कांग्रेसले लामिछानेलाई भन्यो- सहकारी प्रकरणको छानबिन सुरु गरेर नसकिउन्जेल गृहमन्त्रीबाट बाहिरिनुस्

चैत्र १४, २०८०

कान्तिपुर संवाददाता

The Congress asked Lamichhane to start an investigation into the cooperative case and leave the Home Minister until it is completed

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणको छानबिन निष्पक्ष गराउनका लागि गृहमन्त्रीबाट रवि लामिछाने बाहिरिनुपर्ने बताएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले कानुनभन्दा माथि कोही नहुने भएकाले सहकारी ठगीमा नाम जोडिएपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पदबाट बाहिरिनुपर्ने धारणा राखेका हुन् । 

कांग्रेसले संसद्मा पनि लामिछानेमाथि छानबिनको माग गरिरहेको र सहकारी समस्या बढिरहेको भन्दै निकास दिनुपर्ने माग कांग्रेसले गरेको हो । पोखरा र बुटवलका सहकारीबाट ग्यालेक्सी टिभीमा रकम लिइएको र त्यसमा रवि लामिछानेको नाम पनि रहेको भन्दै छानबिन सुरु गरेर नसकिन्जेलसम्म पदबाट हट्नुपर्ने बताएका हुन् । 'पोखरा र बुटवललगायतका सहरकारीबाट ग्यालेक्सी टिभीमा १० करोडजति रकम गएको छ भन्ने छ । त्यसमा रवि लामिछानेको नाममा पनि जम्मा भएको भन्ने छ । हामीलाई अचम्म लाग्यो, त्यो व्यक्ति को हो ? नाम मात्रै मिल्या संयोग हो कि ? हाम्रो गृहमन्त्रीको पनि त्यै नाम छ,' बडूले भने, 'उहाँ नै हो भने यसमा छानबिन भइरहेको छ । हामी स्पष्ट ढंगले छानबिन गर्छौं भनिरहेको छ । छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्री उहाँ नै हो भने निष्पक्ष छानब‍निका लागि, छानबिन सुरु गराइहाल्ने र नसकिन्जेलसम्म जिम्मेवारीबाट बाहिरिएर जानु पर्ने हो कि !'

सहकारी पीडितका गुनासो व्यापक रूपमा आइरहेको बडूले बताए । उनले अदालतमा पनि मुद्दा पुगिसकेको भन्दै फरार रहेकाहरूबारे प्रश्न गरेका थिए । 'सहकारी पीडितहरूको गुनासो पनि व्यापक रूपमा लामो समयदेखि आइरहेको छ । अदालतसमा पनि मुद्दा पुगिसकेको छ । प्रहरीले के अनुसन्धान गरिरहेको छ ? यो मुद्दामा फरार भएका कसरी हुन् ? सल्लाहले हुन् कि ?,' उनले भने, 'यसलाई स्पष्ट गर्न सकिने, गर्न मिल्नेजति गर्नुस् । यस विषयमा हाम्रो पार्टीले संसद्मा विषय उठाइरहेको छ । धेरैजसो सहकारीहरूको जनताले निक्षेपकर्ताहरूले राखेको पुँजी कसरी अपचलन भयो ?'

लोकतान्त्रिक गणतन्त्रमा कानुनको शासन स्थापित हुनुपर्ने सांसद बडूले बताए । उनले कोही पनि कानुनभन्दा माथि हुन्न भन्ने बुझ्नुपर्ने बताए । फरार रहेकाविरुद्ध रेड नोटिस जारी भएको भन्ने लामो समय भइसक्दा पनि अहिलेसम्म पक्राउ नभएको भन्दै बडूले आगामी दिनमा कसरी त्यसको समाधान हुन्छ भनेर प्रश्न गरेका थिए ।

कान्तिपुर

Link copied successfully