‘ऋण तिर्न युद्धमा हाम फालेँ, सहकर्मीबाटै मारिन थालेपछि भागेर आएँ’

रुसी सेनामा भर्ती भई भागेर स्वदेश फर्किएका सिजन युद्धको त्रासदीपूर्ण सम्झनाले झस्किरहन्छन्

चैत्र ५, २०८०

भवानी भट्ट

”I jumped into the war to pay the debt, I ran away after being killed by my colleagues”

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका-६ झलारीका सिजन बहादुर सिंहको जीवनमा पछिल्ला ७ महिनामा जे भयो, उनी कहिल्यै बिर्सन सक्दैनन् । मानव तस्करले देखाएको प्रलोभनमा परेर रुसी सेनामा भर्ती भएका उनी सात महिनापछि ज्यान जोगाएर फर्केर त आए, तर उनलाई एकातिर युद्ध मैदानको त्रासदी र अर्कोतिर रुस जाँदा र भागेर फर्किँदा लागेको ठुलो ऋणले अझैसम्म लखेटिरहेको छ ।

धनगढीमा बीबीए अध्ययनरत सिजन दार्चुलाको मार्मा क्षेत्रमा खानेपानी योजनाको ठेक्कापट्टा गर्दा गर्दै ऋणमा डुबेका बाबुको चिन्ता र पढाई  खर्चको समस्याले एकैचोटि पिल्सिरहेका थिए ।

ग्रामीण भेगबाट दलालमार्फत् रुसी सेनामा भर्ती हुन जाने क्रम चलेको थाहा पाएका सिजन आकर्षक तलब, राम्रो सेवा सुविधा र घर परिवारका सदस्यलाई पनि रातो पासपोर्ट दिने हल्ला पत्याएर पछि लागे । भदौ १ गते काठमाडौंबाट दुबईका लागि उड्दा सिंहसँग ४ जना नेपालीहरु साथी थिए । दुबईबाट मस्को उड्दा भने उनको समुहमा ११ जना पुगे ।

मस्को पुगेको भोलिपल्टै सामान्य स्वास्थ्य परीक्षणपछि रुसी सेनामा भर्ती भएका थिए । उनी भर्ती भएको बटालियनमा १ सय ५ जना नेपाली थिए । सिजनले सुनाए, ‘दोस्रो दिन बिहान युनिफर्म र हतियार दियो, युनिफर्म लगाएर हतियार खोल्न र हल्का चलाउन सिकाइयो ।’

क्याम्पमा तीन दिन राखेर उनीहरुलाई ८/९ घण्टाको रेल यात्रा गरेपछि हतियारको तालिम दिने एयरफोर्स ब्यारेकमा लगियो । उनका अनुसार तालिमका क्रममा कमान्डरहरुले उनीहरुलाई लात्ती र बन्दुकका कुन्दाले हानेर यातना समेत दिन्थे । झण्डै २ साता लामो तालिमपछि उनी पुगे-पुर्वी युक्रेनको युद्ध मैदान लुहान्स्क ।

उनी पुग्दा त्यहाँ दोहोरो भीडन्त भइरहेको थियो । ‘बम, गोला र बारुद कताबाट आउँछ केही थाहा हुँदैनथ्यो,’ उनी सुनाउँछन् । युद्धभूमिमा उनीहरुलाई हेलिकप्टरबाट खाना फालिन्थ्यो । त्यो रुखमै अडिने, अप्ठेरो ठाउँमा झर्ने र समात्नै नसकिने हुन्थ्यो । कतिपय बेला उनीहरु भोकै पर्थे । ‘नेपालीलाई फ्रन्ट लाइनमा पठाउने अनि रुसी सेना भने पछाडि बस्ने गर्थे । नेपालीले जान नमानेपछि पछाडिबाट रुसी सेनाले नै गोली हानेर मारेका घटना पनि छन्,’ उनले भने । 

”I jumped into the war to pay the debt, I ran away after being killed by my colleagues”

उनले लुहान्स्कमै अर्को बटालियनमा रहेका ५ जना नेपालीलाई दोहोरो भीडन्त हुँदा रुसी सेनाले अगाडि पठाउन खोज्दा जान नमान्ने ४ जनालाई गोली हानेर मारेको समेत बताए । त्यतिबेला १ जनाले भने भागेर ज्यान गुमाए । युद्धको यो सबै त्रासदी देखेपछि उनलाई जसरी हुन्छ भागेर ज्यान जोगाउनुपर्छ भन्ने लाग्यो । युक्रेनी सेनासंग युद्ध लडिरहँदा सिंहलाई घर फर्किन पाइन्छ भन्ने आस थिएन । तर उनलाई आफू मरेपनि घर परिवारलाई सजिलो हुने आशा गरेका थिए ।

परिवारले रातो पासपोर्ट पाउने र शहीद परिवारलाई एक/डेढ करोड राहात दिने कुरा सुनेका थिए । तर संगै लडिरहेका साथीलाई रुसी सेनाले नै मार्न थालेपछि उनको मनले मानेन । ‘आफ्नै सहकर्मीबाट जोखिम भएपछि कसरी लडाइ गर्नु, त्यो भन्दा त भाग्नुपर्छ भन्ने लाग्यो,’ सिंह भन्छन्, ‘त्यसपछि हामी ३ जना त्यहाँबाट भागेर एयरफोर्सको बटालियनमा पुग्यौं, भागेर आएको थाहा पाएपछि बटालियनमा मार्ने योजना बन्यो, त्यहाँबाट पनि भागेर जेनतेन मस्को पुग्यौं ।’

मस्कोमा दलालसँग सम्पर्क गरेर अढाइ लाख तिरेर दिल्ली हुँदै घर फर्केको बताउने उनले संगै भागेका अन्य दुईलाई भने रुसी अध्यागमनले समातेर रुसी सेनालाई नै बुझाएको बताए ।

”I jumped into the war to pay the debt, I ran away after being killed by my colleagues”

रुस लैजानुअघि उनलाई दलालले मासिक ४/५ लाखसम्म तलब मिल्ने बताएका थिए । तर रुसी सेनामा भर्ती भएपछि भने उनले पहिलो महिना १ लाख ९५ हजार र दोस्रो महिना २ लाख ७ हजार मात्रै पाए । युद्धमा होमिएका अरुले पछिल्लो तीन महिनादेखि तलब नपाइरहेको उनी बताउँछन् । दलाललाई अढाई लाख तिरेर नेपालसम्म आइपुग्दा मरिन्छ कि भन्ने त्रास हटेपनि सिजनलाई यो यात्रामा लागेको झण्डै दश लाख ऋणले सताइरहेको छ । ‘बाँचेर त आएँ, तर ऋणमाथि ऋण थपियो,' उनले भने । 

जेनतेन ज्यान जोगाएर नेपाल आइपुगेका उनलाई युद्ध मैदानमा भोगेको सास्तीपूर्ण सम्झना र त्रासले अझै छाडेको छैन । दिनमा हिडडुल गर्दा होस् वा राति सुत्दा, उनी त्रसित छन् । ‘ठुलो आवाज आउँदा कतैबाट बम गोला फालिएको हो की भने जस्तो लाग्छ,’ शुक्रबार बिहान दिल्ली हुँदै घर आइपुगेका सिंहले भने, ‘सुतेका बेला घरमा केही आवाज आउँदा पनि कमाण्डरले बोलायो की भनेर पोजिसनमा उभिन्छु ।’

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully