परम्परागत फागु सिकाउँदै पाल्पाको टोलटोलमा युवा जनप्रतिनिधि 

चैत्र ११, २०८०

माधव अर्याल

A youth representative in Palpa's Toltol teaching traditional Fagu

पाल्पा — फागु खेलन हो...हुरी खेलन..राजाको आँगनमा हुरी खेलन.....यी र यस्तै गीत आएर पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानीका टोलटोलमा तीन दिनयता फागु खेलिएको छ । पहाडी भेगका अधिकांश गाउँमा फागु पूर्णिमाको ४/५ दिन अघि नै यस्तै गीत घन्काउने पुरानो चलनलाई ब्युँताउन यस्ता गीत गाएर टोल, गाउँ, बस्तीमा पुगेका छन् ।  

परम्परागत पुरानो गीत पुरानै भाकामा गाउँदै यसपालिको फागुन उत्साहका साथ मनाएको माथागढी–१, चिदीपानीका वडाध्यक्ष राजकुमार पन्थीले बताए । उनका अनुसार जनप्रतिनिधि नै टोलटोलमा पुगेर यसको नेतृत्व गरेका छन् । गाउँका पाकादेखि युवासम्मका पुस्ताले वर्षौं पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता देखिएको उनले बताए । संस्कृतिविद् सरोज नेपाल गाउँघर फर्किएर पुराना फागुगीत संकलन गर्ने, गाउन सिकाउने गरेका थिए । गीत सुन्न र नाच हेर्नका लागि अहिलेका पुस्ताको भीड लागेको थियो । 

वृद्धवृद्धा पनि पुरानो गीत सुनेर जुरुक्क उठेर नाचेका थिए । ‘गाउँमा परम्परागत फागु गीत नै हराउन थालेपछि यसपटक अध्ययन गरेर गाउन र नाच्न साथै बजाउन पनि सिकाइएको छ,’ संस्कृतिविद् नेपालले भने, ‘यसका लागि म काठमाडौंबाट पाल्पा जन्मघर फर्केर टोल बस्तीमा पुगेको छु ।’ ‘फागु गीतमा बली राजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिने गरिन्छ । अचम्म त के छ भने फागुको राग लिने गरिन्छ । बजाउने र गाउने गरिन्छ ।  महिला–पुरुषबीचको मायाप्रेम पनि छ । 

A youth representative in Palpa's Toltol teaching traditional Faguकृष्ण र गोपिनीबीचका माया–पिरती पनि फागुमा रहेको तानसेन नगरपालिका–८, का झपेन्द्रबहादुर जीसीले बताए । यस्ता भाव गीतमा समावेश गरिने उनले बताए । ‘परम्परागत संस्कृतिको प्रवर्द्धन गर्न फागुका अवसरमा पुरानो फागु गीत गाउँदै युवा पुस्तालाई सिकाएका हौं,’ वडाध्यक्ष पन्थीले भने, ‘मनको भावनालाई वसन्त राग शैलीमा रङ्याउने गीत नै फागु गीत हो भन्ने कुरा मैले अहिले बल्ल बुझेको छु ।’ केही वर्षअघिसम्म सहरबजार र गाउँघरमा ‘फागु’ पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएकामा चिन्तित भएको माथागढी–१, का नवराज पन्थीले बताए । परम्परागत महिमा र रौनक हराउँदै गएकोप्रति चिन्तित भएर वडाले नै संरक्षण गरेर अघि बढेकामा खुसी लागेको उनले बताए । मगर समुदायमा पनि पुरानै परम्पराअनुसार फागु खेल्न सिकाइएको चिदीपानीका जनप्रतिनिधि डुकुलराज गाहाले बताए । ‘आफ्नै संस्कृति, पोसाकमा पागु खेल्न सिकाइएको छ,’ उनले भने । 

फागुपूर्णिमाको मौलिकता हराउँदै गएपछि यसको जगेर्नाका लागि कतिपय युवा क्लब पनि लागि परेका छन् । ‘पुरानो संस्कृतिलाई हामी हराउन दिँदैनौँ,’ रैनादेवी छहरा–२, सर्देवाका ऋषिराम नेपालले भने, ‘यसको हामी मौलिक संस्कृति जगेर्नाका लागि छाडेका छैनौँ ।’ हाम्रा धेरै पुराना संस्कृति छन्, यिनको नयाँ पुस्तामा हस्तान्तरणका लागि सर्देवाले नछाडेको उनले बताए । फागुपूर्णिमाको मौलिकता जोगाउनु सबैको दायित्व भएको सर्देवाकै झविन्द्रबहादुर ज्ञवालीले बताए । 

A youth representative in Palpa's Toltol teaching traditional Faguहुन त डेढ दशक अघिसम्म पहाडी जिल्लाका गाउँघरमा ट्याम्को, ढोलक, खैंजडी, मजुरा बजाएर फागु खेल्ने पुरानो संस्कृति जतासुकै थियो । युवा पुस्ताको संस्कृतिप्रति चासो कम हुनु, विदेश पलायनले पछिल्लो समयमा विस्तारै हराउँदै गएको फागु सिक्दै गरेका चिदीपानीका युवा विष्णु तिमिल्सेनाले बताए । 

मौलिकता जोगाउन पाल्पाको पश्चिम भेगका भैरवस्थान, देउराली, खस्यौली, ख्याहा सोमादीको सर्देवालगायतका गाउँमा टेम्को, ढोलक, डम्फु, मजुरा बजाएर फागु खेल्ने प्रचलन कायमै छ । यहाँ पाका पुस्ताले गीत गाउने र युवा पुस्तालाई सिकाउने गरिन्छ । ‘पाकापुस्ताले सिकाएको गीत र ताल साथै संस्कृति हामीले जोगाउने अवसर छ,’ रिब्दीकोट–२, खस्यौलीका सुमन थापाले बताए । युवाले गाउने, बजाउने, भट्याउने गर्दा सिकाइ पनि भएको उनले बताए । 

कतिपय बस्तीमा फागु पूर्णिमाको चार दिन अघिदेखि नै यस्ता बाजा बजाएर फागु खेल्न थाल्ने परम्परा पनि कायमै छ । कहीँकतै भने चार/पाँच दिनदेखि नै परम्परागत फागु गाउने, बजाउने र नाच्ने पनि चलन छ  । रैनादेवी छहराको सोमादी सर्देवामा अष्टमीमा चीर गाडेपछि दैनिक फागु गाउने, बजाउने गर्छन् । ‘मूलघरमा जम्मा हुने र बेलुकीमा गाउने, बजाउने गरिन्छ,’ स्थानीय सन्तोष नेपालले भने, ‘चीर गाडेको स्थानमा पुगेर जगाउने पनि गरिन्छ ।’

फागु पूर्णिमाको चार/पाँच दिन अघि नै टेम्को, ढोलक, मादल, झ्यालीलगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने पहाडको चलन हो । अहिले भने गाउाघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको छ । गाउँघरमा सहरी परिवेशले छुन थालेपछि मौलिक भाकामा होली गाउने र नाच्ने प्रचलन हराउँदै गएको हो । यस पर्वलाई विशेषगरी शहरबजारमा साथीभाइ, आफन्तबीच रङ खेलेर धुमधामका साथ मनाइन्छ । 

त्यसैको प्रभाव गाउाघरमा पर्न थालेपछि फागुको विशेष मौलिकता नै हराउन पुगेकामा पाकापुस्ता माथागढी–१, चिदीपानीका कृष्णप्रसाद आचार्यको चिन्ता छ । ‘पछिल्लो समय फागुपर्व तडकभडक हुन थालेको छ,’ उनले भने, ‘यसका लागि युवा पुस्तालाई सिकाउन पर्ने र संस्कति जोगाउन ध्यान दिनुपर्ने अवस्था छ ।’

A youth representative in Palpa's Toltol teaching traditional Faguसहरी परिवेशले ढपक्कै ढाकेपछि गाउँमा मौलिक गीत गाएर नाचेर फागु खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढेको छ । जसले गर्दा फागुको परम्परागत महत्त्व र रौनक हराउादै गएको छ । गाउाघरमा साथीभाई जम्मा भएर कसैले होली गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायतका वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसाग होली खेल्ने प्रचलन अझै पनि रहेको पूर्वखोला–३, रिङनेरहका निलकण्ठ भटराईले बताए । 

गाउँका युवा विदेशिएका छन् । भएका युवा पनि सहर पसे । केटाकेटीमा पनि उतिसारो चासो छैन । हिमाल, पहाड र तराईमा आफ्नै ढंग, शैलीका होलीका गीत गाउँछन् । ट्याम्को, ढोलक, मजुराको तालमा दिनभर र रातभर फागु खेलेको सम्झना आउने रामपुर नगरपालिका–९, लाम्दीखोलाका शिव अर्यालले बताए । पूर्वका सिलुवा, खालीवन, गल्धा, अर्चले लगायतका गाउँमा मौलिक परम्परा धान्न खेलिने फागु र त्यसबेला गाइने गरेका गीत कहीँ कतै मात्र सुन्न पाइने उनले बताए । 

A youth representative in Palpa's Toltol teaching traditional Faguजिल्लाका कतिपय स्थानमा युवाहरू राजधानीको वसन्तपुरमा चीर ठड्याएजस्तै यहाँपनि लिङ्गो डठ्याउने गर्छन् । पश्चिमा संस्कृतिको प्रभाव कम गर्न युवालाई फागु खेल्न सिकाइएको माथागढी–१, चिदीपानी अगाहाखोलाका पिताम्बर तिमिल्सेनाले बताए । जिल्लाको ऐतिहासिक स्थल लालपाटी यस वर्षदेखि स्थानीय बासिन्दाको पहलमा सांस्कृतिक कार्यक्रमसहित आपसी सद्भाव साटासाट गरिने स्थानीयवासी दीपेन्द्र ढकालले बताए । 

लालपाटीमा होलीको दिन विभिन्न क्षेत्रका आफन्त तथा साथीभाइ भेट भएर रमाइलो गर्ने, व्यापार गर्ने तथा रङ लगाउने प्रचलन कायम रहेको उनले बताए । फागु पर्वको मौलिकतामा ह्रास आएको र चाडपर्वमा आयातित संस्कृति हावी हुादै गएको भन्दै मौलिक संस्कृति जगेर्ना गर्न फागुविशेष कार्यक्रमको आयोजना गरिएको ढकालले बताए । फागुको मौलिक गीत र प्रचलनबारे जानकारी दिन कार्यक्रम राखिएको उनले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully