२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘चरा भए उडेर फर्किन्थ्यौं’

स्वदेश फर्किन चाहे पनि रुसी सेनामा रहेका नेपालीलाई जबर्जस्ती युद्धमा पठाउन अझै छाडिएन
होम कार्की

काठमाडौँ — रुसी सेनामा भर्ती भएका प्यूठानका लोकेन्द्र पुनले कान्तिपुरलाई एउटा भिडियो क्लिप पठाए । भिडियोमा पात झरेका रूखहरू मात्रै भएको ठूलो चौरमा त्रिपाल टाँगेको देखिन्छ । त्रिपालमुनि ५० मिटर गहिरो बंकरमा आश्रय लिएर नेपालीहरू युक्रेनविरुद्ध लडिरहेको उनले बताए । ‘जनावरले पनि नखाने पाउरोटी खानुपर्छ । त्यही पनि राति १० बजे गाडीले ल्याएर छोडिदिने गर्छ,’ माइनस डिग्री चिसोमा जोडले हावा चलिरहेको पृष्ठभूमिबाट लोकेन्द्रले भने, ‘यहाँ कसैले कसैलाई खाना बनाएर दिने फुर्सद हुँदैन ।’ 

‘चरा भए उडेर फर्किन्थ्यौं’

उनले कतिखेर ड्रोन आएर बंकरमाथि बम खसालिदिन्छ, थाहा नहुने बताए । ‘शौचालय जाँदा एक सेकेन्ड ढिला भयो भने ज्यान जान्छ । हामी गोलीको टार्गेटमा छौं,’ पुनले भनेका छन् । आफूहरूको जति सक्दो छिटो उद्धार गरिदिन पनि नेपाल सरकारलाई उनले आग्रह गरेका छन् ।

बाग्लुङका हरि श्रीश मगरले कान्तिपुरलाई पठाएको अडियो सन्देश पनि लोकेन्द्रकै जस्तो दुःखले भरिएको छ । ‘अञ्जानमा अनकन्टार ठाउँ आइयो । खानाको कुरा त परै जाओस्, एक बोतल पानीले तीन–चार दिनसम्म पुर्‍याउनुपर्छ । कसैले वास्ता गर्दैन,’ उनले अडियोमा भनेका छन् । रुस नियन्त्रित पूर्वी युक्रेनको दोनेत्स्क सहरको एक क्षेत्रमा उनी तैनाथ छन् । अरू नेपालीजस्तै जतिसक्दो छिटो स्वदेश फर्किन चाहन्छन् । तर, युद्ध कमान्डर उनको कुरा पटक्कै सुन्दैनन् । हरियो त्रिपालमुनि बनाइएको बंकरमा बसेर युद्ध लडिरहेका उनलाई युक्रेनी सेनाले निरन्तर गरिरहेको ड्रोन आक्रमणबाट कतिन्जेल बाँच्न सकिन्छ, पत्तो छैन । विदेशमा आफूले चाहेर पनि केही गर्न नसक्दा हरि भन्छन्, ‘यहाँबाट गुडेर आउन पनि असम्भव नै रहेछ, चरा भइदिएको भए उडेर फर्किन्थ्यौं ।’

गत साता मात्रै स्थलगत निरीक्षणमा आएका एक उच्च ओहदाका रुसी कमान्डरसँग पनि हरिले बिन्ती बिसाए । उनले एक वर्षको करार अवधि समाप्त नभएसम्म फर्काउन सम्भव नरहेको बताए । ‘तिम्रो नाम रद्द भएर माथि (रुसी रक्षा मन्त्रालय) बाट आयो भने पठाउँछौं । नआएसम्म जसरी पनि काम गर्नुपर्छ,’ कमान्डरको भनाइ उद्धृत गर्दै हरिले भने ।

रुसी सेनामा भर्ती भई युक्रेनविरुद्धको लडाइँमा होमिएका दर्जनौं नेपाली कान्तिपुरको सम्पर्कमा छन् । उनीहरूले पठाएको अडियो, भिडियो र परिवारसँगको कुराकानीबाट सजिलै बुझ्न सकिन्छ, नेपालीलाई अनिच्छापूर्वक रुसी सरकारले युद्धमा होमिरहेको छ । फर्किन प्रयास गरिरहेका नेपालीलाई पनि जबर्जस्ती युद्धमा पठाइरहेको छ ।

१ वर्षे करार सकिएपछि पनि स्वतः करार नवीकरण गरेर युद्धमै खटाइराख्ने नीति रुसले लिएको हरिले सुनाए । ‘यहाँ त आफ्नो करारपत्र पूरा भएपछि फेरि आफैं नवीकरण गरिदिँदो रहेछ । सेनाले यसबारे हामीलाई भन्दैन रहेछ,’ उनले भने, ‘लडाइँ लामो समयसम्म जान्छ । हामीलाई तनावै तनाव छ ।’ युद्धमा अंगभंग र चोटग्रस्त भएका वा बर्खास्तीमा परेकालाई पनि रुसी सरकारले नेपाल फिर्ता पठाउन आनाकानी गरिरहेको त्यहाँ रहेका नेपालीको भनाइ छ । रुसी सेनामा रहको एक नेपाली युद्धका क्रममा घुँडा, टाउको र हातमा बमको छर्रा लागेपछि घाइते छन् । २०/२५ मिनेटभन्दा धेरै हिँड्न सक्ने अवस्थामा छैनन् । ‘राम्ररी निको भएको छैन, दुखेको छ भन्छु । माथिको कमान्डरले कहाँ दुखेको छ ? खोइ भनेर गाली गर्छन् । सबै ठीकै छ भनेर उल्टै नाटक गरेको हो भन्छन्,’ उनले भने, ‘भाग्छ भनेर खेदो पनि खन्दारहेछन् ।’

युद्धग्रस्त युक्रेनी भूभागबाट भागेर रसिया आए पनि लुक्न त्यति सजिलो छैन । घाइते भई रुसको एक अस्पतालमा उपचाररत नेपालीले कान्तिपुरसँगको कुराकानीमा भाग्न खोज्नु झनै जोखिमपूर्ण भइरहेको बताए । ‘भाग्ने कोसिस धेरैले गरेका थिए । कति निस्किन सफल भए । कति साथीहरू पक्राउ परे । उनीहरूलाई सिधै फ्रन्टलाइनमा हालिदिएको छ । त्यसरी हाल्दा केहीको त ज्यानै गयो,’ उनले भने, ‘धेरै साथी अस्पतालमा छन् । जसमा चार पटकसम्म युद्धमा गएर आएकाहरू पनि छन् । अस्पतालमा पनि उचित सेवा सुविधा छैन । कति जनासँग कागजात छैन । कति जनासँग खानाका लागि पैसा पनि छैन ।’

बाग्लुङका हरिले युद्ध मैदानमा रुसी सेनाले नेपालीमाथि विभेदपूर्ण व्यवहार गरेको बताए । उनले अडियोमा भनेका छन्, ‘रसियाका आफ्नै सेना र नेपालीबीच निकै विभेद छ । उनीहरूलाई खाना सरकारले दिन्छ । हामीले किनेर खानुपर्छ । हामीलाई धेरै हेप्छन् । लात्तीले, बन्दुकको कुन्दाले हानिदिन्छन् । भएन भने गोली नै हान्लान्जस्तो गर्छन् ।’ भाषाका कारण पनि रुसी सेनामा भर्ती भएका नेपालीले दुःख पाइरहेको उनी बताउँछन् । सुर्खेतका रञ्जन कुँवरले बिनातलब युद्ध लड्नु परिरहेको बताए ।

रुसी सेनामा भर्ती भएका अधिकांश नेपाली परिस्थिति र परिबन्दमा परेर आफूहरू यता आउन बाध्य भएको र अब जीवन रक्षाका निम्ति अपिल गरिरहेको सुनाउँछन् । रुसी सेनामा भर्ती भई युद्ध लडिरहेका नवलपरासीका नवराज बुढाथोकीले आफूहरू नेपाल सरकारबाट उद्धारको प्रतीक्षामा रहेको बताए । आफूहरू मानसिक तनावबाट गुज्रिरहेको र सिंगो परिवार तनावमा रहेको उनको भनाइ छ । ‘हामीसँग कागजपत्र, बैंक पेपर केही छैन । एकजोर लगाएको लुगा मात्रै छ । चाँडोभन्दा चाँडो युद्धग्रस्त ठाउँबाट निस्कन चाहेका छौं,’ उनले भने ।

रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएका मध्ये ३२ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । रुसी सेनामा भर्ना भएका मध्ये कम्तीमा ९६ जना नेपाली परिवारको सम्पर्कमै छैनन् । त्यस्तै रुसी सेनामा भर्ती भएकाहरूका झन्डै साढे चार सय हाराहारी परिवारले खोजीका लागि भन्दै परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागमा निवेदन दिइसकेका छन् ।

रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई उद्धार गर्न परराष्ट्र मन्त्रालयले गरेको पहलले सार्थकता पाउन सकेको छैन । पछिल्लो पटक उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभसँग टेलिफोन कुराकानीमा पनि रुसी सेनामा भर्ती भएका नेपालीको संख्या, लडाइँका क्रममा मारिएकाको शव नेपाल ल्याइदिन, क्षतिपूर्ति दिन र नेपालीलाई रुसी सेनामा भर्ती नलिन तथा भर्ती भएकालाई फिर्ता पठाइदिन आग्रह गरेका थिए । तर रुसी विदेशमन्त्रीले युद्धका क्रममा मारिएका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भए पनि अन्य विषयमा प्रतिबद्धता जनाएनन् ।

प्रकाशित : चैत्र २१, २०८० ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x