कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ९१ हजार परीक्षार्थी

प्रश्नपत्र देशैभर अनलाइनबाट, काठमाडौंमा स्वचालित विधिबाट परीक्षा केन्द्र

वैशाख १३, २०८१

सुदीप कैनी

Class 12 exam from tomorrow, 4 lakh 91 thousand candidates

काठमाडौँ — कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् ।  

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । गतवर्षभन्दा यसपालि १८ हजार परीक्षार्थी बढेकाले परीक्षा केन्द्र पनि अघिल्लो वर्षको तुलनामा थपिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए ।

सबैभन्दा बढी काठमाडौंमा १ सय ४४ र मनाङ/मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र तोकिएको छ । काठमाडौंमा यस पटक स्वचालित (स्यान्डम) प्रक्रियाबाट परीक्षा केन्द्र तोकिएको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने परीक्षा समन्वय समितिको सिफारिसमा परीक्षा केन्द्र तोक्ने व्यवस्था छ । तर काठमाडौंमा परीक्षणका रूपमा समितिले स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेको उनले बताए ।

हरेक विद्यालयका परीक्षार्थी संख्या र परीक्षा केन्द्रको सिट संख्याका आधारमा तथा विद्यालय र केन्द्रको अक्षांश र देशान्तरका आधारमा दूरी निकालिएको थियो । विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो । एकै विद्यालयको परीक्षार्थी संख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको छ । एउटै सञ्चालक भएका विद्यालयमा केन्द्र नपर्ने गरी छनोट गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्कार्कोमा पनि नपर्ने गरी व्यवस्था गरिएको छ ।

यसो गर्दा एउटै विद्यालयका विद्यार्थी पनि फरक/फरक केन्द्रबाट परीक्षा दिँदै छन् । परीक्षा केन्द्र तोक्दा सेटिङ हुने गरेको समेत गुनासो थियो । निश्चित विद्यालयको केन्द्र कुनै विद्यालयमा तोक्न वा नतोक्न सेटिङ हुने गरेको भन्दै आलोचना हुने गरेको थियो । देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदै छन् । काठमाडौंबाट सहभागी हुने विद्यालयका विद्यार्थीको केन्द्र स्वचालित विधिबाट तोकिएको हो ।

‘यो विधि लागू गर्दा कुन विद्यालयका विद्यार्थी कुन केन्द्रमा पर्छन् निश्चित हुँदैन,’ अर्यालले भने, ‘एउटै विद्यालयका विद्यार्थी पनि फरक–फरक केन्द्रमा परेका छन्, यो वर्ष परीक्षण भएपछि आगामी वर्षदेखि देशभरि नै लागू गरिन्छ ।’ त्यसो गर्दा उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणमा समेत कुन विद्यालयको उत्तरपुस्तिका हो भन्ने पहिचान गर्न मुस्किल पर्ने बोर्डले जनाएको छ । काठमाडौं उपत्यकाभित्रका उत्तरपुस्तिका परीक्षणका लागि निश्चित निजी विद्यालयको सेटिङकै आधारमा उपत्यका बाहिर नपठाउने गरिएको आरोपसमेत लाग्दै आएको छ ।

प्रश्नपत्र भने गतवर्ष जस्तै अनलाइनबाट पठाइने बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए । तर अनलाइनबाट पठाउँदा सुरक्षाका दृष्टिकोणले गतवर्षभन्दा सावधानी अपनाइने पनि उनले जनाए । अनलाइनबाट प्रश्नपत्र पठाउँदा प्रिन्ट गर्ने क्रममा बाहिरिने गुनासो आएको थियो । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को प्रबन्ध गरिएको बोर्डले जनाएको छ । त्यस्तै केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र परीक्षामा खटिने केन्द्राध्यक्षको रोहबरमा मात्रै प्रश्नपत्र परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा पहिले प्रिन्ट गर्न निर्देशन दिइएको शर्माले जनाए । ‘गतवर्ष सामान्य इमेलमा प्रश्नपत्र पठाउने गरेका थियौं, यसपालि सिस्टममा पठाउँछौं,’ उनले भने । 

२०७६ को कोभिड महामारीयता बोर्डले कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै पढाउने व्यवस्था गर्दै आएको छ । चैतमा सञ्चालित एसईई परीक्षामा भने छपाइ गरेरै परीक्षा केन्द्रहरूमा प्रश्नपत्र पठाइएको थियो । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १ सय ७१ जनशक्ति खटिँदै छन् भने १८ हजार ३ सय प्रहरी परिचालन हुने बोर्डले जनाएको छ । उत्तरपुस्तिकासहित परीक्षा सामग्री केन्द्रमा पुगिसकेको बोर्डले जनाएको छ । केन्द्राध्यक्षको अभिमुखीकरण पनि सकिएको सदस्यसचिव अर्यालले बताए ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully