रुसी राजदूतको दाबी : ‘सबै नेपाली स्वदेश फर्कन इच्छुक छैनन्’

चैत्र ८, २०८०

जगदीश्वर पाण्डे

Russian ambassador's claim: ”All Nepalis are not willing to return to their country”

काठमाडौँ — रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएका ३२ नेपालीले ज्यान गुमाइसकेका छन् । ५ नेपाली युक्रेनी सेनाको कब्जामा छन् । नेपाल सरकारले रुसी सेनामा भर्ती भएका नेपालीलाई उद्धार गर्न लगातार आग्रह गरिरहेको छ । तर रुसी राजदूत एलेक्सेई नोभिकोभले भने नेपालीहरू आफैं स्वदेश फर्कन इच्छुक नभएको दाबी छन् । 

रुसी सेनामा भर्ती भएका नेपालीहरू घर फर्कन भिडियो वा अन्य सम्पर्कबाट पहल गरिरहेका छन् । साथै, नेपालमा रहेका उनीहरूका परिवारजनले आफ्ना घरका सदस्यलाई ल्याइदिन २६० जनाले निवेदन दिइसकेका छन् । रुसी राजदूत नोभिकोभले बुधबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको बताएका हुन् । राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको उल्लेख गर्दै भारत र दुबईको बाटो भएर नेपाली रुस पुगेर त्यहाँको सेनामा भर्ना भएको उल्लेख गरे । 

अर्थमन्त्री पुन र राजदूत नोभिकोभबीचको भेटवार्तापछि अर्थमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालीहरूलाई रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको आफूले खबर पाएको राजदूतको दाबी छ ।’ पुनको सचिवालयका अनुसार अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन जाने युवालाई नेपालले रोक्नुपर्ने राजदूतको भनाइ छ । 

नोभिकोभले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर भए पनि मुक्त गराउने तयारी भइरहेको जानकारी मन्त्री पुनलाई दिएका थिए । ‘हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यहरूसँग साटेर भए पनि नेपालीलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ,’ नोभिकोभले भनेका छन् । 

भेटमा अर्थमन्त्री पुनले द्विपक्षीय सम्झौताबिना रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा राजदूत नोभिकोभसँग चासो राखेका थिए । पुनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत त्यसबारे रुसी सरकारलाई जानकारी गराएको पनि बताएका थिए । 

रुसको सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्ता हुने वातावरण बनाउन रादजूत नोभिकोभलाई मन्त्री पुनले आग्रह गरेका थिए । उनले रुस–युक्रेन युद्धमा मृत्यु भएकाको शव नेपाल ल्याउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि मन्त्री पुनले राजदूतमार्फत रुस सरकारको ध्यानाकर्षण गराएका थिए ।

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully