विपिनका परिवारलाई भेटे इजरायली राजदूतले, फेरि पनि आश्वासन मात्रै

जेष्ठ २८, २०८१

भवानी भट्ट

Israeli ambassador meets Bipin's family, again only reassurances

कञ्चनपुर — आठ महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भासीका विपिन जोशीका परिवार बिहानैदेखि प्रतिक्षामा थियो । वरिपरि सुरक्षाकर्मीदेखि आफन्तहरू घरमा आउँदै थिए । जब साँझ पर्दै गयो । नेपालका लागि इजरायली राजदूत खनान गोडेर र सेडट नेगेव विश्वविद्यालयका अध्यक्ष हैम सेक्ड आँगनमा पुगे । विपिनका बुवा महानन्द जोशीले दुवैलाई स्वागत गरेर र गोडेरलाई आँगालो हाल्दै रोए ।

जोशीलाई राजदूत सहितको टोली भेटेन आउने खबर ४ दिनअघि नै भएको थियो । उनलाई छोराबारे केही नयाँ कुरा आउँछ की भन्ने आशा पनि थियो । तर भेटपछि फेरि पुरानै कुरा आयो । ‘हामी सक्दो प्रयास गरिरहेका छौं, छिट्टै विपिनलाई सकुशल घर ल्याउने छौं ।’

राजदूत गोडेर र अध्यक्ष सेक्ड दुवैले विपिनलाई इजरायली सरकारले आफ्नै परिवारको सदस्य सरह मानेर खोजी गरिरहेको बताए । ‘इजरायली सरकारले गाजा क्षेत्रका एक/एक घरमा खोजी गरिरहेको छ,’ परिवारका सदस्यलाई आश्वस्त पार्दै गोडेरले भने, ‘हामी छिटो भन्दा छिटो विपिनलाई सकुशल घरमा ल्याउने छौं, विपिननले धेरैको ज्यान बचाएको छ, उ रियल हिरो हो ।’ विपिनलाई हमासले नियन्त्रणमा लिएको केही दिनपछि अस्पतालमा उनको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोपछि विपिनको अवस्थाबारे कुनै जानकारी उपलब्ध नभएको उनले बताए । 

Israeli ambassador meets Bipin's family, again only reassurances

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थी अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत भदौ अन्तिम साता इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालय र इजरायलको नेगेव कलेजबीच अर्न एण्ड लर्न कार्यक्रममा कृषि संकायका विद्यार्थी लैजाने सम्झौता भएको थियो । 

सोही कलेका अध्यक्ष सेक्ड पनि परिवारका सदस्यलाई भेटन पुगेका हुन् । बुवा महानन्द, आमा पदमा र बहिनी पुष्पाले रुदै विपिनको सकुशल रिहाइको आग्रह गरेपछि राजदूत गोडेर र अध्यक्ष सेक्ड दुवै चिन्तित देखिए। ‘अब हामी थाकिसकेका छौं, मन्त्रीदेखि प्रधानमन्त्री र राजदूतसम्म पटक पटक भेटिसकेका छौं,’ बहिनी पुष्पाले भनिन्, ‘अझै पनि हामीले आशा मारिसकेका छैनौं, नेपाल सरकार र इजरायली सरकारले मेरा दादालाई सकुशल घरमा पुर्‍याउने छ ।’ उनले ८ महिनादेखि विपिनबाहेक अरु कुनै कुरा सोच्न नसकेको बताइन् । 

विपिनका आमा पदमाले घरको एक्लो छोरा ८ महिनादेखि बेपत्ता हुँदा संसारै अध्यारो भएको बताइन् । ‘अरुका लागि एकजना मात्रै होला, तर मेरा लागि सबैथोक उही हो,’ उनले भनिन्, ‘इजरायल सरकारले विपिनलाई चाँडो खोजिदेओस् ।’

परिवारका कुरा सुनेपछि अध्यक्ष सेक्डले इजरायली सरकारले विपिनको खोजीका लागि सक्दो प्रयास गरिरहेको बताए । उनले चाँडै विपिनलाई सकुशल उद्धार गरेर ल्याउने बताए । ‘हामी विपिन र तपाईंहरूकै साथमा छौं, हामीलाई पनि निकै अप्ठेरो लागिरहेको छ,’ उनले भने, ‘इजरायल सकारले हमासको नियन्त्रणमा रहेका सबैजनाको खोजीका लागि निकै संवेदनशील भएर काम गरिरहेको छ ।'  यसअघि विपिन परिवारले साजदूत गोडेरलाई २ चोटी भेटिसकेका छन् ।

Israeli ambassador meets Bipin's family, again only reassurances

राजदूत गोडेर र अध्यक्ष सेक्डले इजरायली चित्रकार जिभ एन्जलमायरले बनाएको विपिनको आर्ट पनि परिवारलाई हस्तान्तरण गरेका थिए । पछिल्लो पटक कतारी अमिरको नेपाल भ्रमणका बेला पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपतिले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । 

भदौ अन्तिम साता इजरायल पुगेका विद्यार्थीहरू माथि एक महिनापछि आक्रमण भएको थियो । हमाश समुहको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । अन्य विद्यार्थीलाई नेपाल सरकारले उद्धार गरेर ल्याइसकेको छ । विपिनलाई हमासले नै नियन्त्रणमा लिएको इजरायल सरकारले जनाएको छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully