रुसी सेनामा भएका नेपालीका आफन्त ११ दिनदेखि अनशनमा

रुसी सेनामा भर्ती भएका नेपालीमध्ये कम्तीमा १०० जना परिवारको सम्पर्कमा छैनन्

वैशाख १८, २०८१

होम कार्की

Relatives of Nepalis in the Russian army are on hunger strike for 11 days

काठमाडौँ — रुसी सेनामा भर्ती भएका नेपालीको उद्धारको माग राखी उनीहरूका आफन्त ११ दिनदेखि अनशनरत छन् । उनीहरूले सोमबार करारपत्र रद्दसहित १३ बुँदे माग राखेर रुसी दूतावास अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले रुसी सेनामा  आबद्ध नेपालीको जीवन रक्षा अभियानकी संयोजक कृतु भण्डारी, रुकुमकी सिरानी घर्ती मगर, उषा खत्री, रोजी पुन, देवेन्द्र भट्ट र मोहन भट्टलाई पक्राउ गरेको थियो । उनीहरूलाई साँझ छाडिएको प्रहरीले जनाएको छ ।

भण्डारी, मगर र किसन थापा वैशाख ७ देखि रत्नपार्कमा अनशनरत छन् । उनीहरूलाई रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले आलोपालो अनशन बसेर साथ दिँदै आएका छन् ।रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार गरी नेपाल ल्याउनुपर्ने, करार सम्झौता रद्द गरी उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई पुनः युद्ध मैदानमा लगिएकाले उनीहरूलाई तत्काल उद्धार गर्नुपर्ने परिवार तथा आफन्तको माग छ । युद्धमा घाइते नेपालीलाई उचित क्षतिपूर्ति तथा तलब भत्ता उपलब्ध गराउनुपर्ने, युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्धार हुनुपर्ने, मृतकको शव ल्याउने र क्षतिपूर्तिसहित रुसी सेनाबाट पाउने तलब भत्ता उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । 

त्यस्तै उनीहरूले बेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन तहमा ल्याउनुपर्ने, रुसी सेनामा कार्यरत नेपालीको तथ्यांक सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन् । उनीहरूले प्रलोभनमा परी रुस पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारबाही, पीडित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि मन्त्रीस्तरीय समन्वय समिति गठन गर्नुपर्ने, रुसी सेनाबाट फर्किएर आएका युवाको पुनःस्थापना तथा पीडित परिवारको उचित हेरचाहको व्यवस्था गर्नुपर्ने, कूटनीतिक सम्बन्ध भएका देशहरूमा नेपालले आफ्ना नागरिकलाई सैन्य सम्झौताबिना सैन्य सेवामा भर्ती नगर्न पहल गर्नुपर्ने माग पनि राखेका छन् ।

रुसी सेनामा भर्ती भएका नेपालीका विषयमा सरकार गम्भीर नभएकाले बाध्य भएर आमरण अनशन बस्नुपरेको संयोजक भण्डारीले बताइन् । ‘पुसदेखि नै हामीले करारपत्र सम्झौता भंग गरी स्वदेश ल्याउन भनिरहेका थियौं । रुसमा हरेक सेकेन्ड नेपाली जोखिममा छन् । तर, काठमाडौंमा सरकार सुतेर बसिरहेको भान भइरहेको छ,’ उनले भनिन्, ‘जबसम्म सरकारले हाम्रो माग सम्बोधन गर्दैन तबसम्म अनशनमा बस्नेछौं ।’

रुसी सेनामा भर्ती भएका नेपालीमध्ये कम्तीमा सय जना परिवारको सम्पर्कमा छैनन् । रुस–युक्रेन युद्धमा ३६ नेपालीको मृत्यु भइसकेको छ । मृतकका परिवारले शवसमेत पाउन सकेका छैनन् । अनशनमा बसिरहेकी सिरानीका श्रीमान् माइतमान गत मंसिर १२ देखि सम्पर्कमा आएका छैनन् । १२ लाख रुपैयाँ खर्चेर गत कात्तिक ७ मा रुस पुगेका थिए । राज्यले आफूहरूलाई नदेखेको उनको गुनासो छ । ‘सरकारले स्वीकृति दियो अनि मात्रै गए । नेपालकै विमानस्थलबाट गएका हुन् । हाम्रा बूढाहरू श्रम स्वीकृति नलिई गएका हुन् । तर राज्यले अनुमति दिने व्यवस्था नै नभएको भए त जाने नै थिएनन्,’ उनले भनिन्, ‘तर, हाम्रो मुद्दालाई राज्यले गम्भीर रूपमा हेरेन ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully