अमेरिकालगायत देश पठाइदिने भन्दै १५ करोड ठगी गर्ने चार पक्राउ

जेष्ठ २९, २०८१

कान्तिपुर संवाददाता

Four arrested for defrauding 150 million by saying that they would send it to countries including America

काठमाडौँ — अमेरिका, कम्बोडिया, न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिब १५ करोड ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी आरोपितहरुलाई सार्वजनिक गरेको हो । तीन सयजना भन्दा बढी मानिसहरुसँग अमेरिका कम्बोडिया, न्यजिल्यान्ड, फ्रान्सलगायतका देशमा पठाइदिने भन्दै १५ करोड रुपैयाँ ठगी गर्ने तीन जनालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिकाका २८ वर्षीय राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षीय नविन बिक र पोखरा महानगरपालिकाका २३ वर्षीय पवन पन्त छन् ।

यस्तै अमेरिका पठाउने भन्दै ठगी गर्ने सोलुखुम्बुका ४६ वर्षीय नारायणकुमार खड्कालाई पनि पक्राउ गरिएको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर उनीहरुले विगत ३/४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोडभन्दा बढी ठगी गरेको उनले जनाए । उनीहरुले फेसबुक म्यासेन्जर, हृवाट्स एपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको बताए । 

उनले पक्राउ पर्नेहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गर्न गराइ, चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि बताए । प्रहरीमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुले नेपालमा काम दिने बहानामा केही एकाउन्टेण्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully