कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कांग्रेसले लामिछानेलाई भन्यो- सहकारी प्रकरणको छानबिन सुरु गरेर नसकिउन्जेल गृहमन्त्रीबाट बाहिरिनुस्

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणको छानबिन निष्पक्ष गराउनका लागि गृहमन्त्रीबाट रवि लामिछाने बाहिरिनुपर्ने बताएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले कानुनभन्दा माथि कोही नहुने भएकाले सहकारी ठगीमा नाम जोडिएपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पदबाट बाहिरिनुपर्ने धारणा राखेका हुन् । 

कांग्रेसले लामिछानेलाई भन्यो- सहकारी प्रकरणको छानबिन सुरु गरेर नसकिउन्जेल गृहमन्त्रीबाट बाहिरिनुस्

कांग्रेसले संसद्मा पनि लामिछानेमाथि छानबिनको माग गरिरहेको र सहकारी समस्या बढिरहेको भन्दै निकास दिनुपर्ने माग कांग्रेसले गरेको हो । पोखरा र बुटवलका सहकारीबाट ग्यालेक्सी टिभीमा रकम लिइएको र त्यसमा रवि लामिछानेको नाम पनि रहेको भन्दै छानबिन सुरु गरेर नसकिन्जेलसम्म पदबाट हट्नुपर्ने बताएका हुन् । 'पोखरा र बुटवललगायतका सहरकारीबाट ग्यालेक्सी टिभीमा १० करोडजति रकम गएको छ भन्ने छ । त्यसमा रवि लामिछानेको नाममा पनि जम्मा भएको भन्ने छ । हामीलाई अचम्म लाग्यो, त्यो व्यक्ति को हो ? नाम मात्रै मिल्या संयोग हो कि ? हाम्रो गृहमन्त्रीको पनि त्यै नाम छ,' बडूले भने, 'उहाँ नै हो भने यसमा छानबिन भइरहेको छ । हामी स्पष्ट ढंगले छानबिन गर्छौं भनिरहेको छ । छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्री उहाँ नै हो भने निष्पक्ष छानब‍निका लागि, छानबिन सुरु गराइहाल्ने र नसकिन्जेलसम्म जिम्मेवारीबाट बाहिरिएर जानु पर्ने हो कि !'

सहकारी पीडितका गुनासो व्यापक रूपमा आइरहेको बडूले बताए । उनले अदालतमा पनि मुद्दा पुगिसकेको भन्दै फरार रहेकाहरूबारे प्रश्न गरेका थिए । 'सहकारी पीडितहरूको गुनासो पनि व्यापक रूपमा लामो समयदेखि आइरहेको छ । अदालतसमा पनि मुद्दा पुगिसकेको छ । प्रहरीले के अनुसन्धान गरिरहेको छ ? यो मुद्दामा फरार भएका कसरी हुन् ? सल्लाहले हुन् कि ?,' उनले भने, 'यसलाई स्पष्ट गर्न सकिने, गर्न मिल्नेजति गर्नुस् । यस विषयमा हाम्रो पार्टीले संसद्मा विषय उठाइरहेको छ । धेरैजसो सहकारीहरूको जनताले निक्षेपकर्ताहरूले राखेको पुँजी कसरी अपचलन भयो ?'

लोकतान्त्रिक गणतन्त्रमा कानुनको शासन स्थापित हुनुपर्ने सांसद बडूले बताए । उनले कोही पनि कानुनभन्दा माथि हुन्न भन्ने बुझ्नुपर्ने बताए । फरार रहेकाविरुद्ध रेड नोटिस जारी भएको भन्ने लामो समय भइसक्दा पनि अहिलेसम्म पक्राउ नभएको भन्दै बडूले आगामी दिनमा कसरी त्यसको समाधान हुन्छ भनेर प्रश्न गरेका थिए ।

प्रकाशित : चैत्र १४, २०८० १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?