियन आइडल पवनदीपले दिए आधा घण्टाको आकर्षक प्रस्तुति

असार १, २०८१

कान्तिपुर संवाददाता

Radio Kantipur National Music Award: Om Vikram Bista's long-sought honor

काठमाडौँ — नेपालका पप सम्राट भनेर चिनिएका गायक ओमविक्रम विष्टलाई रेडियो कान्तिपुरद्वारा आयोजित ‘नेसनल म्युजिक अवार्ड्स २०८०’ को दीर्घसाधना सम्मान प्रदान गरिएको छ । पाँच दशकदेखि पप विधामा बिताएका विष्टले नेपालमा अनप्लग रेकर्डिङ पनि भित्र्याएका हुन् । उनको सांगीतिक योगदानको कदर गर्दै उक्त सम्मान दिइएको हो ।

‘यो सम्मान पाएर म अत्यन्त हर्षित छु,’ ७३ वर्षे विष्टले सम्मान थाप्दै खुसी व्यक्त गरे । उनको सम्मानमा गायक सुरजकुमार थापाले विष्टको अत्यधिक रुचाइएको गीत ‘म मौनतामा...’ समर्पित गर्दै गाएका थिए । गायक थापासँगै गायिका चाँदनी शाक्यले ‘चञ्चले...’ गीत प्रस्तुत गर्दा गायक विष्ट स्वयं स्टेज चढेर गायनमा साथ दिएका थिए । विष्टले त्यसपछि ‘को हो त्यो जसले मलाई...’ गाइरहँदा कार्यक्रममा उपस्थित दर्शक पनि झुमेका थिए ।

१३ विधामा प्रदान गरिएको अवाडर््समा २०७९ साउनदेखि २०८० असारसम्म प्रसारण भएका गीतलाई मूल्यांकनको आधार बनाइएको थियो । उत्कृष्ट ‘नवगायक/नव गायिका’ को अवार्ड ‘ए रात’ बाट गायक सुरेश ढुंगानाले जिते । उत्कृष्ट रचनाकारतर्फ ‘के लत बस्यो’ का लागि प्रदीप मैनालीले अवार्ड उचाले । तिलकसिंह पेलाको स्वर तथा संगीतमा रहेको उक्त गजल गतवर्ष निकै रुचाइएको थियो । 

उत्कृष्ट संगीतकारतर्फ ‘ढुंगा जस्तो’ बोलको गीतबाट महेश खड्काले अवार्ड पाए । जसमा सुवास चन्द्रको शब्द तथा गायक प्रमोद खरेलको आवाज रहेको छ । 

त्यसैगरी, उत्कृष्ट लोक दोहोरी गायिकाको अवार्ड ‘माझी दाइ’ बाट शान्तिश्री परियारले जितिन् । नेत्र अर्यालको शब्द रहेको यस गीतमा खेम सेञ्चुरीको संगीत छ । लोक गायकतर्फ भने ‘सकम्बरी’ बाट प्रकाश सपुत उत्कृष्ट ठहरिए । सपुतले यस विधामा मनोनयनमा परेका प्रकाश दुतराज, राजु परियार, खेम सेञ्चुरी, राजु ढकाललाई पछि पार्दै अवार्ड हात पारेका हुन् । पार्श्व गायिकातर्फ बेनिशा पौडेलले ‘नाइँ नभन्नु ल ६’ फिल्मको ‘दिउँला माया...’ बोलको गीतबाट प्रतिस्पर्धामा रहेका शहिमा श्रेष्ठ, सदिच्छा कट्टेल, निकिता थापा र रचना रिमाललाई पछि पार्दै नेसनल म्युजिक अवार्ड जितेकी हुन् । पार्श्व गायकतर्फ एसडी योगीले फिल्म ‘महापुरुष’ मा गाएको ‘बेमौसमी...’ बाट अवार्ड जिते । उक्त गीतमा राम अविरल विष्टको शब्दमा योगीले नै संगीत भरेका हुन् । 

उत्कृष्ट आधुनिक गायिकाको अवार्ड ‘कैयौं दुःख...’ बाट संगीता रानाले अवार्ड उचालिन् । यस विधामा उनीसँगै बानिका प्रधान, नुमा लिम्बू, रचना रिमाल र निशा देशार मनोनयनमा परेका थिए । उत्कृष्ट आधुनिक गायकतर्फ ‘के लत बस्यो...’ बाट तिलकसिंह पेलाले अवार्ड जिते । उत्कृष्ट आधुनिक गायकको विधामा तिलकसँगै गायक राजेशपायल राई, कर्म ग्याल्जेन बोम्जन, सुरजकुमार थापा र हिमाल सागर मनोनयनमा परेका थिए । उत्कृष्ट ब्यान्डतर्फ ‘अपरिभाषित’ बाट ‘स्वर’ ले अवार्ड उचाल्यो । यो विधामा अभया एन्ड द स्टिम इन्जिन्स, एक्सिस, मंकी टेम्पल र द एज ब्यान्ड मनोनयनमा परेका थिए । पप गायिकामा ‘बानी’ बाट सुवानी मोक्तानले अवार्ड उचालिन् । उनले त्रिशला गुरुङ, तृष्णा गुरुङ, मेलिना मैनाली र प्राश्ना शाक्यलाई पछि पार्दै वर्ष २०८० को उत्कृष्ट पप गायिका बनेकी हुन् । 

चर्चित गीत ‘सारङ्गी’ बाट सुशान्त केसीले उत्कृष्ट पप गायकको अवार्ड उचाले । यही विधामा सुशान्तसँगै समीर श्रेष्ठ, सविन राई, अपूर्व तामाङ र नवीन के भट्टराई मनोनीत थिए । ‘पिपल्स च्वाइस’ अवार्ड भने ‘जे छौ तिमी’ बाट स्वप्न सुमन र समीर श्रेष्ठले जिते । जुन विधामा सुशान्त केसी (सारङ्गी), डेभिड शंकर (दर्शन सलाम), सुजन चापागाईं (फूलथुंगे रानी) र तिलकसिंह पेला (के लत बस्यो) पनि प्रतिस्पर्धामा थिए । उक्त अवार्डको विजेता भोटिङमार्फत छनोट गरिएको हो । 

सांगीतिक समूहसहित आएका कार्यक्रमका अर्का आकर्षण पवनदीप राजनले जब ‘किसे पुछुं...’ गाए, प्रायःजसो दर्शकले मोबाइलको ‘फ्ल्यास लाइट’ बालेर साथ दिएका थिए । भारतीय रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनका विजेता पवनदीपले करिब आधा घण्टाको प्रस्तुतिमा ‘तेरे मिट्टी...’, ‘सायद...’, ‘केसरिया...’, ‘आसियाना...’, ‘तेरा यार हुं मे...’, ‘लगजा गले...’ लगायतका दर्जन चर्चित गीत गाए । उनले आफैंले गाएको नेपाली गीत ‘तिम्रो हाम्रो भेट...’ बाट प्रस्तुति सुरु गर्नुअघि भनेका थिए, ‘मैले नेपाली गीत पनि गाएको छु, एकदमै राम्रो कम्पोजिसनमा ।’ पवनदीप रेडियो कान्तिपुरद्वारा आयोजित छैटौं नेसनल म्युजिक अवार्ड्समा प्रस्तुति दिन काठमाडौं आएका हुन् । भारतीय गायक पवनसँगै कार्यक्रममा नेपाली गायक/गायिकाले पनि प्रस्तुति दिएका थिए । जसमा रचना रिमाल, बद्री पंगेनी, सुशान्त घिमिरे, सुगम पोख्रेल, अनु चौधरी र हिमाल सागरले सांगीतिक कोसेली पस्केका थिए भने सीता न्यौपानेले ‘स्यान्डअप कमेडी’ प्रस्तुत गरेर दर्शक हँसाएकी थिइन् ।

कान्तिपुर

Link copied successfully