सिद्धार्थको यात्रा कञ्चनपुरदेखि झापासम्म २४ होटल

खाजा पसलबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको सिद्धार्थले पछिल्लो समय पाँचतारे होटलसम्मको यात्रा तय गरेको छ, अन्तर्राष्ट्रिय होटलको चेनमा काम गरेर आएकाहरू अहिले सिद्धार्थ ग्रुप हाँकिरहेका छन्

चैत्र १८, २०८०

विमल खतिवडा

Siddharth's Journey from Kanchanpur to Jhapa 24 Hotels

काठमाडौं, भैरहवा — जिन्दगीमा सहनुपर्ने हन्डर, ठक्कर र चुनौतीले दुःखमात्र दिँदैनन्, नयाँ सम्भावनाको ढोका पनि खोल्छन् । सम्भावनालाई कसरी आत्मसात् गर्ने ? त्यो व्यक्तिमा निर्भर हुन्छ । गुल्मीको छत्रकोट गाउँपालिकास्थित हुँगाका ५२ वर्षीय लक्ष्मण न्यौपाने (चिन्तामणि) यस्तै चुनौतीलाई आत्मसात् गरेर सफलताको यात्रा तय गर्नेमध्येमा पर्छन् ।

मुलुकको हस्पिटालिटी क्षेत्रमा ‘सफल’ उद्यमी यात्राका लागि उनले लामो संघर्ष गर्नुपर्‍यो । गुल्मीको पहाडबाट रोजगारीको खोजीमा भारत पुगे । त्यहाँ लामो समय काम गरे । परिवार छाडेर रोजगारीका लागि भारत जानु उनको रहर थिएन । मुलुकभित्र रोजगारीको अवसर हुँदो हो त विदेशिने थिएनन् ।

आफैंले लगानी गरेर केही गरौं, पुँजीको समस्या थियो । अन्त रोजगारी गरौं भने गाउँमा उद्यमको वातावरण थिएन । अधिकांशको रोजाइ सरकारी नोकरी हुन्थ्यो । त्यसमा रुचि नहुनेहरू कामको खोजीमा मुलुकबाहिर जानु रितजस्तै थियो । भारतमा काम गरिरहँदा पनि न्यौपानेको मन स्थिर हुन सकेन । मुलुक फर्किएर केही नयाँ काम थाल्नुपर्छ भन्ने हुटहुटी चलिरहन्थ्यो । तर, मुलुक फर्किएर के गर्ने ? उनले मुलुक फर्किन तीनवटा विकल्प देखेका थिए– ट्राभल, गार्मेन्ट र होटल क्षेत्रमा लगानी गर्ने । त्यसबेला उनी भारतको गार्डन सिल्क मिल्स कम्पनीमा स्थायी जागिरे थिए । एकोहोरिएर उक्त कम्पनीमा काम गर्न नसकेपछि तीन विकल्पमध्ये एकमा काम गर्ने अठोटसाथ जन्मभूमि फर्किएको उनी सुनाउँछन् । त्यसका लागि आफूले काम गर्नेसित ‘हदम्याद’ सम्झौता गरेका थिए । मुलुक आएको १० वर्षभित्र कुनै क्षेत्रमा लगानी गर्न नसके पुनः पुरानै कम्पनीको काममा फर्किने सोच बनाएको उनले सुनाए । यही सोचअनुरूप २०५४ सालमा नेपाल आए । त्यसबेला उनका ठूल्दाइ विष्णुले गाउँमा होटल गर्थे ।

‘मैले अघि सारेका तीन विकल्पमध्ये ट्राभलिङका लागि गाडी चाहिन्थ्यो, गार्मेन्टका लागि उद्योग खडा गर्नुपर्थ्यो, जुन सानो लगानीमा सम्भव थिएन,’ केही दिनअघि तीनकुनेस्थित सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको कार्यालयमा भेटिएका उनले भने, ‘सानो लगानीमा होटल सुरुवात गर्न सकिन्छ कि भन्ने सोच आयो, त्यसपछि खाजा पसल खोलेर यस क्षेत्रमा प्रवेश गरें ।’

Siddharth's Journey from Kanchanpur to Jhapa 24 Hotelsटीकापुरस्थित सिद्धार्थ होटेल

व्यावसायिक तयारीसहित ‘खाजा’ पसल सञ्चालन गर्न ‘भर्जिन गन्तव्य’ टीकापुर उपयुक्त लागेको लक्ष्मण सुनाउँछन् । लुम्बिनीमा सम्भावना हुँदाहुँदै किन त्यति टाढा पुग्नुभयो त भन्ने प्रश्नको जवाफमा उनले भने, ‘रूपन्देहीको बुटवलमा काम थालेको भए चिनेजानेका धेरै मानिस मसँग ठोक्किन आइपुग्थे, बुटवलमा दायाँबायाँ जता फर्क्यो, गुल्मेली भेट हुने । हिरो भएर हिँड्नेले भाँडा माझेर बसेको छ भन्ने हुन्थे, टीकापुरमा कमैले चिन्थे, त्यसैले त्यतै पुगें ।’

२०५४ माघ २३ बाट टीकापुरमा सिद्धार्थ खाजा पसल सुरु गरे । त्यसका लागि ५० हजार रुपैयाँ ऋण खोजेर लगानी गरेको उनले बताए । सुरुमा पसलमा सघाउन एक जना सहयोगी राखेका थिए । ‘भाँडा माझ्नेदेखि ग्राहकको टेबलसम्म खाजा पुर्‍याउने काम आफैंले गर्थें,’ उनले सुनाए, ‘एक वर्ष श्रीमतीले सघाइन्, त्यसपछि आफैंले व्यवस्थापन गर्दै गएँ ।’

एकै पटकमा धेरै लगानी गर्ने अवस्था रहेन । भारतमा कमाएर ल्याएको पैसा बुवा र दाइलाई बुझाइसकेका थिए । ‘फेरि त्यो पैसा माग्ने कुरा पनि भएन,’ उनले भने, ‘बुवा र दाइसँग मागेर पैसा लिएर गएको भए यत्तिको प्रगति हुँदैन थियो होला, त्यसैले २४ प्रतिशत ब्याजमा ऋण लिएर व्यवसाय सुरु गरें ।’

Siddharth's Journey from Kanchanpur to Jhapa 24 Hotelsटीकापुरमा संघर्षले व्यवसाय स्थापित गरेपछि उनले लगानी विस्तारको योजना बनाए । त्यसका लागि मध्यमपश्चिमको प्रमुख सहर नेपालगन्ज छनोट गरे । टीकापुरबाट व्यवसाय विस्तारका सिलसिलामा ९०.३ किलोमिटर टाढाको नेपालगन्ज सहर आइपुगे । नेपालगन्जमा सिद्धार्थ कटेज सुरु गर्ने निर्णय गरे । त्यसमा उनका दुई जना साझेदारका रूपमा ज्वाइँहरू मुक्ति भण्डारी र कृष्ण भण्डारीले दरिलो साथ दिए । टीकापुरको व्यवसायको जिम्मेवारी कान्छो भाइ केशवलाई छाडिदिए । २०५७ सालमा नेपालगन्जमा हस्पिटालिटी व्यवसाय सुरु गरेका उनी त्यसपछि पछाडि फर्किएका छैनन् । सुदूरपश्चिमको टीकापुरबाट दुःखजिलो गरेर अगाडि बढाएको व्यवसायलाई सुदूर पूर्व पुर्‍याएका छन् । 

‘तीन जना साझेदार भएपछि काम सहज भयो, फेरि सबैलाई काम पुर्‍याउन पर्‍यो,’ उनले भने, ‘त्यसपछि काठमाडौंमा शाखा विस्तार गर्ने योजनामा पुग्यौं ।’ आफ्नो समूहमा जोडिने साथीभाइको अपेक्षा बुझेकाले संघीय राजधानी पुगेको उनले बताए । सिद्धार्थ समूह एकै पटक नेपालगन्जबाट ५२७.२ किमि दूरी टाढा काठमाडौं आइपुग्यो । यहाँ आएपछि २०५८ सालमा काठमाडौंको सुन्धारामा होटल सिद्धार्थ सुरु भयो । लगत्तै २०६० सालमा तीनकुनेमा सिद्धार्थ कटेज, रेस्टुरेन्ट एन्ड बार खुल्यो । ‘योजनाभन्दा पनि समयको माग र त्यतिखेरको चुनौतीलाई परिपूर्ति गर्न शाखा खोल्नैपर्ने अवस्था थियो,’ लक्ष्मण भन्छन्, ‘त्यसपछि जिम्मेवारी थप हुँदै गयो, टीकापुर, नेपालगन्ज र काठमाडौं हुँदै सिद्धार्थको सेवा विभिन्न सहरमा पुर्‍याउन यसका शाखा विस्तार गर्दै लग्यौं ।’ लगानी र शाखा बढेपछि यसलाई एकीकृत गर्नका लागि सिद्धार्थ बिजनेस ग्रुपका रूपमा अगाडि बढाउने निर्णयमा पुगेको उनले सुनाए । तर, यो नाम दर्ता गर्न मिलेन । उनका अनुसार रेस्टुरेन्टसँगै होटल पनि सञ्चालनमा रहेका कारण सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका रूपमा २०६१ सालमा कम्पनी दर्ता भयो ।

परिवारमा ६ जना दाजुभाइ । उनी माइला हुन् । अहिले परिवारका प्रायः सदस्य यसै क्षेत्रमा छन् । व्यवसायको प्रथम साझेदार ज्वाइँ मुक्ति सिद्धार्थ ग्रुपमा सचिवका रूपमा समग्र कार्यालयको व्यवस्थापन हेरिरहेका छन् । न्यौपानेपछि संस्थामा भण्डारी दोस्रो वरीयतामा छन् । अर्का ज्वाइँ कृष्णले समूहअन्तर्गत क्याफे ब्रान्डलाई हेर्छन् । राइलो भाइ कृष्ण समग्र ग्रुपको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । जेठा दाइका छोरा सन्तोष हस्पिटालिटी सीईओ छन् । जेठा दाइका कान्छा छोरा सञ्जय डिजाइन र इन्टेरियरको पाटो सम्हाल्छन् । काइला भाइ महेन्द्रले बुटवलस्थित सिद्धार्थ कटेज र भैरहवास्थित पाँचतारे होटल सिद्धार्थ भिलासाको व्यवस्थापन हेरिरहेका छन् । कान्छा भाइ केशवले नेपालगन्ज र सुर्खेतमा रहेका सिद्धार्थका शाखा हेर्छन् । काठमाडौंको व्यवसाय कृष्ण भण्डारीले सम्हालिरहेका छन् । 

Siddharth's Journey from Kanchanpur to Jhapa 24 Hotelsनेपालगन्जस्थित सिद्धार्थ होटेल

लक्ष्मणका अनुसार व्यवसायमा पछिल्लो समय साझेदार बनेकाहरू र काम गर्नेहरू अन्तर्राष्ट्रिय होटलको चेनमा काम गरेर आएकाहरू धेरै छन् । ‘मैले जति कमाए पनि छोराछोरीले बुवाले क्या राम्रो गर्नुभयो भन्दैनन्,’ उनले भने, ‘त्यसैले छोराछोरीलाई दिने भनेको शिक्षा र संस्कार हो ।’ आफू सम्पत्तिको पछाडि नदौडिएको उनी सुनाउँछन् । त्यसैले छोराछोरीले आफ्नो बाटो आफैं तय गर्ने बताउँछन् । ‘हिजोका दिनमा कम पैसाले दैनिकी चलाउन सकिन्थ्यो, अहिले बढी लाग्छ, हिजोको भन्दा खान्की घटेको भए पनि खर्च बढेको छ,’ उनी भन्छन्, ‘भोलि म मरेर गए पनि मैले जन्माएको संस्था मर्ने छैन, संस्थाको जग राम्रो भएकाले भोलि आउने पुस्ताले पनि राम्रो अवसर पाउनेछन् ।’ टीकापुरमा खाजा पसलबाट सुरु भएको व्यवसाय अहिले पाँचतारेसम्म पुगेको छ । करिब एक वर्षदेखि रूपन्देहीको सिद्धार्थनगरस्थित अञ्चलपुरमा समूहको पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा छ । 

समूहको अबको लक्ष्य विदेशमा होटलको चेन विस्तार गर्ने रहेको उनले बताए । ‘कति हन्डर खाँदै आज यो अवस्थामा आइपुगेका छौं,’ उनले भने, ‘हामीले जस्तो हन्डर आउने पिढीले खान नपरोस् भनेर अहिले दुःख गरिरहेका छौं ।’ ‘टिम’ र ‘टिमवर्क’ मा विश्वास गरे कुनै काम असम्भव नहुने उनको अनुभव छ । ‘टिमबाट धेरै कुरा गर्न सकिन्छ,’ उनी भन्छन्, ‘देशमा मात्र होइन, विदेशमा पनि व्यवस्थापकीय जिम्मेवारीका साथ काम गर्ने सोचमा छौं, लगानी गर्न त सक्दैनौं तर सिद्धार्थले व्यवस्थापनको जिम्मेवारी लिएर बिस्तारै भारतमा आफ्नो ठाउँ बनाउँदै जाने कुरामा प्रस्ताव राखेका छौं ।’ त्यसरी हुने आम्दानीले भारतमै लगानी बढाउन सकिने उनको सोच छ । मुलुकका ७७ वटै जिल्लामा होटल, क्याफे, रेस्टुरेन्टमध्ये केही न केही आफ्नै लगानीमा सञ्चालन वा व्यवस्थापनको जिम्मेवारी लिएर भए पनि काम गर्न खोजिरहेको उनले सुनाए । यो समूहले आफ्नो लगानीसँगै विभिन्न स्थानमा सञ्चालनमा आएका होटलको व्यवस्थापन गरिरहेको छ ।

भैरहवामा पाँचतारे होटल छ भने काठमाडौंको बौद्धस्थित होटल चारतारे सरहको भए पनि लेबलिङ भइसकेको छैन । सुर्खेतको होटल चारतारेको प्रक्रियामा छ । सिद्धार्थको व्यवस्थापनमा झापाको बिर्तामोड, चितवनको सौराहा, नुवाकोट, कपिलवस्तुको चन्द्रौटा, दाङको लमही र कञ्चनपुरको महेन्द्रनगरमा होटल सञ्चालनमा छन् । पुरानो बानेश्वर, तीनकुने, धोबीघाट, बुटवल, नेपालगन्जमा रेस्टुरेन्ट र कटेज सञ्चालमा छन् । मनमोहन कार्डियो र त्रिवि शिक्षण अस्पताल, जावलाखेल, नेपालगन्जमा एस क्याफे सञ्चालन गरिएको छ । सिद्धार्थ बायोटिकका लागि गुल्मी र पाल्पामा जग्गा तयार छ । ‘यी जग्गा भने कृषि फार्म खोल्नका लागि हो,’ उनले भने, ‘अहिले काम भइसकेको छैन तर छिट्टै सुरुवात गर्छौं ।’

Siddharth's Journey from Kanchanpur to Jhapa 24 Hotelsबिर्तामोडस्थित सिद्धार्थ होटेल

इलामको कन्याम र जुम्लामा व्यवसाय विस्तार गर्नका लागि जग्गा लिएर राखिएको उनले सुनाए । कैलालीको टीकापुर, कर्णालीको चिसापानी, सुर्खेत, नेपालगन्ज, भैरहवा, बुटवल, चितवनको चुम्लिङटार, सुन्धारा, बौद्धस्थित होटल आफ्नै लगानीमा सञ्चालन गरिएको उनले बताए । सिद्धार्थ हस्पिटालिटी मार्टका रूपमा तीनकुनेमा सञ्चालनमा छ । सिद्धार्थ ग्रुपले मोबाइलको डिलर, आईटी कम्पनी र ट्राभल एजेन्सी पनि सञ्चालन गरेको छ । धनगढी र बुटवलमा कटेज बनाउने तयारीमा रहेको न्यौपाने सुनाउँछन् ।

‘अहिले चुम्लिङटारमा रहेको रिसोर्टलाई स्तरोन्नति गर्दै छौं, बुटवलको सिद्धार्थ कटेजलाई त्यहाँबाट सार्दै छौं, धनगढीमा पनि शाखा विस्तारको तयारीमा छौं,’ उनले भने, ‘चुनौतीका पहाडबीच पनि हामीहरू निरन्तर सेवा दिन लागिरहेका छौं ।’ उनले व्यवसाय सुरु गर्दा मुलुकमा तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व गरिरहेको थियो । शान्ति प्रक्रियापछि द्वन्द्व सकियो । त्यसको केही समयपछि विनाशकारी भूकम्प आयो । मुलुक नाकाबन्दीको चपेटामा पर्‍यो । कोभिड–१९ महामारीका कारण थप मार खेप्नुपर्ने बाध्यता आएको उनले सुनाए । कोभिडपछि आर्थिक मन्दी नै सुरु भएको उनको भनाइ छ । ‘व्यवसाय सुरु गर्दा बादलमा चाँदीको घेरा हुन्छ भने जस्तै भविष्यमा केही न केही उज्यालो होला भन्ने जस्तो लाग्थ्यो,’ उनले भने, ‘अहिले त्यो अवस्था छैन । भोलि के हुने हो भन्ने मात्र छ, के हुन्छ भन्ने झन् अन्योल छ ।’ 

नेपालका लागि ठूलो बजार भनेको भारत हो । ‘भारत नजिक भएकाले त्यहाँ कसरी प्याकेज दिन सकिन्छ र भारतीय पर्यटक ल्याउने भनेर कार्य गरिरहेका छौं,’ उनले भने, ‘केहीकेही चिनियाँ पनि हाम्रोमा सेवा लिन आउने गरेका छन् ।’ पर्यटक जहाजको माध्यमबाट मात्रै आउने–जाने हुँदैन, सडक मार्गबाट पनि आउने–जाने हुन्छन् । पर्यटकीय गन्तव्यमा पर्यटकलाई गाडीबाट पनि लग्नुपर्ने हुन्छ । ‘तर, सडक पूर्वाधार राम्रा छैनन्, जताततै समस्या छ,’ उनले भने, ‘सडक पूर्वाधार कमजोर हुँदा पर्यटन व्यवसायीले मार खेप्नुपर्छ ।’ मुलुकको कमजोर हवाई र सडक कनेक्टिभिटीले गर्दा पर्यटन व्यवसाय थिलथिलो भएको उनको भनाइ छ । सिद्धार्थले लगानीका क्षेत्रमा विविधता थप्दै लगेको छ । गुल्मीमा आफ्नै कफी फार्म छ । जहाँको अर्ग्यानिक कफी होटल, रेस्टुरेन्ट र क्याफेमा आउने पाहुनाले चाख्न पाउँछन् । यसलाई पनि विस्तार गर्ने तयारीमा रहेको उनले सुनाए ।

Siddharth's Journey from Kanchanpur to Jhapa 24 Hotelsसुर्खेतस्थित सिद्धार्थ होटेल

नेपाल आउने चाहे भारतीय हुन् या अन्य देशका, सकभर नेपाली खानाको स्वाद चखाइने उनले बताए । ‘हामीले आतिथ्यतामा बढी ध्यान दिने गरेका छौं, अरूले के गरेका छन् भन्नेमा भन्दा हामीले के गर्ने भन्ने हो,’ उनले भने, ‘खानाको गुणस्तरमा ध्यान दिँदै राम्रो सेवा दिँदै आएका छौं ।’ कमसेकम एक रातका लागि आउने पाहुनालाई सिद्धार्थको आतिथ्यताले दुई रातसम्म बस्ने वातावरण बनाउने भन्ने रहेको उनले सुनाए । २६ वर्षको अवधिमा साझेदारको संख्या करिब ८० जना पुगेको छ । ‘केही समयअघि भारत जाँदा त्यहाँ राम्रो गरिरहेका नेपाली व्यवसायीसँग भेटेर छलफल भयो, अब एकफेर कर्मथलोबाट जन्मथलो फर्केर हेरौं, नेपाललाई बिर्सनु भएन,’ उनले भने, ‘कुन माध्यमबाट हुन्छ देशका लागि केही गरौं, एक्लै आएर नेपालमा ठूलो कम्पनी वा ठूलो होटल खोल्छु भन्दा पनि सँगै जोडिएर काम गरौं भन्ने प्रस्ताव राख्दै आएको छु ।’ 

अन्य देशमा रहेकालाई पनि यही प्रस्ताव राख्दै आएको उनले सुनाए । ‘थोरैथोरै भए पनि सिद्धार्थसित जोडिन आग्रह गर्दै आएको छु,’ उनले भने, ‘सबै मिलेर चेन क्रियट गरौं, अन्तर्राष्ट्रिय ब्रान्ड आफैं बनौं, तपार्इंको क्षमता छ भने अध्यक्ष पद तपार्इंलाई दिन्छु भनेर प्रस्ताव गर्छु, मलाई पद मान–सम्मान सम्पत्ति होइन, केही गरौं, राम्रो गरौं भन्ने मात्र छ ।’ होटल, क्याफे र रेस्टुरेन्टको भीडमा सिद्धार्थको ब्रान्डलाई टिकाइराख्न गुणस्तरमा ध्यान दिने गरिएको न्यौपानेले बताए । ‘यो क्षेत्रमा राम्रो खाना, राम्रो संस्कार नै ठूलो कुरा हो, सिद्धार्थमा पुग्दा खुसी हुने वातावरण बनाउने हो,’ उनले भने, ‘कमसेकम यो मेरो भन्ने वातावरण बनाउने हो, चाहे ऊ एक रातको पाहुना होस्, त्यो एक रातका लागि त्यो होटल उसको भयो, त्यो मेरो हो भन्ने अनुभूति गराउने गरी हामीले दिने सेवालगायतका कुरामा ध्यान दिने गरेका छौं ।’

दुर्गम गाउँमा जन्मिएर लामो संघर्षपश्चात् यो ठाउँमा पुगेका न्यौपानेले करिब १२ सय जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । निर्माणमा दैनिक ज्यालादारी र इन्टर्नमा काम गर्नेहरूसहितको संख्या भने १५ सय हाराहारी छ । ‘सिद्धार्थको समग्र टिम नै परिवार जस्तो छौं, सबै जनाको सोच यसलाई राम्रो बनाउने, राम्रो सेवा दिने भन्ने नै हो,’ उनले भने, ‘त्यो प्रयास जारी छ ।’ सरकारी संयन्त्रबाट भने त्यति ठूलो आस नभएको उनले तीतो पोखे । ‘सरकारी संयन्त्र प्रणाली सुधारे मात्र हामीलाई पुग्छ,’ उनले भने, ‘राजस्वको टोली आएर जरिवाना गर्ने मात्र होइन, यी यी कुरामा सुधार गर भन्नुपर्छ, यसमा उनीहरूले हेर्नुपर्ने दायित्व के हो, खालि कमिसन खाने र जरिवाना गर्ने मात्र काम गरिनु भएन ।’

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully