कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

खाडीमा भीषण वर्षा, नेपालमा सयौं यात्रु अलपत्र

सुरज कुँवर

काठमाडौँ — यूएईलगायत खाडी क्षेत्रमा सोमबार राति भएको भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् ।

खाडीमा भीषण वर्षा, नेपालमा सयौं यात्रु अलपत्र

पोखराका चिरञ्जीवी धिताल, सुनसरीका आजाद अन्सारी लगायतका यात्रु मंगलबार राति १ बजे एफजेट–५७४ नम्बरको उडानबाट दुबई पुग्नुपर्ने थियो । तर, मंगलबार फ्लाई दुबईले राखेका तीनमध्ये दुबई–काठमाडौं–दुबईका दुइटा उडान भएन । ‘मौसमको कारण देखाउँदै उडान रद्द भएको भनियो,’ छोटो घर बिदामा आएका कास्की मणिडाँडाका धितालले भने, ‘म पोखराबाट मंगलबार बिहानै बस चढेर दिउँसो गोगंबु बसपार्कबाट सिधै ४ बजे काठमाडौं एयरपोर्ट आए, २४ घन्टा बित्यो, यतै छु ।’

उनकाअनुसार, राति १० बजे उनी बोर्डिङ पास लिन चेकइन काउन्टर पुगेका थिए । तर, फ्लाई दुबईका कर्मचारीले उडान नहुने भनी फर्काए । विमानस्थलस्थित टर्मिनल कार्यालयकाअनुसार, फ्लाई दुबईको दुई उडानबाट दुबई तथा तेस्रो मुलुक जानुपर्ने ३ सय हाराहारी यात्रु थिए ।

‘उडान नहुने भएपछि राती यात्रुहरु व्यवस्थापन गर्न कठिनाई भयो,’ मध्यरातमा यात्रुहरुको व्यवस्थापनमा जोडिएका विमानस्थलका एक कर्मचारीले भने,‘फ्लाई दुबईका कर्मचारीलाई बोलाएर यात्रु व्यवस्थापन गर्न लगायौं ।


'केही होटलमा सुत्न गए । केही घर लागे । केही आफन्तको डेरामा लागे,’ धिताल भने,'२५ घन्टादेखि विमानस्थलको क्यानोपी मुनि झोला सिरानी राखेर पल्टिरहेका थिए । ‘खासमा मसँग खर्च थोरै थियो । साथीहरुले होटल जाउँ भनेका थिए । तर मैले झोलामा चाउचाउ र भुजिया बोकेको थिएँ । त्यही खाएर यतै रात कटाएँ।’ उताको भारी वर्षाका कारण फ्लाई दुबईको एउटा जहाज पनि मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘ग्राउन्डेड’ भएको थियो ।

त्यो जहाज बुधबार दिउँसो उड्यो । तर, दुबईसम्म जाने यात्रु मात्रै त्यसमा गए । धिताल फ्याट्ट जहाज उड्ने भए पाइहालिन्छ की भनेर विमानस्थलमै बसेका थिए । बुधबार जहाज उड्ने भएपछि उनी पुनः चेकइन काउन्टर छिरेका थिए । तर, उनले त्यो उडानमा जान पाएनन् ।

फ्लाई दुबईको काठमाडौंस्थित कार्यालयका एक कर्मचारीका अनुसार, त्यो जहाजमा ‘दुबई–रेसिडेन्ट’ भएकालाई मात्रै प्राथमिकता दिइएको थियो । ‘दुबईमा बिस्तारै पानीको प्रभाव घटेपछि हिजो राति रोकिएको हाम्रो जहाज आज (बुधबार) दिउँसो साढे ४ बजे उड्यो,’ कार्यालयको नियमअनुसार नाम खुलाउन नमिल्ने बताउँदै उनले कान्तिपुरसँग भने, ‘त्यो विमानमा तेस्रो मुलुक जाने यात्रुलाई प्राथमिकता दिइएन ।'


किनकी दुबईबाट बाहिर जाने उडान अझै नियमित भइसकेका छैनन् । त्यहाँ फेरि यात्रु अलपत्र पर्ने भएकाले अहिले ट्रान्जिट यात्रुलाई राखिएको छैन । दुबईकालागि दैनिक चारवटा काठमाडौंबाट उडान गर्ने फ्लाई दुबईले बिहीबार चारमध्ये दुईटा उडान गर्ने जानकारी विमानस्थलस्थित टर्मिनल कार्यालयलाई दिएको छ । उसले सूचनामार्फत् यात्रुहरुलाई इमेल, एसएमएसबाट पनि जानकारी गराउँदै टिकट खरिद गरिएका ट्राभल एजेन्सीमा सम्पर्क गर्न भनेको छ । विमानस्थलमा बुधबार र बिहीबार हुनुपर्ने फ्लाई दुबई बाहेक युएईको अर्को सहर शारजाह उड्नुपर्ने एयर अरेबियाका पनि दुइटा उडान रद्द भएको टर्मिनल कार्यालयले जनाएको छ ।

त्यस्तै नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सका पनि तालिका प्रभावित भएका छन् । यसैगरी सिधा उडानबाहेक भारत हुँदै जाने दर्जनौं यात्रु पनि काठमाडौं विमानस्थलको बगैंचामा दुबई उड्ने जहाजको प्रतीक्षामा थिए ।


प्रकाशित : वैशाख ५, २०८१ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?